राष्ट्रियसभा निर्वाचनले एमालेमा तनाव : गठबन्धन टुटाउने प्रयास, गठबन्धनमा समस्या

Nayabimarsha (Weekly Newspaper from Nepal)
मुख्य समाचार

भक्तपुर/ राष्ट्रियसभाका एक तिहाई सदस्यका लागि माघ ११ गते हुने चुनावलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) मा तनाव छाएको छ । यसैगरी सत्ता गठबन्धनमा रहेका दलहरुका बीचमा दलगत भागबन्डा र आकांक्षीहरूको व्यवस्थापनको चुनौती रहेको छ । हालको अवस्थामा गठबन्धन कायमै रहेमा एमालेले कुनै पनि स्थानमा जित्न नसक्ने अवस्था देखिएका कारण पनि एमालेमा छटपट्टि आएको हो । १९ स्थानका लागि हुने चुनावमा हालको गठबन्धनमा रहेका दलहरुका बीचमा कुनै पनि किसिमको विवाद नभएमा वा सबैले एक मत भएर गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरेमा एमाले कुनै पनि स्थानमा जित निकाल्न नसक्ने अवस्थामा रहेको भनी मतभारको अंकगणितीय हिसाबले देखाएको बताइन्छ ।
यसरी १९ स्थानको लागि हुने चुनावमा हात लाग्यो शून्यको अवस्थामा पुगेको एमाले यो परिणाम आएमा बर्बाद हुने ठान्ने अवस्थामा पुगेको छ । त्यसैले पनि एमाले तथा खासगरी एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली रणनीति बनाउन लागि परेको पनि समाचार स्रोतले दाबी गरेको छ । ओलीले यो अवस्थालाई ख्याल गरी सत्ता गठबन्धनमा दरार उत्पन्न गर्ने दाउमा रहेको बताइएको छ । यसका लागि ओलीले गठबन्धनमा रहेका दलहरुले उक्त १९ स्थानको बाँडफाँड के कसरी गर्छन् भनी ध्यानपूर्वक हेरेको अवस्था छ ।
सत्ता गठबन्धनमा रहेका दलहरुमध्ये नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले भाग नपाउने अवस्था आएको छ । यसैगरी जनता समाजवादी पार्टीका लागि एक स्थान छुट्याइने अवस्थामा जसपाले दुई स्थानमा दाबी पेश गर्दै आएको अवस्था छ । यो बेलामा एमालेले यिनै दलहरुका बीचमा खेल्ने प्रयास गरिरहेको बताइएको छ ।
पदका लागि जे पनि गर्न तयार हुने दलको रुपमा त्रिचित हुँदै आएको जसपा तथा सो दलका अध्यक्ष उपेन्द्र यादव पनि अवसरको खोजीमा रहेको समाचार स्रोतले बताएको छ । त्यसैले सो दलका अध्यक्ष यादवले पनि ‘गठबन्धन र एमाले’ दुवैसँग मोलमोलाइ गरिरहेको बताइएको छ ।
यो चुनावका मतदाता निश्चित हुने गर्दछन् । यसैगरी उनीहरुको मतभार पनि पहिले नै जानकारी हुने हुन्छ । प्रदेशसभाका सदस्य तथा स्थानीय तहका प्रमुख–अध्यक्ष÷उपप्रमुख–उपाध्यक्ष मतदाता हुन् । सत्ता गठबन्धनका दलभित्र उम्मेदवारका आकांक्षी पनि धेरै छन ्। एमालेले सत्ता गठबन्धनमा नरहेका दलसँग चुनावी गठबन्धनको पहल गरिरहेको छ ।
राष्ट्रियसभामा बागमती प्रदेशबाट ४, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३÷३ तथा कोशी, मधेश र लुम्बिनीबाट २÷२ जना सदस्यको चुनाव हुँदैछ । फागुन २० गते एक तिहाई (२० जना सदस्य) को कार्यकाल सकिँदैछ । तीमध्ये एकजना राष्ट्रपतिबाट मनोनीतको कार्यकाल पनि सकिन लागेको छ । कार्यकाल सकिनुभन्दा ३५ दिनअगावै चुनाव गर्नुपर्ने कानूनी व्यवस्था अनुरुप यो निर्वाचन हुन लागेको हो ।
सत्तामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टी छन् । राष्ट्रिय जनमोर्चा सरकारमा नगए पनि उसले बाहिरबाट समर्थन गरेको अवस्था छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेसका सभापति शेरबहादुर देउवा भने कुनै पनि अवस्थामा हालको गठबन्धन टुट्न नदिने पक्षमा देखिएका छन् । राष्ट्रियसभा निर्वाचनमा एमालेले खेल्न सक्ने कुरालाई ख्याल गरी दाहाल र देउवाले चुनावअघिसम्म कुनै पनि किसिमका विवादमा आउने खालका निर्णय नलिने सोच बनाएको पनि समाचार स्रोतले दाबी गरेको छ ।
चुनावमा मतभारको आधारमा भागबन्डा गर्नुपर्ने पक्षमा कांग्रेस र माओवादी केन्द्र छन् । अन्य साना सत्ता साझेदारी दलहरू पनि केन्द्रमा जस्तै सातवटै प्रदेशमा गठबन्धन गरेर राष्ट्रियसभाको चुनावमा पनि साथमा रहनुपर्ने पक्षमा देखिएका छन् । अहिले कांग्रेस–माओवादी गठबन्धनको सरकार सबै प्रदेशमा रहेको छ । स्थानीय तहमा पनि सत्ता गठबन्धनकै दलहरू हाबी भएकाले उनीहरू मिलेर चुनावमा गए राष्ट्रियसभा निर्वाचनमा सबै स्थानमा गठबन्धनका लागि लाभकारी हुने देखिएको बताइन्छ ।
गठबन्धन एक ढिक्का भएको अवस्थामा सबै स्थानमा जित्ने अवस्था रहेकाले पनि सत्तारुढ दलहरुमा उम्मेदवार बन्नेहरुको होड छ । शीर्ष तहका प्रभावशाली नेताहरूले समेत दाबी गरिरहेको अवस्था छ । कांग्रेसको कोशी प्रदेश समितिले कृष्णप्रसाद सिटौलासहित ६३ जनाको नाम सिफारिस गरेको छ । पूर्वमन्त्री महेश आचार्य, मीनेन्द्र रिजाल, सुजाता कोइराला, डिला संग्रौला, गुरुराज घिमिरे, उमेशजंग रायमाझी, आङगेलु शेर्पा र रुक्मिणी कोइरालालगायतको नाम सिफारिस भई कांग्रेसमा आएको छ । पूर्वउपसभापति गोपालमान श्रेष्ठ, सहमहामन्त्रीद्वय फरमुल्ला मन्सुर र डीना उपाध्याय, चीनकाजी श्रेष्ठ, आनन्दप्रसाद ढुंगानालगायतको नाम सिफारिस भै आएका कारण कांग्रेसमा को को उम्मेदवार बन्ने हुन् भन्ने कुराको ठेगान नभएको बताइन्छ ।
यसैगरी माओवादी केन्द्रमा पनि लीलामणि पोखरेल, डोरप्रसाद उपाध्याय, चक्रपाणि खनाल, कुबेर ओलीलगायतको नाम चर्चामा छ । एकीकृत समाजवादीले उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव गंगालाल तुलाधर, नेता गणेश विके र सावित्री भुसालको नाम अघि सारेर आफूहरुका लागि पनि स्थान दिइनुपर्ने भनी माग गर्दै आएको छ ।
यसरी गठबन्धन एक भएको अवस्थामा सोत्तर हुने अवस्थामा पुगेको एमालेले विभिन्न विकल्प सहित भित्री रुपमा खेल खेल्दै आएको अवस्था छ । यसका लागि एमालेले माओवादी बाहेकका सबै दलहरुसँग विभिन्न किसिमबाट कुरा मिलाउँदै आएको बताइएको छ ।
विभिन्न किसिमका बल्छी हाल्ने क्रममा एमालेल कांग्रेसलाई १३ स्थान लिएर आफूलाई छ स्थान प्रस्ताव गरी अघि बढिरहेको बताइएको छ । कांग्रेसमा असन्तुष्ट रहेकाहरुको साथ पाएमा केही स्थानमा आफूले जित्नसक्ने हिसाब गरी एमालेले कांग्रेसका केही नेताहरुलाई ललिपप देखाइरहेको पनि समाचार स्रोतले बताएको छ । एमालेको यो नीतिले कांग्रेसमा केही हलचल ल्याए पनि त्यसले पूर्णता नपाउने संभावना रहेको बताइन्छ । एमालेको ललिपपमा फसेमा हालको सत्ता गठबन्धन नै टुट्न सक्ने तथा उस्तै पर्दा कांग्रेस नै विभाजन हुन सक्ने खतरा रहेका कारण कांग्रेसका कुनै पनि नेताहरु त्यस्तो जोखिम मोल्ने पक्षमा नरहेको बताइन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *