कांग्रेसमा सुधारको खाँचो

Nayabimarsha (Weekly Newspaper from Nepal)

सम्पादकीय

वर्तमान सरकारको मुख्य घटकको रुपमा रहेको नेपाली कांग्रेसको महासमिति बैठकमा उठाउनुपर्ने विषयका लागि युवा नेताहरुले छलफल थालेका छन् । काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गर्दै युवा नेताहरुले आसन्न महासमिति बैठकमा उठाउनुपर्ने विषयका बारेमा ‘महासमिति मन्थन’ छलफलको थालनी गरेका हुन् । दललाई मजबुत बनाउन संगठन सुधारका लागि पहल गर्नुपर्ने अपरिहार्यता रहेको जनाउँदै उनीहरु मन्थनमा जुटेका हुन् । महासमिति बैठकलाई कर्मकाण्डी मात्र बनाउन नहुने भन्ने सोचका साथ उनीहरु छलफलमा जुटेका हुन् । सरकारमा रहेको अवस्थामा र अन्य अवस्थामा पनि दलले देशका गम्भीर समस्या र जनताका जल्दाबल्दा समस्या समाधानका लागि सबै पक्षहरुलाई समेटेर छलफल गर्नुपर्ने आवश्यकमा सहभागीहरुले जोड दिइरहेका छन् ।
पछिल्ला केही वर्षयता कांग्रेसभित्र गुटबन्दीको प्रभाव चरम रुपमा देखिएको छ । त्यसैले गुटबन्दीको अन्त्यका लागि पनि दलका शीर्ष नेताहरुले भूमिका खेल्नुपर्ने कुरा छलफलका दौरान उठाइएको छ । छलफलमा कांग्रेसका युवा नेताहरु गुरुराज घिमिरे, रञ्जित कर्ण, भूपेन्द्रजंग शाही, बंशलाल तामाङ, मैना कार्की, गोमा के.सी., रमिला महत र टेकराज पौडेलको सहभागिता रहेको छ । यसैगरी नारायण भट्टराई, विनोद खनाल, मनोहरि श्रेस्ठ, मोतिलाल भण्डारी, प्रेमिका राना, किरणकिशोर घिमिरे, भुवन भट्ट, धर्मराज शाही, विनिता खड्कालगायतले मन्थनमा भाग लिइरहेका छन् । कांग्रेसमा युवाहरुले उठाएका कुराहरु जल्दोबल्दो विषयहरु हुन् । उनीहरुले समयमै उठाएका कुरामा उनीहरु निचोडमा पुग्न चाहिरहेका छन् ।
यो छलफलको विषयलाई राष्ट्रिय रुपमा पनि महत्व दिइएको छ तथा दिइनुपर्छ । कांग्रेस भित्र जल्दाबल्दा विषयहरुका बारेमा छलफल चल्नु आवश्यक छ किनकि यो दल मुलुकको सबैभन्दा ठूलो दल हो । कांग्रेस भित्रको छलफल दल भित्रको छलफल मात्रमा सीमित नभई त्यसले राष्ट्रिय महत्वलाई समेत समेट्ने गर्दछ । पछिल्लो समयमा कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका दलहरुमा युवाहरुको आकर्षण घट्दै गएको भन्ने गरिन्छ । त्यसो नहुनुमा यी दलहरु परम्परागत रुपमा संचालन हुनु, जल्दोबल्दो मुद्दालाई समेट्न नसक्नु जस्ता कारण रहेका भनी भन्ने गरिन्छ । यस्तो अवस्थामा कांग्रेसको महासमितिको बैठकपूर्व युवा नेताहरुले छलफल गरी कुनै नयाँ कुरालाई अघि ल्याउन सकेमा त्यसले कांग्रेसको सुधारका लागि मात्र नभई देशकै सुधारका लागि पनि योगदान दिन सक्ने अवस्था रहन्छ । कांग्रेसले आफूलाई परम्परागत सोचबाट बाहिर निकाल्न सक्नुपर्दछ । यसका लागि कांग्रेसले हालको परिवेशलाई बुझेर समयानुकुल आपूmलाई ढाल्न सकेका खण्डमा मात्र त्यसले कांग्रेसलाई परिस्थितिसँग जुध्न सक्ने अवस्थामा पु¥याउने देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *