पशुपति क्षेत्रको विकासमा सकारात्मक पहल

Nayabimarsha (Weekly Newspaper from Nepal)

सम्पादकीय

नेपालको काठमाडौंमा रहेको पशुपतिनाथको मन्दिर तथा आराध्यदेव शिवको महिमा विश्वव्यापी छ । विश्वका हिन्दूहरुले पुज्ने महादेवको प्रसिद्ध मन्दिरहरुमध्येमा पर्ने पशुपतिनाथको मन्दिर तथा पाशुपत क्षेत्रको विकासका लागि नेपाल सरकारले एकदमै चासोका साथ कार्य गर्नुपर्ने अवस्थामा पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका सल्लाहकारहरु खारेज गर्ने कार्य भएको छ । बुधबार बसेको कोषको परिषद् बैठकले यस्तो निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको पहलमा सो निर्णय गरिएको जनाइएको छ । उक्त बैठकले विभिन्न समयमा नियुक्त गरिएका कोषका सल्लाहकारहरु खारेज गरेपछि त्यसलाई सकारात्मक रुपमा लिइएको छ । राजसंस्थाको पालादेखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका करिब सय बढी सल्लाहकारको पद खारेज गर्ने निर्णयमा कोष पुगेको हो । कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले त्यसरी अनावश्यक रुपमा राखिएका सल्लाहकारहरुको खासै काम नभएको बुझी उक्त निर्णयमा पुगेको बताइएको छ ।
उक्त बैठकले पशुपति क्षेत्र परिषरमा मदिरा बिक्री–वितरणमा समेत बन्देज गर्ने निर्णय गरेको छ । पशुपतिनाथको दर्शन तथा अवलोकनमा आउने दर्शनार्थी र पर्यटकहरुको सुरक्षाका लागि सुरक्षा पोष्टहरु निर्माण गर्ने निर्णय पनि भएको छ । यसैगरी कोषको कार्यकारी निर्देशकमा पत्रकारसमेत रहेकी लक्ष्मी पुनलाई नियुक्त गरिएको छ । यसअघिका कार्यकारी निर्देशक घनश्याम खतिवडाको पदावधि यही पुस १ गते सकिएपछि उनलाई नियुक्त गरिएको हो । उनको नियुक्तिलाई लिएर सञ्चारकर्मीहरु पनि प्रफुल्लित बनेका छन् ।
पाशुपत क्षेत्रको आफ्नै खालको पौराणिक तथा धार्मिक महत्व छ । पशुपतिनाथलाई नेपालीले आफ्नो आराध्यदेवको रुपमा मान्दै आएका छन् । विश्वका हिन्दूहरुका लागि तीर्थयात्रा गर्ने मन्दिरहरुमध्येमा पशुपतिनाथको मन्दिर समेत पर्ने गरेका कारण यो मन्दिर परिसरको विषयमा कोषको विषयमात्र नभई विश्वका हिन्दूहरुको चासोको विषय पनि हो । विभिन्न मुलुकबाट समेत पशुपतिनाथको दर्शनका लागि भक्तजनहरु आउने भएकाले पनि यो क्षेत्रलाई सरकारले समेत विशेष चासो दिई कार्य गर्नुपर्ने हुन्छ । पशुपतिनाथ मन्दिर क्षेत्रको विकासका लागि हालका पर्यटनमन्त्री सुदन किराँतीले सकारात्मक कार्य गर्दै आएको आम बुझाइ छ । आफ्नो देशको धर्म संस्कृतिलाई बचाउनुपर्ने मान्यता मन्त्री किराँतीले राख्दै आएको पाइन्छ । उनी मन्त्री बनेपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (वालेन) समेतको सक्रियतामा कोषलाई सकारात्मक कार्यका लागि प्रेरणा मिल्दै आएको अवस्था छ । त्यसैले पाशुपत क्षेत्रको विकासका लागि कोषले मात्र कार्य गर्ने नभई सबैको उक्तिकै दायित्व रहेको अवस्था छ । नेपालीजनले पाशुपत क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट जे जस्तो कार्य गर्न सकिन्छ गरी पशुपतिनाथको मन्दिरको महिमा विश्वव्यापी रुपमा अघि बढाउनुपर्ने देखिन्छ । यसरी कार्य गर्दा केही व्यवसायीलाई आघात पर्ने अवस्था नै आए पनि विश्वभरका हिन्दूहरुको आस्थाको कुरालाई ख्याल गरी सरकारले सही कार्य गर्न सक्नुपर्ने देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *