काठमाडौं महानगरपालिकाको नेतृत्वमा बालेन्द्र शाह (बालेन) आएपछि काठमाडौं महानगरपालिकाले विभिन्न किसिमका सकारात्मक कार्यहरु गर्न थालेको छ । यसैक्रममा बिहीबारदेखि सुर्तीजन्य पदार्थको भण्डारण, बिक्रीवितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको छ । यसका लागि महानगरले यही मङ्सिर १२ गते १५ दिनको अवधि दिएर सार्वजनिक सूचना प्रकाशन गरेको थियो । सुर्तीजन्य बस्तु प्लाष्टिकले बेरेको वा कागजले बेरेको भए पनि हानिकारक हुने भएकाले कारोबारमा पूर्ण प्रतिबन्ध लगाएको छ । कच्चा सुर्ती, खैनी, गुट्खा एवं चुसेर रस लिने सबै प्रकारका सुर्तीजन्य पदार्थको प्रयोग, बिक्री र भण्डारणमा प्रतिबन्ध लगाइएको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी ऐन, २०६८ को व्यवस्था कार्यान्वयन गराउने अभियान सहित यो कार्यको थालनी भएको हो । ऐनमा यसका बारेमा विधि प्रक्रिया तोकिएको छ । सार्वजनिक स्थलमा धूमपान गरे त्यस स्थानबाट निकाल्ने, एक सय रुपियाँसम्म जरिवाना गर्ने, सार्वजनिक स्थलको एक सय मिटर वरपर बिक्रीवितरण गरे सामान जफत गर्ने र पसल बन्द गर्नेसम्मको कारबाही गर्न सकिने ऐनमा व्यवस्था छ ।
महानगरले यस कार्यको पालना भए नभएको भनी जानकारी लिनका लागि हिजो विहीबारदेखि निरन्तर अनुगमन थालेको छ, अनुगमनका लागि १० जनाको समूहमा नगर प्रहरीका पाँच वटा टोली, सादा पोशाकमा नगर प्रहरी र कर्मचारी खटिन थालेका छन् । अनुगमन गर्दा पसलमा सुर्तीजन्य बस्तु पाइए सचेत गराउँदै दुई पटकसम्म जफत गर्ने र तेस्रो पटक पनि भेटिए पसल बन्द गराउनेसम्मको कारबाही हुने जानकारी महानगरले दिएको छ ।
चुरोट, बिँडी, सिंगार, तमाखु, हुक्का, सुल्फा, कक्कडको प्रयोगलाई धूमपान मानिन्छ । सुर्तीजन्य बस्तुमा कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने बस्तुलाई मान्ने गरिन्छ । जनस्वास्थ्य ऐनमा यससम्बन्धी व्यवस्था छ । ऐनको दफा ४२ मा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउनसक्ने, निषेध गर्नसक्ने व्यवस्था छ । सुर्तीजन्य बस्तुको प्रयोगले मानिसको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको हो ।
महानगरपालिकाको यो व्यवस्थालाई लिएर महानगरबासीको मिश्रित प्रतिक्रिया देखिएको छ । कतिपयले यसमा पूर्ण प्रतिबन्ध लगाउने कार्यभन्दा पनि यसलाई नियमन गरी व्यवस्थित गरिएको भए उचित हुने भनेका छन् । यसैगरी कतिपयले भने यत्तिको कडाइ नगरेसम्म काठमाडौं उपत्यकाबासीले स्वतस्फुर्त रुपमा नगर्ने भनी यसको समर्थन गरेका छन् । महानगरपालिकाले केही स्थानमा सेवन गर्नकालागि छुट्टै स्थानको व्यवस्था मिलाई केही महिनापछि यसको प्रयोगमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको भए अझै राम्रो हुने थियो भन्ने देखिन्छ । यसैगरी सार्वजनिक स्थल भन्नाले के के पर्दछन् भन्ने कुरा स्पष्ट नभएको भनी जनमानसमा प्रश्नहरु उठ्ने गरेको पाइएको छ । सुर्तीजन्य पद्धार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐन, २०६८ मा सार्वजनिक स्थललाई परिभाषित गर्दै शिक्षण संस्था, विमानस्थल, बालकल्याण गृह, क्लब, सार्वजनिक शौचालय, होटल, रेष्टुरेन्ट, छात्राबास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयलगायतका ठाउँ सार्वजनिक भएको उल्लेख गरिएको छ ।
सूर्तीजन्य पद्धार्थमुक्त काठमाडौं बनाऔं
Facebook Comments Box