‘आनी छोइङ डोल्मा’ देखाउँदै निफ

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा ः नथिङ इम्पोसिबल’ लाई नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) ले आगामी फेस्टिभलको ‘ओपनिङ फिल्म’ रहने जानकारी दिएको छ । फेस्टिभलका अध्यक्ष के.पी. पाठकले जेनिफर लिन र सान बाई निर्देशित डकुमेन्ट्री महोत्सवको उद्घाटनसँगै देखाइने फिल्मको रुपमा रहने जानकारी दिएका छन् ।
आनीको सांगीतिक यात्रा, भिक्षु जीवन र समाजसेवालाई डकुमेन्ट्रीले प्रस्तुतिको विषय बनाएको छ । निर्देशक लिनले डकुमेन्ट्री आनीको स्वतन्त्रताको खोजीको रुपमा केन्द्रित रहेको बताएकी छिन् । हङकङको सिटी युनिभर्सिटीमा आम सञ्चारकी प्राध्यापक रहेकी लिनले आनीलाई सार्त वर्ष पछ्याएर यो डकुमेन्ट्री तयार गरेकी बताइएको छ । सन् २०१० मा गरिबीमा हुर्किएका बालिकाको शिक्षाको लागि आनीले स्थापना गरेको आर्यतारा स्कुलको भ्रमणपछि डकुमेन्ट्री बनाउने सोच पलाएको र यसको पाँच वर्षपछि काम थालेको लिनले जानकारी दिएकी छिन् ।
डकुमेन्ट्रीले गत साल वार्सा इन्टरनेसनल फिल्म फेस्टिभलमा एसियन प्यासिफिक अडियन्स अवार्ड र नेटप्याक अवार्ड जितेको थियो । डकुमेन्ट्री निफमा पनि माउन्ट एभरेस्ट अवार्डका लागि प्रतिस्पर्धामा रहेको छ । यो विधामा देश विदेशका १३ वटा डकुमेन्ट्री प्रतिस्पर्धामा रहेका जानकारी अध्यक्ष पाठकले दिएका छन् । विजेता चलचित्रले एक हजार अमेरिकी डलर नगद राशिको माउन्ट एभरेस्ट अवार्ड प्राप्त गर्नेछ ।
यसैबीच आगामी चैत १ देखि ५ गतेसम्म चल्ने चलचित्र महोत्सवमा यो वर्ष ४० देशका ८८ फिल्म प्रदर्शन हुने जनाइएको छ । प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनीसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तक्र्रियाका कार्यक्रम पनि आयोजना गरिने पनि जनाइएको छ । महोत्सवमा प्रदर्शनी हुने चलचित्र क्यूएफएक्स सिनेमाका शाखाहरु सिभिल मल, लबिम मल, भक्तपुर र छाया सेन्टरका हलमा प्रदर्शनी हुने गरी तयारी मिलाइएको जानकारी पनि अध्यक्ष पाठकले दिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *