‘कम्युनिष्ट’ हरुका बीचमा ‘एकता’ खोजिँदै

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ नेपालमा कम्युनिष्ट नामधारी दलहरुका बीचमा एकता गर्ने प्रयास फेरि थालिने भएको छ । यसका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले यस कार्यकालागि पहल कदमी लिने देखिएको छ । यसकालागि दाहालले आफ्नो दल माओवादी केन्द्रको नाम नै परिवर्तन गर्नुपरे पनि गर्नेसम्मको तयारी थालेको बताइएको छ । यसका लागि माओवादी केन्द्रले समाजवादी मोर्चालाई आधार बनाएर अघि बढ्ने संकेत गरेको छ । यसैगरी समाजवादी मोर्चामा सहभागी नभएका अन्य दलहरुलाई समेत माओवादी केन्द्रले कम्युनिष्टको नाममा एकतावद्ध गराउने पहल थालेको छ ।
समाजवादी मोर्चाको अवधारणा अघि सार्दै आएका पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईको दल हालसम्म समाजवादी मोर्चामा अटाएको छैन । यसरी नअटाउनुमा भट्टराई र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका बीचमा देखिएको व्यक्तिगत मनमुटाव कारण रहेको समाचार स्रोतको दाबी छ ।
यसरी भट्टराई बाउन्ठेर बाहिर बसिरहेको अवस्थामा भट्टराईलाई ‘बाइपास’ गरेर माओवादी केन्द्रले जसपालाई पत्र पठाएको छ । पार्टी एकताका लागि भट्टराई नभएको अवस्थामा पत्र पठाएपछि भट्टराईमात्र नभई उक्त दलमै हलचल नै भएको छ । भदौ ३० गते माओवादी केन्द्रका अध्यक्ष दाहाल र महासचिव देवप्रसाद गुरुङले हस्ताक्षर गरी नेसपाका दोस्रो बरियतामा रहेका अध्यक्ष महिन्द्र राय यादवलाई पत्राचार गरेपछि नेसपाभित्र यो कुरालाई राम्रो र नराम्रो पक्षको रुपमा लिइरहेको अवस्था छ ।
भट्टराई प्रगतिशील नेपाली समाज भारतले गरेको कार्यक्रममा भाग लिन भारत पुगेका छन् । उनी भोलि शनिबार स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ । अध्यक्ष यादवको नाममा पत्राचार भएपछि भट्टराई पक्षले यसलाई ‘षड्यन्त्र’ का रुपमा लिएका छन् ।
माओवादी केन्द्रले भट्टराईलाई पत्र नलेखी यादवलाई पत्र पठाएको सम्बन्धमा सामान्य भएको प्रष्टीकरण दिएको छ ।
माओवादीसँग पार्टी एकता गर्नका लागि नेसपाले सहअध्यक्ष गंगा श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । सदस्यमा उपाध्यक्ष दुर्गा सोव र महासचिव रमेशप्रसाद यादव छन् । माओवादी केन्द्रबाट उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिव त्रय गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन् ।
यही पत्राचारकै कारण नेसपा फेरि फुट्ने सम्भावना रहेको चर्चा चल्न थालेको छ । मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा यादव सर्लाही-२ बाट विजयी भएका थिए । २०५२ सालमा सशस्त्र युद्धसँगै जोडिएका दाहाल र बाबुरामबीचको सहकार्य २०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि फाटोमा पुगेको बताइन्छ । सात वर्षपछि फेरि एकता प्रक्रियामा जोडिएका उनीहरुबीचको सहकार्य यो पत्राचारले विथोल्ने अवस्थामा पुगेको राजनीतिक वृत्तमा चर्चा छ ।
माओवादी केन्द्रसँग सहज रुपमा एकीकरण प्रक्रियामा आउन सक्ने स्थितिमा रहेको नेसपा नै विच्किचिएको अवस्थामा प्रधानमन्त्री दाहाल भने सबै खालका कम्युनिष्ट भनाउँदाहरुलाई गोलबन्ध गरी आफ्नो नेतृत्वमा संचालन गर्ने सपना देखिरहेको अधिवक्ता भवानीप्रसाद अधिकारी बताउँछन् । अधिवक्ता अधिकारी भन्छन्, ‘अहिले तेस्रो ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेका दाहालका लागि सरकार संचालन सकसपूणर् बन्दै गएको छ । कुनै पनि बेला सरकार ढल्न सक्ने स्थितिको बोध गरी दाहालले कम्युनिष्ट नामधारीहरुलाई जोडी संख्यात्मक रुपमा आफूलाई ठूलो देखाउनका लागि मात्र यस्तो कार्यको प्रयास गरिरहेका हुन् ।’
उता, कम्युनिष्टहरुका बीचको एकता भने भ्यागुताको धार्नी पुर्‍याउनु जस्तै हो भन्ने राजनीतिक विश्लेषक रामेश्वर ढकाल बताउँछन् । चिरा चिरा भएका कम्युनिष्ट नामधारीहरुले एकले अर्कोलाई कम्युनिष्ट नै नमान्ने अवस्था रहेको बताउँदै ढकाल यो पानीको फोका जस्तै हराएर जाने विश्लेषण गर्छन् । विश्लेषक ढकालको विश्लेषण अनुसार नेकपा (एमाले) अर्को कम्युनिष्ट नामधारी दल हो जसको अध्यक्षमा खड्गप्रसाद शर्मा ओली रहेसम्म उनले दाहालको नेतृत्वलाई स्वीकार्ने अवस्था नै रहन्न । यस्तो स्थितिमा कम्युनिष्टहरुका बीचको एकता ‘ए कता ?’ को अवस्था हो भन्ने धारणा विश्लेषक ढकाल राख्छन् ।
त्यसो त कतिपयले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा कम्युनिष्ट नामधारी दलहरुका बीचमा एकता हुन सक्ने पनि भन्ने गरेका छन् । यस्तो धारणा राख्नेहरुमा एमालेमै रहेका कतिपय नेताहरु बढी रहेको बताइन्छ । ओलीकै कारण कम्युनिष्ट नामधारीहरुका बीचमा एकतामा समस्या हुन सक्ने ठम्याइमा पुगेका एमालेका ती नेताहरु भण्डारीलाई अघि सारेर भए पनि पहिलेको नेकपा भने ब्युँत्याउन सकिने भन्ने कुरामा विश्वस्त हुन थालेका बताइन्छ ।
आफ्नो विकल्प खोजिन थालिएको जानकारी पाएका ओली र ओलीका समर्थकहरु भने कुनै पनि हालतमा माओवादी केन्द्रलगायतका कम्युनिष्ट नामधारीहरुसँग एकता प्रक्रियामा नजाने सोचमा रहेको बताइन्छ । यता, एमालेबाट फुटेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) बनाएकाहरु पनि ओलीको नेतृत्वलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने पक्षमा रहँदै आएका छन् ।
उता, प्रतिनिधिसभाको निर्वाचनमा एमालेकै उम्मेदवारसँग पराजित भएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने एमालेप्रति नजिक हुन चाहिरहेको बताइन्छ । उनको चाहना इलाम-२ मा हुने उपनिर्वाचनमा सके एमालेसँग एकता गरेर नत्र एमालेमा प्रवेश गरेर भए पनि उम्मेदवार बन्ने रहेको समाचार स्रोतको दाबी छ । उनी पछिल्लो समय एमालेसँग नजिक देखिन थालेका छन् ।
यसैबीच, अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल चीनहुँदै स्वदेश फर्किने कार्यक्रम रहेकाले उनको आगमनपछि मात्र यी सबै कुराको गाँठो फुक्दै जाने समाचार स्रोतको अनुमान छ । नेपालको राजनीति त्यसमाथि कम्युनिष्टहरुको राजनीतिमा विशेष चासो राख्ने गरेको चीनले यस विषयमा के कस्तो सल्लाह दाहाललाई देला त्यसले मात्र कम्युनिष्टहरुको बीचको एकताका बारेमा निधोमा पुग्ने चर्चा पनि चलिरहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *