विर्तामोडमा भाटभटेनी सञ्चालनमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

झापा/ देशकै ठूलो चेन सुपरस्टोर भाटभटेनीले आफ्नो २६औं स्टोर पूर्वी नेपालको बिर्तामोडमा सञ्चालनमा ल्याएको छ । मुलुकमा आर्थिक संकटकाबीच हजारौंलाई रोजगार प्रदान गर्दै आफ्नो सेवा तथा बजार विस्तारलाई निरन्तरता दिइरहेको यो स्टोर विर्तामोडमा पनि हिजोबाट संचालनमा आएको हो ।
विर्तामोडको भगवान चोकमा सञ्चालनमा आएको यो स्टोर १५ कठ्ठा क्षेत्रफलमा करिब दुई लाख ५० हजार स्क्वायर फुट सपिङ्ग स्पेससहित सञ्चालनमा आएको हो । दुई अर्ब रुपियाँ बढी लागानीमा सन्चालनमा आएको यो स्टोर कोशी प्रदेशमा संचालनमा आएको चौथो हो । यसअघि कोशी प्रदेशको धरान, विराटनगर तथा इटहरीमा स्टोर सञ्चालनमा आइसकेको छ ।
झापा जिल्ला सहित आसपसका छिमेकी जिल्ला तथा छिमेकी मुलुक भारतका सिमावर्ती शहरबाट समेत ग्राहकहरु किनमेलकालागि यस स्टोरमा आउने विश्वास भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङको रहेको छ ।
उपभोक्तालाई बजार मूल्यभन्दा सस्तो एवम् गुणस्तरीय सामग्री एकै ठाउँबाट उपलब्ध गराइने भएकोले सामानको मूल्य र गुणस्तरमा ग्राहक ठगिनु नपर्ने भाटभटेनीका क्षेत्रीय व्यवस्थापक विनोद भट्टराई बताउँछन् ।
यो स्टोरमा पनि यस क्षेत्रका करिब तीन सय स्थानीयले रोजगार प्राप्त गरेको अध्यक्ष गुरुङ बताउँछन् । उद्घाटनका अवसरमा आम ग्राहकलाई प्रत्येक सामानको खरिदमा १० प्रतिशत तथा इलेक्ट्रोनिक्समा २० प्रतिशतसम्म छुटको व्यवस्था पनि रहेको स्टोरले जनाएको छ ।
यस स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूट्वेर, फूड्कोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबालिकाका लागि किडजोन तथा स्केट पार्क लगायतका सुविधाहरु रहने भाटभटेनीले जनाएकोे छ ।
विर्तामोडमा २६औ स्टोर संचालनमा आएपश्चात झापाकै दमकमा समेत आगामी बैशाखसम्ममा २७औ स्टोर संचालनमा आउने भाटभटेनीले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *