गठबन्धनमा तरङ्ग :दाहाल झस्किँदै, ओली गिजोल्दै

Nayabimarsha (Weekly Newspaper from Nepal)

मुख्य समाचार

भक्तपुर/ दुई वर्षका लागि भनी सहमति गरेर प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल अवधि नपुग्दै प्रधानमन्त्रीबाट फालिने पो हो कि भन्ने त्रासमा पुगेको देखिएको छ । फागुन १ अर्थात नेकपा (माओवादी केन्द्र) ले एकदमै गौरव गर्ने दिनको रुपमा रहेको कथित ‘जनयुद्ध दिवस’ को अवसरमा दाहालले व्यक्त गरेको अभिव्यक्तिमा उनमा त्यस्तो त्रास देखिएको हो । उनी आफैं प्रधानमन्त्री भएको अवस्थामा ‘जनयुद्ध दिवस’ लाई राष्ट्रिय विदा दिन नपाएको आक्रोश पोख्ने क्रममा हालको सत्ता गठबन्धनका विषयमा समेत नकारात्मक टिप्पणी गरी वर्तमान गठबन्धन नै धरापमा पर्ने त होइन भन्ने खालको आशंका उत्पन्न हुने स्थिति सिर्जना गरिदिएका छन् । उनले सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेससँगको सहकार्य आफ्नो दलका लागि सोचे अनुसारको लाभदायक नरहेको भनी टिप्पणी गरेका छन् । एक वर्षे कार्यकाल पूरा हालै गरेको अवस्थामा उनले गरेको यो टिप्पणीले कांग्रेसमा मात्र नभई समग्र गठबन्धनमा तरङ्ग ल्याइदिएको छ ।
गत वर्ष फागुन १ गतेलाई राष्ट्रिय विदा दिलाएका दाहालले यस वर्षका लागि पनि उक्त दिनलाई राष्ट्रिय विदाको घोषणा गरेका थिए । यो विदालाई लिएर हालको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले खरो रुपमा विरोध गरेको थियो । एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले यो दिवसको विरोधमा संसदमा समेत गत वर्ष विरोध जनाएका थिए । उनले उक्त विदा कटौती नगरिए त्यसको विरोधमा उत्रिने चेतावनी समेत दिएका थिए ।
ओलीको आक्रोशकै समयमा उक्त विदालाई विवादित बनाउने कार्य भएको थियो । सोही कारण उक्त विदा कटौती गरिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट परेको थियो । उक्त रिटको सुनुवाइ हुँदै केही हप्ताअघिमात्र उक्त विदा खारेज गरिनुपर्ने आदेश अदालतले दिएपछि माओवादी केन्द्रका नेताहरु चूर भएको अवस्था छ । यसैक्रममा आफ्ना नेता– कार्यकर्ताहरुको आक्रोशलाई मथ्थर पार्नकालागि भनी माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले रिस गठबन्धनप्रति प्रकट गरेका छन् । उनले कांग्रेससँगको सहकार्य बाध्यता भएको तर सोचे अनुसारको उपलब्धी नभएको भनी टिप्पणी गरेका हुन् ।
दाहालले गरेको टिप्पणीलाई कांग्रेसका नेताहरुले भने सहज रुपमा लिएका छैनन् । ३२ सिट जितेर तेस्रो दलको हैसियतमा रहेको माओवादी केन्द्रका दाहाललाई प्रधानमन्त्री स्वीकार्ने कांग्रेससँगको सहकार्य फलदायी भएन भन्नु दाहालको बेइमानी कुरा रहेको बुझाइमा कांग्रेसजन पुगेका छन् । एमालेका अध्यक्ष ओलीले पेलेर तेल निकाल्ने अवस्थामा दाहाल पुग्दा कांग्रेस सबैभन्दा ठूलो दल भएर पनि माओवादी केन्द्रलाई काँध हालेर हिंडेको अवस्थालाई दाहालले विर्सिएको भनी कांग्रेसजन झनै रुष्ट बनेका छन् ।
अबको एक वर्षपछि पूर्व सहमतिको पालना गर्ने हो भने दाहालले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनु पर्ने हुन्छ । नेपाल प्रधानमन्त्री बनी एक वर्ष चलाएपछि अर्को चुनाव समेत गराउने सर्तमा बाँकी दुई वर्ष कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने अवस्था बनाउनु पर्ने हुन्छ । यसरी आफ्नो कार्यकाल एक वर्ष पूरा भइसकेको अवस्थामा गठबन्धनको मर्मभन्दा बाहिर गएर प्रधानमन्त्री दाहालको अभिव्यक्ति आएको भनी अन्य दलमा समेत आशंका उत्पन्न भएको छ ।
नेता नेपाललाई आफूलाई प्रधानमन्त्री बन्नबाट रोक्नका लागि ओलीले जुनसुकै हर्कत गर्न सक्ने त्रास रहेको समाचार स्रोतले बताएको छ । यसका लागि ओलीले दाहाललाई भड्काउने तथा दाहाल पनि भड्किने खतरा नेता नेपालले देखिरहेको बताइन्छ । नेता नेपालपछि आफ्नो पालो आउने भनी कुरेर बसेका देउवा पनि ओली र दाहालको अवस्थालाई नजिकबाट नियालेर बसेको बताइन्छ ।
उता, एमालेका अध्यक्ष ओली भने विष वमन गर्न लागि परेका छन् । माओवादी केन्द्रले गौरवमय दिनको रुपमा लिने गरेको फागुन १ गतेको विदाको विषयमा मात्र नभई माओवादीले २०५२ सालमा लिएको नीति नै गलत रहेको भनी ओलीले छेड हान्ने कार्य गर्दै आएका छन् । उनले प्रधानमन्त्री बन्न र सत्ताप्राप्तिका लागि मात्र तात्कालिन नेकपा (माओवादी) ले सशस्त्र युद्ध शुरु गरेको आरोप लगाएका छन् ।
‘हिंसा शुरु गरेको २०५२ सालबाट २०६३ सालमा आइपुग्दा केमा फरक परेको थियो ? के कारणले फेरि त्यही व्यवस्था, त्यही प्रणालीमा आउनुपरेको थियो । त्यही संसदमा नलडिकन हिस्सा लिइयो । सरकारमा चुनाव नलडी पुगियो । अनि हिंसा छोडियो’ भनी ओलीले फागुन १ गते आयोजित एक कार्यक्रममा माओवादी केन्द्रलाई छेड हान्ने कार्य गरेका छन् । ओलीले संसदमा अच्छाखासा सिट संख्या र सरकारमा राम्रो हिस्साका लागि त्यो बेला हिंसा गरेको आरोप लगाए ।
उनले २०४७ सालको संविधानले शान्तिपूर्ण बाटाहरु बन्द नगरेको अवस्थामा माओवादीले हिंसात्मक बाटो रोज्नु गलत भएको दाबी गरेका छन् । राणा शासन वा पञ्चायती नभएको अवस्थामा माओवादीले थालेको ‘जनयुद्ध’ को कुनै औचित्य पुष्टि नभएको दाबी ओलीले गर्दै आएका छन् । ओलीले त्यो बेला माओवादीका नेताहरुको टाउकाको मूल्य तोक्नेहरुसँग मिलेर माओवादीका नेताहरुले वर्तमान सरकार बनाएको भनी त्यसलाई सत्ताप्राप्तिका लागि जे पनि गरिने सन्दर्भसँग जोड्ने कार्य गरेका छन् ।
दाहाल र ओलीका अभिव्यक्तिका कारण कांग्रेस पनि सोचमग्न अवस्थामा पुगेको छ । सरकारले राम्रो कार्य गर्न नसकेको भनी आलोचना आइरहेको तथा कांग्रेसजनमै सरकारमा रहनुको औचित्य नरहेको भनी टिप्पणी भइरहेको अवस्थामा दाहालले त्यस्तो अभिव्यक्ति दिएपछि त्यसले झनै तिक्तता ल्याउन सक्ने अवस्था आएको बताइन्छ ।
दाहालको अभिव्यक्ति तथा ओलीको छेडका कारण माओवादी केन्द्र र एमालेका बीचमा तत्काल सहकार्य हुन नसक्ने अवस्थाको विश्लेषण कांग्रेसमा सभापति शेरबहादुर देउवाले गरेका छन् । राजनीतिमा जे पनि हुन सक्ने अवस्थालाई राम्ररी बुझेका देउवा पनि ढुक्क भने नरहेको अवस्था छ ।
दाहालले जता पनि ढल्किने स्वभाव तथा ओली पनि राजनीतिको चतूर खेलाडी रहेका कारण देशको राजनीति जता पनि ढल्किन सक्ने भनी राजनीतिक वृत्तमा चर्चा चल्ने गरेको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *