उपनिर्वाचनलाई लिएर दलहरुमा शंका: एमाले फुटाउने पक्षमा, सत्तागठबन्धनमा शंकैशंका

Nayabimarsha (Weekly Newspaper from Nepal)

मुख्य समाचार

भक्तपुर÷ स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभामा रिक्त रहेका पदको उपनिर्वाचनको मिति घोषणाका तयारी थालिएको छ । यसका लागि निर्वाचन आयोगले सरकारसँग परामर्श गर्ने भएको आयोग स्रोतले जानकारी दिएको छ । आगामी २०८१ को बैशाखमा उपनिर्वाचन गर्ने तयारीमा रहेको आयोगले सरकारसँग निर्वाचनको मिति घोषणाका लागि परामर्श गर्ने भएको हो ।
आयोग पदाधिकारीले प्रधानमन्त्रीसँग सो सम्बन्धमा छलफल गर्ने भनी समय माग गरेको समाचार स्रोतले जानकारी दिएको छ । प्रतिनिधिसभा, प्रदेशसभा, जिल्ला समन्वय समिति र स्थानीय तह गरी कुल २५ पद रिक्त रहेको आयोग स्रोतले जानकारी दिएको छ । यसमा दुई पद जिल्ला समन्वय समितिका प्रमुखको समेत रहेको जनाइएको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा एक वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन गरिने छैन भन्ने व्यवस्था रहेको कारण तथा स्थानीय तहको कार्यकाल अझै करिब तीन वर्षभन्दा बढी बाँकी रहेकाले उपनिर्वाचनको तयारीमा आयोग लागेको हो ।
जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष एवं नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिका लागि निर्वाचन आयोगको परामर्श लिई नेपाल सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पूर्ति गरिने कानूनी व्यवस्था उक्त ऐनमा छ ।
यसैगरी प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ मा प्रत्यक्षतर्फ निर्वाचित कुनै सदस्यको पद प्रतिनिधिसभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने भनी भनिएको छ । हालको अवस्थामा सबैतिर तीन वर्ष बढी कार्यकाल बाँकी रहेकाले आयोगले उपनिर्वाचन गराउने भएको हो । आयोगका अनुसार प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको एक÷एक पद रिक्त छन् । कोशी प्रदेशको इलाम–२ प्रतिनिधिसभा निर्वाचन र सुदूरपश्चिमको बझाङ १ (१) मा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रिक्त छन् ।
यस्तै, नगर उपप्रमुख एक, गाउँपालिकाका अध्यक्ष एक र उपाध्यक्षको दुई पद रिक्त छन् । यसैगरी १७ वडाध्यक्ष पद रिक्त छन् । दुई जना वडाध्यक्ष जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएकाले ती वडाध्यक्ष पद पनि रिक्त भएका हुन् ।
यसरी उपनिर्वाचनको तयारीमा आयोग लागेको जानकारी पाएपछि राजनीतिक दलहरुले उक्त उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाउने भएका पनि समाचार स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार सत्ता गठबन्धनमा रहेका दलहरुले अबका दिनमा गठबन्धनबाट धोका नहुने गरी तयारी थाल्नुपर्ने चुनौती छ । उता, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने यो अवस्थालाई गठबन्धन टुटाउन सकिएला कि भन्ने अवसरको रुपमा लिने देखिएको छ ।
एमालेको तयारी
प्रमुख प्रतिपक्षमा पुगेको एमाले हालको सत्तागठबन्धन जसरी पनि फुटाउने पक्षमा लागि परेको देखिएको छ । जुनसुकै बहाना वा अवस्थामा सिर्जना गरेर भए पनि वर्तमान गठबन्धनलाई टुटाउन सकिएमा आफू सत्तामा पुगिने लालसा बोकेर एमाले रहेको देखिन्छ । गठबन्धनमा रहेका दलहरुका बीचमा खेलेर होस् वा कसैलाई उचालेर भए पनि गठबन्धन टुटाउनै पर्ने एक सूत्रीय अभियानमा एमाले देखिएको छ ।
हालै सम्पन्न राष्ट्रियसभाको निर्वाचनमा पनि एमालेले सत्ता गठबन्धनलाई टुटाउनका लागि खेलेको थियो । उसले जोसँग जस्तो कुरा गर्दा गठबन्धन टुट्न सक्छ कि भनी प्रयास गरेको थियो । १९ स्थानको लागि भएको सो निर्वाचनमा सबै ठाउँमा सत्ता गठबन्धनले जित निकाल्न सक्ने अवस्थामा पनि एमालेले उम्मेदवारी दिएर खेल्ने प्रयास गरेको थियो ।
१८ स्थानमा गठबन्धनका उम्मेदवारहरुको जित भए पनि कोशी प्रदेशमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट महिला उम्मेदवार चम्पा कार्कीले भने पराजय भोग्नु प¥यो । सहज जितको अवस्थामा रहँदा पनि केही मतदाताहरुले धोका दिएका कारण उनको स्थानमा एमालेबाट उम्मेदवार बनेकी रुक्मिणी कोइराला विजयी बनिन् । यसरी गठबन्धनका उम्मेदवारमाथि धोका भएको कुरालाई सत्ता गठबन्धनमा रहेका दलहरुले गम्भीर रुपमा उठाएका छन् ।
एमालेले भने यो कुरालाई अवसरको रुपमा लिएको छ । गठबन्धनमा फाटो ल्याउन सकिएका भनी एमालेले यही विषयलाई लिएर माओवादी केन्द्रका नेताहरुलाई भड्काउने कार्य गरिरहेको अवस्था छ । अझ राष्ट्रियसभाको अध्यक्ष पदमा समेत कांग्रेस र माओवादी केन्द्रका बीचमा फाटो ल्याउने प्रयासमा एमाले लाग्ने बताइन्छ । कांग्रेसले कोशी प्रदेशबाट जितेर आएका कृष्णप्रसाद सिटौलालाई अघि सार्ने अवस्था छ भने एमालेको उक्साहटमा परेर माओवादी केन्द्रका केही नेताहरु भने उर्मिला अर्यालको नाम लिन थालेका छन् ।
सत्ता गठबन्धनमा शंका
हालै सम्पन्न राष्ट्रियसभाको निर्वाचन परिणाममा कोशी प्रदेशमा गठबन्धनभित्र धोका भएको निष्कर्षमा सत्ता गठबन्धनका दलहरु पुगेका छन् । त्यसैले पनि अब हुने उपनिर्वाचनमा पनि धोका हुने भयमा उनीहरु रहेका छन् । कोशी प्रदेशमा कांग्रेसका केही मतदाताले धोका दिंदा माओवादी केन्द्रका उम्मेदवार पराजित बनेको बुझाइमा माओवादी केन्द्रका नेताहरु रहेका छन् । उक्त निर्वाचनमा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारसँग गठबन्धन गरेको थियो । त्यो गठबन्धनमा एमालेले पनि राप्रपालाई धोका दिएको कुरालाई भने गौण राख्ने प्रयास भएको छ । एमालेका तर्फबाट पूर्ण मत राप्रपाका उम्मेदवार उद्धव पौडेलले पनि पाएका थिएनन् । प्रदेश सांसदले समेत एमालेले निष्कृय बनाएका उम्मेदवार पर्शुराम अधिकारीलाई मतदान गरेको पाइएको थियो ।
यस्तो यथार्थलाई एमालले लुकाएर सत्ता गठबन्धनमा खेल्ने प्रयास गरिरहेको भनी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेको भ्रममा नपर्न आग्रह गर्र्दै आएका छन् । उता, माओवादी केन्द्रका केही नेताहरु एमालेको बहकाउमा आउने गरेको बताइन्छ । उनीहरु आगामी उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई धोका दिएर कोशीको बदला लिनुपर्छ भनी भन्ने अवस्थामा पुगेका पनि बताइएको छ ।
यही कुरालाई मनन गरी सत्ता गठबन्धनको समीक्षा बैठकमा समेत राष्ट्रियसभाको निर्वाचनको विषयलाई गम्भीरतापूर्वक उठाइएको थियो । केही मतदाताले धोका दिएका कारण एमालेका उम्मेदवारले विजयको माला पहिरिए पनि आगामी दिनमा हुने अन्य निर्वाचनमा भने सबैले इमान्दारिता देखाउनुपर्ने कुरामा जोड दिइएको थियो ।
उपनिर्वाचन हुने स्थानमा जुन ठाउँमा जसको प्रतिनिधि पहिले निर्वाचित थिए त्यही दललाई सो स्थानको उम्मेदवारी सुरक्षित गर्ने गरी सहमति गर्ने तयारी भैरहेको कांग्रेसका नेता रमेश लेखकले जानकारी दिएका छन् । उनका अनुसार एमाले वा अन्य विपक्षीले जितेका स्थानमा मात्र सत्ता गठबन्धनमा रहेका अन्य दलले समेत भागबण्डा पाउन सक्ने अवस्था रहने पूर्व मान्यता लिइएको छ ।
खनाल उम्मेदवार बन्ने प्रयासमा
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले समेत आगामी उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि प्रयास थालेको बताइन्छ । उनी गत निर्वाचनमा इलाम क्षेत्र नं.१ मा एमालेका उम्मेदवारसँग पराजित भएका थिए । एमालेका सुभाषचन्द्र नेम्वाङको निधनपछि रिक्त इलाम क्षेत्र नं.२ मा हुने भनिएको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले त्यो बेला एक सय १४ मतान्तरले पराजित हुनु परेको थियो । त्यसैले आगामी उपनिर्वाचनमा खड्कालाई नै कांग्रेसले अघि सार्ने अवस्थामा खनालले बाधा गर्ने तयारी गरिरहेको बताइन्छ ।
उक्त रिक्त क्षेत्रमा समेत खनालले आँखा गाडेको अवस्था बताइन्छ । नेम्वाङजस्तो दह्रो उम्मेदवार अबको निर्वाचनमा नहुने भएकाले आफूले सत्ता गठबन्धनबाट उम्मेदवारी पाएमा जितिने आशामा खनाल रहेका बताइन्छ । उनले सत्ता गठबन्धनबाट टिकट नपाएमा एमालेमा प्रवेश गरेर भए पनि टिकट लिने प्रयास गर्ने समाचार स्रोतले जानकारी दिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *