बालेनको आँखा अब औषधि पसलमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको नजर अब औषधि पसलमा परेको छ । कानूनअनुसार औषधि पसल सञ्चालन गरे नगरेको भन्ने कुरालाई महानगरपालिकाले कडाइका साथ हेर्ने भएको छ । बुधबार विहान शाहले सामाजिक सञ्जालमार्फत् मंसिर २९ गतेभित्र नियमानुसार दर्ता, चिकित्सकको प्रेस्किप्सनबाट मात्रै औषधिको कारोबार गर्न निर्देशन दिएपछि मापदण्ड पालना नगरी बसेका औषधि पसले तथा व्यवसायीहरु त्रसित बनेका छन् ।
प्रमुख शाहले आफ्नो स्टाटसमा ‘हामी काठमाडौं महानगरपालिकामा बसोबास गर्ने आम मानिसको स्वास्थ्यको लागि निकै संवेदनशील छौं । यस महानगरपालिकाले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न सुधारात्मक कार्यहरू गर्दै आइरहेको तपाईंहरूलाई थाहा नै छ । तर, आम मानिसको जनस्वास्थ्यमा लापरबाही भएको पाइएको छ,’ भनी लेखेपछि व्यवसायीहरु अहिले कसरी अघि बढ्ने भन्ने कुरामा चिन्तित हुन थालेका छन् । उनले काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका कतिपय औषधि पसलहरूमा कानूनविरीत औषधि बिक्रि वितरण भइरहेको गुनासो आएको कुरा पनि उनले उल्लेख गरेका छन् ।
उनले महानगरपालिकाभित्र सञ्चालनमा रहेका औषधि पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सनबिना औषधि बिक्री वितरण भइरहेको महानगरमा गुनासो आइरहेको उल्लेख गरेका छन् ।
शाहले नार्कोटिक औषधिहरूको प्रचलित ऐन कानून अनुसार बिक्री वितरण नगरिएको र उक्त औषधिहरूको आवश्यक अभिलेख नराख्ने गरिएको, औषधि पसल व्यवस्थापन नगरिएको, काठमाडौं महानगरपालिका स्वास्थ्य विभागबाट इजाजतपत्र नलिई सञ्चालनमा रहेको विभिन्न गुनासो आएको उल्लेख गरेका छन् ।
मंसिर २९ भित्र काठमाडौँ महानगरपालिका क्षेत्र भित्र सञ्चालित औषधि पसलहरूले सुधारात्मक कार्यहरू गरेको नपाइएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (क) ९ तथा काठमाडौं महानगरपालिका जन–स्वास्थ्य ऐन २०८० को दफा २६ (घ) अनुसार स्वास्थ्य विभागबाट अनुगमन भई काठमाडौं महानगरपालिका जन–स्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार औषधि पसल बन्द गर्नेसम्मको कारबाही गरिने पनि शाहले उल्लेख गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *