भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने मन्त्रीको दाबी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले अब कोही पनि भूमिहीन नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताएकी छन् ।
सोमबार नवलपरासी (पश्चिम ) मा भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी लालपुर्जा प्रदान गर्दै उनले भनिन्, ‘सरकारले भूमिहीन दलित तथा सुकुम्वासीहरूलाई जग्गाधनी लालपुर्जा वितरण गरिरहेको तथा गर्दै आएको छ । संविधानले दिएको अधिकार अनुसार अब कोही पनि नेपाली नागरिक भूमिहीन हुनु पर्दैन । मेरो कार्यकाल भित्रै भूमिहीनहरूको समस्या समाधान गर्ने गरी काम गरिरहेकी छु ।’
मन्त्री श्रेष्ठ चौधरीले सरावल गाउँपालिका वडा नं.३ का २५ भूमिहीन सुकुम्वासी परिवारलाई जग्गाधनी लालपुर्जा प्रदान गरिन् । लामो समयको प्रतीक्षापछि नवलपरासीको (पश्चिम) सराबल गाउँपालिकाका २५ परिवारले पुर्जा पाएका हुन् । उनले देशमा हजारौँ भूमिहीन, दलित तथा सुकुम्वासीहरू रहेकाले सुकुम्बासीका समस्या समाधान गर्न तीव्र गतिमा अभियान नै चलाउने बताइन् ।
‘यो देशमा हजारौँ भूमिहीन, दलित तथा सुकुम्वासीहरू हुनुहुन्छ, उहाँहरूको पीडा र मर्का मलाई राम्रैसँग थाहा छ । आज उहाँहरूलाई जग्गाधनी लालपुर्जा दिने ठाउँमा पुगेकी छु’, पुर्जा हस्तान्तरण गर्दै मन्त्री चौधरीले भनिन्, ‘मैले नेतृत्व सम्हालेदेखि देशका विभिन्न स्थानका भूमिहीनहरूलाई जमिन उपलब्ध गराउनका निम्ति द्रुतगतिमा काम भइरहेको छ । जसको नतिजा आजदेखि देखिँदैछ । आजदेखि यस पालिकामा पनि औपचारिक रूपमा हामीले भूमिहीनलाई पुर्जा वितरण शुरु गयौँ, यस अभियानले देशभर निरन्तरता पाउने नै छ ।’
भूमिहीन दलित सुकुम्वासीहरूलाई भूमिमाथिको पहुँच पु¥याउने उद्देश्यका साथ तीन तहका सरकारको सहकार्यमा कार्यक्रम अघि बढिरहेको बताइन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *