काँग्रेसका हरुवाहरुलाई राष्ट्रियसभाको लोभ

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं । राष्ट्रियसभाका अध्यक्षसहित २० जना सांसद्को कार्यकाल आगामी २० फागुनमा सकिँदैछ । त्यसका लागि आगामी २०८० माघ ११ गते निर्वाचन हुँदैछ । २० जना सांसदमध्ये १९ जनाको निर्वाचन र एकजनालाई राष्ट्रपतिले मनोनीत गर्नेछन् ।
राष्ट्रियसभाको निर्वाचनमा कूल मतभार दुई हजार ४७ रहेको छ । यसमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रदेश सांसदले राष्ट्रियसभाका उम्मेदवारहरुले मत दिने व्यवस्था छ । राष्ट्रियसभाको निर्वाचनमा काँग्रेस नेता कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, मीनेन्द्र रिजाल र सुजाता कोइरालाले अध्यक्ष बन्न चासो देखाएका छन् । ६ वर्षे कार्यकालका लागि चुनाव हारेका सिटौला र कोइराला तथा गत २०७९ को निर्वाचनमा टिकट नै नपाएका श्रेष्ठ एवं रिजालले लोभ गरे पनि नेता गोपालमान श्रेष्ठले कांग्रेसको निर्णयलाई शिरोधार्य गर्ने बताएका छन् ।
संस्थापन पक्षबाट उम्मेदवार बन्न सिटौला, श्रेष्ठ र कोइरालाले लविङ्ग शुरु गरेका छन् भने इतरपक्षबाट रिजाललाई अघि सारिएको छ । काँग्रेस उपसभापति धनराज गुरुङ र महामन्त्री गगनकुमार थापाले पुराना नेताहरुलाई उम्मेदवार बनाउन नहुनेमा जोड दिँदै आएका छन् । राजनीतिको अन्तिम अवस्थालाई सदुपयोग गर्दै विश्राम लिने तरखरमा नेतात्रय श्रेष्ठ, सिटौला र कोइराला लागि परेको समाचार स्रोतले बताएको छ । इतरपक्षबाट रिजालको विकल्प नहुँदा संस्थापन पक्षबाट श्रेष्ठ, सिटौला र कोइरालाबीच हानथाप चलेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले भित्री इच्छा सिटौलालाई अध्यक्ष बनाउने रहेपछि श्रेष्ठ र कोइराला हिस्स पर्ने जानकारहरुले बताएका छन् । सिटौलालाई भारतको समेत आशीर्वाद रहेको चर्चा चलेको छ । गत २०७९ को चुनावमा सिटौला झापा–३ र कोइराला मोरङ्ग–३ बाट पराजित भएका थिए ।
यता, मकवानपुर–१ बाट राप्रपाका दीपक बहादुर सिंहसँग चुनाव हारेकी डिना उपाध्यायको पनि राष्ट्रियसभामा चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *