किन तर्सिदैं छन् प्रधानमन्त्री ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

एमाले सरकार ढाल्न केन्द्रित,   कांग्रेस आफ्नै समस्यामा

भक्तपुर÷ प्रधानमन्त्री पुष्पकमल दाहाल आपूm नेतृत्वको वर्तमान सरकार ढल्ने पो हो कि भन्ने त्रासमा रहेका छन् । सरकार ढाल्ने कसरत भइरहेको कुरा उनी स्वयम् सार्वजनिक रुपमा बताउने गरेका कारण पनि उनमा सो कुराको त्रास रहेको अनुमान लगाउन सकिन्छ । नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा उनले गठबन्धन तोड्ने र सरकार ढाल्ने प्रयास भइरहेको बताएपछि अझै पनि सरकार अस्थिर अवस्थामा रहेको आंकलन गर्न थालिएको छ ।
सो कार्यक्रममा प्रधानमन्त्री समेत रहेका दाहालले ‘अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने, अर्को बनाउने केके भन्ने त रातदिन एकथरीको खेल कसरत भइ नै रहेको छ’, भन्दै उनले ‘मैले हेर्दा र गठबन्धनका बैठकहरु सबै गर्दा केही हुनेवाला छैन । यो गठबन्धन पूरै अवधि जान्छ ।’ भनी ठोकुवा गर्न पनि पछि परेनन् । उनले आफ्नो सरकारको एक वर्षको समीक्षा गर्ने र अर्को एक वर्षका लागि नयाँ रणनीति बनाउने जानकारी पनि गराए । गत वर्ष १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री दाहाललाई सरकार संचालनमा सकस पर्दै आएको देखिन्छ ।
शुरुमा नेकपा (एमाले) को प्रमुख समर्थनमा सरकार गठन गरेका दाहालले एमालेलाई लात हानी अर्को गठबन्धन बनाएका थिए । एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीसँग खड्गो परेपछि दाहालले फेरि नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) समेतको पुरानै गठबन्धनलाई ब्युत्याएका थिए । यसरी एमालेलाई लात हानेको अवस्थामा अर्को गठबन्धनबाटै सरकार बन्न पुगेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारबाट बाहिरिएका थिए । त्यसरी सरकारबाट बाहिरिनु परेको पीडामा रहेको एमाले अहिले पनि सरकार जसरी ढाल्न सकिन्छ ढालौं भन्ने मनस्थितिका साथ कार्य गर्दै आएको छ ।
एमालेले अहिले लोकमार्गमा आफ्नो अभियान जारी राखेको छ । यसरी सो अभियान अन्तर्गत गरिने कार्यक्रममा प्रमुख वक्ताको रुपमा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली स्वयम् रहेका छन् । हरेक दिनको अभिव्यक्तिमा ओलीको बोली नै वर्तमान सरकार ढाल्नुपर्ने, वर्तमान सरकारले केही गर्न नसक्ने जस्ता हुने गरेका कारण पनि प्रधानमन्त्री दाहाल त्रासमा रहेका हुन् ।
प्रधानमन्त्री दाहाललाई गठबन्धनमा रहेका दलहरुका बीचमा आपसी समझदारी मिलाउन कठिन पर्दै आएको छ । गठबन्धनमा रहेका विभिन्न दलहरुको आ–आफ्नै स्वार्थ रहने गरेका कारण पनि तिनको सम्बोधनमा प्रधानमन्त्री दाहाललाई सकस पर्दै आएको छ । यस्तो अवस्थामा प्रधानमन्त्री दाहालका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले आफ्नो पदबाट राजीनामा गरेको अवस्था छ । उनले राजीनामा गरे पनि त्यसको कारण खुलाएका छैनन् ।
यसरी दाहालको दाहिने हातका रुपमा रहनुपर्ने गजुरेलले राजीनामा गरी कारण नखोल्नु तथा त्यो राजीनामालाई दाहालले स्वीकृति नदिनुले पनि विभिन्न अड्कलबाजी सहित त्यसको अनुमानित व्याख्या हुँदै आएको छ । यस क्रममा एमाले यो विषयलाई झनै मसला बनाउँदै गएको छ ।
उता, सबै दलका नेताहरु पदप्राप्तिमै रहेका कारण पनि गठबन्धनमा रहेका दलहरु सही ढंगबाट चल्न सकिरहेका छैनन् । सबै दलमा पदप्राप्तिका लागि लडाइँ चलिरहेको अवस्थामा कतिपयले गजुरेल पनि राष्ट्रियसभाको सदस्य बन्नकालागि राजीनामा गरी दाहाललाई घुक्र्याउन लागिपरेको अनुमान गरेका छन् । राष्ट्रियसभामा १९ पद रिक्त हुने तथा त्यसमा पूर्ति गर्नुपर्ने अवस्था आएका कारण पनि दलका नेताहरु पदप्राप्तिका लागि लागिपरेको अवस्था छ ।
राष्ट्रियसभाको निर्वाचनमा हालको गठबन्धनमा रहेका दलहरुले आपसी भागबण्डा गरी उम्मेदवारी दिने तयारी गरेका छन् । उनीहरुले इमान्दारिता देखाएको खण्डमा सबैजसो स्थानमा गठबन्धनका उम्मेदवारहरुले विजयको माला पहिरिने अवस्था छ । सोही कारण पनि राष्ट्रियसभाको उम्मेदवार बन्नकालागि नेताहरुको लाम ठूलो छ । यसैगरी सबै दलका प्रमुखहरुलाई आन्तरिक व्यवस्थापनको लागि सकस अवस्था छ ।
त्यसो त कोशी प्रदेशमा छाएको संकट पनि टरिसकेको छैन । कोशीमा हालका मुख्यमन्त्री केदार कार्कीलाई मुख्यमन्त्री बनाउन मुख्य भूमिका निर्वाह गरेको एमाले कोशी प्रदेशको सरकारबाट बाहिरिएको छ । मुख्यमन्त्री कार्कीले हालको सत्तागठबन्धनमा रहेका दलहरुलाई समेत साथमा लिएर सरकार चलाउने नीति लिएपछि एमाले बाहिरिएको हो । एमाले सरकारबाट बाहिरिएको अवस्थामा कांग्रेस सहितको हालका गठबन्धन दलहरु मन्त्री बनाउन तँछाड मछाडको अवस्थामा छन् ।
कोशी प्रदेशमा सरकारबाट बाहिरिएको एमाले अहिले सभामुख आफ्नो भागमा पर्नुपर्ने पक्षमा देखिएको छ । सरकार पक्षीय गठबन्धनकारी दलहरु आफ्नो ठीक्कको बहुमत रहेकाले गठबन्धनबाट सभामुख नबनाउने पक्षमा देखिएका छन् । उनीहरुको चाहना राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सभामुख दिएर सरकारलाई राप्रपाको साथ होस् भन्ने रहेको छ ।
राप्रपा पनि कुनै न कुनै अड्को थाप्ने पक्षमा देखिएको छ । ४७ सदस्य सहित स्पष्ट बहुमतमा रहेको हालको सरकारले राप्रपालाई समर्थन गरी उम्मेदवार बनाएको अवस्थामा राप्रपाका ६ सहित सभामुखमा ५३ जनाको समर्थन स्वतः पाउने अवस्थामा राप्रपा रहेको छ । यस्तो स्वर्णिम अवस्थामा पनि राप्रपा भने सर्वसम्मत रुपमा सभामुख आफ्नो दललाई दिने भने स्वीकार्ने भनी अड्को थापेर बसेको अवस्था छ ।
यस्तो अवस्था देख्दादेख्दै एमाले भने कोशीमा आफ्नो दलको दाबी सभामुखमा रहेको भन्न छाडेको छैन । यसैगरी कोशी प्रदेशमा पहिचानवादीको नाममा विभिन्न किसिमका गतिविधिहरु भइरहेकाले त्यसलाई संघीय सरकारले समेत टाउको दुखाइको रुपमा लिंदै आएको छ ।
संघीय सरकार ढलपल ढलपल गरी चलिरहेको अवस्थामा प्रदेश सरकारहरु पनि चुस्त रुपमा चल्न सकिरहेका छैनन् । प्रदेश सरकारको चलाइलाई देखेर प्रदेश सरकारको विपक्षमा माहोल बन्दै गएको अवस्था छ । प्रदेश सरकारको आलोचना समेत संघीय सरकारले खेप्नु परेको अवस्थाका कारण प्रधानमन्त्री दाहाल झनै सकसपूर्ण यात्रामा रहेका बताइन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *