सर्वाधिक महँगा विवाहहरु

Nayabimarsha (Weekly Newspaper from Nepal)

नेपालमा हालका प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेनु दाहालकी पुत्रीको विवाहलाई लिएर विभिन्न किसिमका चर्चा चलिरहेका छन् । आफूलाई कम्युनिष्ट पार्टीका नेता बताउने प्रधानमन्त्री दाहालले राजषी ठाँटमा आफ्नी नातिनीको विवाह गरेको भनी उनको चर्को आलोचना भैरहेको छ । यसैगरी अर्का कम्युनिष्ट नेता विरोध खतिवडाले पनि आफ्नी छोरीको विवाह भड्किलो पाराले गरेको भनी आलोचना भैरहेको अवस्था छ । नेपालमा आपूmलाई कम्युनिष्ट भन्न रुचाउने तथा विवाह जस्ता कार्यमा सामन्ती संस्कारलाई समेत विर्साउने कम्युनिष्ट भनाउँदा नेताहरुले आफ्ना सन्तानको विवाहभन्दा पनि डरलाग्दो रुपमा विश्वमा अन्य विवाहहरु पनि भएका छन् । त्यसैले यहाँ त्यस्ता खर्चिला विवाहहरुमध्ये केहीलाई यहाँ प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

राजकुमार चाल्स र लेडी डायना

सन् १९८१ मा बेलायतका राजकुमार चाल्र्स तथा लेडी डायनाबीच भएको विवाहलाई विश्वकै महँगो विवाह मानिन्छ । त्यति बेला उक्त विवाहमा चार अर्ब ९९ करोड २२ लाख रुपियाँ खर्च भएको थियो । प्राथमिक तहको शिक्षिकाका रूपमा कार्यरत डायनालाई बेलायती राजपरिवारको जेठो छोरोले भित्र्याएको क्षणलाई २० लाख व्यक्तिले प्रत्यक्ष रूपमा हेरेका थिए भने टेलिभिजन मार्फत् ७५ करोड मानिस त्यसको साक्षी थिए ।

भनिसा मित्तल र अमित भाटिया

विश्वकै ठूला स्टिल व्यापारीका रूपमा चर्चित लक्ष्मी मित्तलले आफ्नी छोरी भनिसा मित्तलको विवाहमा गरेको खर्चको चर्चा अझै पनि हुन्छ । लक्ष्मीले आफ्नी छोरीको विवाह लन्डनमा जन्मिएर त्यहीँ बैंकिङ क्षेत्रमा कार्यरत अमितसँग पेरिसको पाँचतारे होटलमा पाँच दिन लगाएर गरेका थिए । मित्तल परिवारले सन् २००५ मा सम्पन्न उक्त विवाहमा पाँच अर्ब २४ करोड रुपियाँ खर्च गरेको थियो ।

राजकुमार विलियम र केट मिडिलटन

बेलायती गद्दीको दोस्रो उत्तराधिकारी राजकुमार विलियम सामान्य युवती केट मिडिलटनबीच सन् २०११ मा भएको विवाह पनि सर्वाधिक महँगो विवाहको सूचीमा छ । ८ करोड ३२ लाखको फूल र त्यस्तै मूल्यको विवाह केक काटेर सम्पन्न गरिएको यो विवाहमा ३ अर्ब ५३ करोड ६० लाख रुपियाँ खर्च भएको थियो ।

वाने रुनी र कोलिन म्याकलोग्लिन

इंग्ल्याण्डका फुटबलर वाने रुनीले १६ वर्षको उमेरदेखि प्रेम गरेकी युवती कोलिनसँग सन् २००८ मा विवाह गर्दा ८३ करोड २० लाख रुपियाँ खर्च गरेका थिए । खेलाडीहरूको विवाहमध्ये सर्वाधिक महँगो मानिने यो विवाह १७ औं शताब्दीमा निर्माण भएको एउटा घरमा भएको थियो जहाँ पाहुनाहरूलाई विमान चार्टर गरेर लगिएको थियो । विवाहमा रुनीले पाहुनाहरूलाई पानी जहाजमा सयर गराउँदै पाँचतारे होटलमा राखेर मेजबानी गराएका थिए ।

चेल्सिया क्लिन्टन र मार्क मेजभिनस्की

अमेरिकाका पूर्वराष्ट्रपति विल क्लिन्टन तथा हिलारी क्लिन्टनकी एक मात्र छोरी चेल्सिया क्लिन्टनको विवाह पनि विश्वको महँगो विवाहमध्ये एक मानिन्छ । चेल्सियाको बाल्यकालदेखिकै साथी एवं बैंकका लगानीकर्ता मार्कसँग सन् २०१० मा भएको उक्त विवाहमा ५२ करोड रुपियाँ खर्च भएको बताइन्छ । उक्त विवाह समारोहमा प्रयोग भएको एयरकन्डिसन टेन्ट तथा केकको मूल्य क्रमशः ६ करोड २४ लाख रुपियाँ तथा ११ लाख ४४ हजार रुपियाँ थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *