– धरापमा गठबन्धन –

Nayabimarsha (Weekly Newspaper from Nepal)
मुख्य समाचार

भक्तपुर/ सत्तारुढ दलहरुमा दरार आउन थालेको छ । खासगरी राष्ट्रियसभाको अध्यक्षका लागि हुने भनिएको निर्वाचनको कुरालाई लिएर दलहरुका बीचमा दरार आएको बताइएको छ । खासगरी सो पदका लागि नेकपा (माओवादी केन्द्र) ले नछाड्ने निर्णय लिएपछि सबैभन्दा ठूलो दल नेपाली कांग्रेस झस्किएको छ । अध्यक्षमा कांग्रेसका कृष्णप्रसाद सिटौलाको नाममा सहमति बनेको भए पनि पछिल्लो अवस्थामा माओवादी केन्द्र पुगेको हो । यसमा कोशी प्रदेशमा हालै भएको राष्ट्रियसभाको निर्वाचन परिणाम कारक रहेको बताइन्छ । सबै प्रदेशमा गठबन्धनमा रहेका दलहरुका साझा उम्मेदवारले विजयको माला पहिरिंदा पनि कोशी प्रदेशमा भने माओवादी केन्द्रका उम्मेदवार पराजित भएकी थिइन् । त्यो निर्वाचनमा कांग्रेसका मतदाताले धोका दिएर नेकपा (एमाले) का उम्मेदवारलाई विजयी बनाएको आरोप माओवादी केन्द्रका नेताहरुले लगाउँदै आएका छन् ।
माओवादी केन्द्रको बैठकमा राष्ट्रियसभाको अध्यक्ष छाड्न नहुने भन्दै नेताहरुले चर्को दबाब दिएपछि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त्यसरी कुनै सहमति नभएको प्रष्टीकरण दिएका छन् । बैठकको निष्कर्ष सुनाउँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रियसभाको अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने निर्णय भएको बताए । उनले अध्यक्षको विषयलाई लिएर गठबन्धनमा कुनै समस्या नपर्नेसमेत बताएका छन् ।
माओवादी केन्द्रको निर्णयले कांग्रेसलाई झड्का लाग्न पुगेको छ । आफ्नो उम्मेदवार उठाउने भनेर निर्णय गर्नुलाई स्वाभाविक मानिने अवस्था रहे पनि हालको गठबन्धनको अवस्थामा भने त्यसलाई अस्वाभाविक मानिएको बताइन्छ । माओवादीको निर्णयलाई अन्तिम नरहेको बुझाइमा कांग्रेसका नेताहरु रहे पनि यसले उनीहरुको मनमा चिसो भने पसेको छ । कुनै पनि दलले आफ्नो उम्मेदवार उठाउने भन्ने निर्णय गर्नु आश्चर्यको विषय नरहेको कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा बताउँछन् । उनका अनुसार कुनै दलको निर्णय जे आए पनि अब गठबन्धनमा रहेका दलहरुका बीचमा जे निर्णय त्यो नै आधिकारिक निर्णय हुनेछ ।
त्यसो त कांग्रेसको हालै सम्पन्न महासमितिको बैठकमा समेत ‘गठबन्धन’ का विषयमा व्यापक छलफल भएको थियो । कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावअघि गठबन्धन गर्न नहुने तथा अबका चुनावमा कांग्रेस एक्लै आफ्नो चुनावचिन्ह सहित निर्वाचनमा होमिनुपर्ने भन्ने खालको प्रस्ताव पेश गरेका थिए । उनको प्रतिवेदनमाथि व्यापक रुपमा चर्चा चलेको थियो ।
यसैगरी उपसभापति पूर्णबहादुर खड्काको प्रतिवेदनमा समेत माओवादीको कथित ‘जनयुद्ध’ लाई असान्दर्भिक भनी टिप्पणी गरिएको थियो । यसरी गठबन्धनको सरकार चलिरहेको अवस्थामा कांग्रेसले गठबन्धनको विरुद्धमा तथा ‘जनयुद्ध’ का विषयमा बोलेको भनी माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालसमेत रुष्ट भएका थिए ।
‘धमिलो पानीमा माछा मार्न’ खप्पिस नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले यहि बीचमा दाहालसँग राति राति भेटी हालको गठबन्धन टुटाउने प्रयास पनि गरेका समाचार स्रोतले जानकारी दिएको छ । यसरी आफूलाई अलिकति मात्र पनि खतरा महसुस भएमा दाहाल ढल्पल हुने देखिएकाले कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत दाहालसँग छुट्टै भेटी कांग्रेसको धारणा राख्ने कार्य गरेका छन् ।
दाहाल देउवा भेटमा देउवाले भोलिका दिनमा पनि सहकार्य जारी रहने जनाउ दिएको समाचार स्रोतले जानकारी दिएको छ । महासमितिको बैठकमा उठेका विषयमा केन्द्रीय समितिमा छलफल भएपछि त्यसले गर्ने निर्णय मात्र कांग्रेसको आधिकारिक निर्णय हुने जानकारी देउवाले दाहाललाई दिएका थिए । उनले हालको विषयलाई अनर्गल प्रचार नगरी कांग्रेसको आधिकारिक निर्णयलाई पर्खिनुपर्ने धारणा दाहालसमक्ष राखी गठबन्धनको विकल्प खोजिनुपर्ने अवस्था आइनसकेको बताएका थिए ।
यसरी कांग्रेस र माओवादी केन्द्रका बीचमा उत्पन्न विवादका कारण हालको सत्ता गठबन्धन नै धरापमा पर्न सक्ने विश्लेषण समेत राजनीतिक वृत्तमा गरिंदै आएको छ । राजनीतिमा कुनै नैतिकता नदेखिने गरेको हालको अवस्थामा यो अवस्थालाई एमालेले उपयोग गर्नेसम्मको कुरा उठ्ने गरेको छ । हालको सत्ता गठबन्धनलाई जसरी पनि टुटाउने तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नदिने खेलमा रहेका ओलीले विभिन्न तिकडम गर्न सक्ने कुराको आंकलन पनि गरिएको छ ।
दिनभरी प्रधानमन्त्री दाहालको विरुद्धमा भाषण ठोक्ने ओली बेलुका बेलुका लुसुक्क उनै दाहालसँग भेटघाटमा जुट्ने गरेकाले पनि हालको गठबन्धनलाई धरापमा पार्ने कार्य भएको भनी राजनीतिक रुपमा विश्लेषण गरिँदै आएको छ । यसैगरी आफ्नो स्वार्थका लागि जता पनि ढल्किन तयार रहेका प्रधानमन्त्री दाहालको चरित्रका कारण पनि हालको गठबन्धन कुनै पनि बेला टुट्न सक्ने भनी चर्चा चल्ने गरेको छ ।
राष्ट्रियसभामा १० जना सांसदको मात्र हैसियतमा खुम्चिएको एमालेले यही फागुन २९ गते हुने राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी नदिने अवस्था आएको बताइन्छ । एमालेले उम्मेदवारी नदिएर च्याँखे दाऊ राख्ने बताइएको छ । अध्यक्षका लागि माओवादी केन्द्र र कांग्रेसका बीचमा विवाद हुने तथा सोही विवादलाई बढाउन आफ्ना सांसदहरुको संख्या एमालेले प्रयोग गर्न सक्ने आंकलन पनि राजनीतिक विश्लेषक रामेश्वर ढकालले गरेका छन् । उनका अनुसार कांग्रेस र माओवादी केन्द्र दुवैलाई आफ्ना सांसदको संख्या देखाएर एमालेले गठबन्धनलाई टुटाउनका लागि प्रयास गर्न सक्ने अवस्था रहेको छ ।
विश्लेषक ढकाल भन्छन्, ‘उम्मेदवारी दिएर लज्जास्पद हार हुने अवस्थामा रहेको एमालेको ध्याउन्न भनेको सरकार ढाल्नु हो । यसका लागि आफ्ना सांसदलाई घरी यता घरी उता देखाउन खोज्ने अवस्था रहन्छ । त्यसैले गठबन्धनमा रहेका दलहरुले एमालेको दोहोरो खेललाई बुझेर गठबन्धनबाट एउटै उम्मेदवार बनाई एमालेलाई खेल्ने अवस्था नै दिन नहुनु उनीहरुका लागि उचित हुने देखिन्छ ।’
उता, उपनिर्वाचनको दिन जति नजिकिंदै आउँदैछ त्यति नै दलहरुमा छटपटि बढेको छ । आगामी उपनिर्वाचनमा सत्ता गठबन्धन कसरी जाने भन्ने कुराले महत्व राख्ने बताइन्छ । सत्ता गठबन्धन कायम राखी उम्मेदवार बनाइएको अवस्थामा धेरै स्थानमा नतिजा गठबन्धनको पक्षमा पार्न सकिने विश्लेषण गरिंदै आएको छ । यस्तो स्थितिमा गठबन्धनमा रहेका दलहरुको इमान्दारिताको परीक्षण फेरि पनि हुने अवस्था रहन्छ ।
यसैगरी प्रमुख प्रतिपक्षी दल एमाले पनि उपनिर्वाचन लक्षित गरी आफ्नो नीति बनाउने अवस्था रहन्छ । एमालेले सत्ता गठबन्धन कायम रही साझा उम्मेदवार गठबन्धनका तर्फबाट आएमा त्यसले आफ्नो उम्मेदवारलाई जित्नका लागि सकस पार्नसक्ने भनी भित्री रुपमा विश्लेषण गर्दै रहेको बताइन्छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत उम्मेदवार कसरी उठाउने वा कसलाई समर्थन गर्ने हुन् भनी अहिलेदेखि नै लेखाजोखा गरिंदै आएको अवस्था छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *