भक्तपुरबाट काठमाडौंमा दू्रत बस सेवा

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ काठमाडौं उपत्यकामा पहिलो पटक द्रूत बस सेवा सुरु गरिएको छ । बुधबार संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा सेवाको उद्घाटन भए पनि विहीबारबाट सर्वसाधारणको लागि सेवा सुचारु गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रूत बस सेवाको उद्घाटन गरे पनि हिजो विहीबारबाट काठमाडौं उपत्यकाबासीले यसको उपभोग गर्न पाएका हुन् ।
यो बस सेवा भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म चल्न थालेको हो । द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायात मन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह तथा मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका प्रमुखहरु चढेर बुधबार यात्रा गरेका थिए ।
यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुका अनुसार अन्य बसलाई रत्नपार्क-सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा द्रूत बस सेवा ४५ मिनेटमै पुग्ने दाबी गरे । माइतीघर, कोटेश्वर, जडीबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरुमा पनि द्रूत सेवाका बसहरु रोकिनु नपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्ने बताइएको छ ।
द्रूत सेवाका बसहरु रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५/५ मिनेटको फरकमा छुट्ने व्यवस्था मिलाइएको छ । ती बसहरु रातो रंगले पोतिएको लेनमा मात्र चल्ने तथा यी लेनहरुमा बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म द्रूत बस सेवा सञ्चालन हुने गरी व्यवस्था मिलाइएको छ ।
काठमाडौं उपत्यकामा संचालित बस सेवा समयमै नपुग्ने गरेका कारण मानिसहरुले निजी गाडीको प्रयोग बढीमात्रामा हुने गरेको छ । त्यसबाट छुटकारा दिनका लागि यस्तो बस सेवाको व्यवस्था मिलाइएको हो । यसो गरिंदा ठूला बसमा सबैले सजिलै सेवा लिन सकेका खण्डमा साना गाडीको चाप कम गराउन सकिएला भन्ने सोचका साथ यो बस सेवा शुरु गरिएको जनाइएको छ ।
अन्य बसले लिने बराबरकै भाडा लिए पनि यी बसले सेवा भने दू्रत रुपमा दिने बताइएको छ । यिनीहरुका लागि छुट्टै लेनको व्यवस्था गरिएको तथा यात्रीहरु बोकी खासै नरोकिई हिंड्ने व्यवस्था मिलाइएकाले यो सेवा सर्वसाधारणका लागि उपयोगी हुने विश्वास लिइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *