तिलक प्रकाशका नयाँ कृति

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ उमेरले नब्बेको हाराहारीमा पुग्नुभएका साहित्यकार तिलक प्रकाशका दुई कृति हालै विमोचित भएका छन् । लेखनलाई नै जीवनसाथी बनाउँदै आएका तिलक प्रकाशको आत्मकथा ‘मेरो कथा मेरो व्यथा’ र उनका विभिन्न कृतिहरूका भूमिका समेटिएको पुस्तक एकै साथ विमोचित भएका हुन् ।
भक्तपुरमा तिशा ट्रस्टले आयोजना गरेको एक कार्यक्रमबीच लेखक तिलक प्रकाशका दुई कृतिहरू ‘मेरो कथा, मेरो व्यथा’ र ‘तिलक प्रकाशका कृतिहरूका भूमिका’ नामक दुई कृति विमोचन क्रमशः पूर्वसभामुख दमननाथ ढुङ्गाना र नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले गरेका थिए ।
पूर्वसभामुख ढुङ्गानाले नेपालको राजनीतिक क्षेत्रमा तिलक प्रकाशको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । उनले राजनीतिक रूपमा निष्ठावान् व्यक्ति भएर पनि छलछामको राजनीति गर्न नजान्दा तिलक प्रकाश पछि परेको उल्लेख गर्दै साहित्यिक कर्मले तिलक प्रकाशको छवि उच्च बनेको चर्चा गरे । उनले साहित्यकार तिलक प्रकाशको जीवनका साथै विभिन्न लेख र विचारहरूबाट वर्तमान राजनीतिक व्यक्तिहरूले पाठ सिक्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् साहित्यकार विमल निभाले लेखक तिलक प्रकाशको साहित्य उँचो रहेको बताए । उनले तिलक प्रकाशलाई राजनीतिले भन्दा साहित्यले परिचित बनाएको उल्लेख गर्दै उनको नवीनतम कृतिका साथै वीरग्रन्थ नामक पुस्तकबाट आफू ज्यादै प्रभावित भएको उल्लेख गरे ।
कार्यक्रममा लेखक एवम् चिन्तक ओमचरण अमात्यले लेखक तिलक प्रकाशको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै आफ्नो पुस्तकमार्फत जनाएको अभिव्यक्तिप्रति राजनीतिक दलहरू र नेपालीजन सचेत हुनुपर्ने जनाए ।
कार्यक्रममा सञ्चारकर्मी सन्जिव दुलाललाई तिशा इनले लेखनवृत्ति समेत प्रदान गरेको थियो । तिशा इनले हरेक वर्ष भक्तपुरको कला, साहित्य, संस्कृति, लेखन विधामा क्रियाशील व्यक्ति तथा सङ्घसंस्थालाई आर्थिक सहयोग गर्दै आइरहेको छ । सोही सिलसिलामा यस वर्ष पत्रकार दुलाललाई नगद पचास हजार पाँच रुपियाँ प्रदान गरिएको तिशा इनका सञ्चालक प्रशान्त कायस्थले बताए ।
कार्यक्रममा लेखक तिलक प्रकाशले आफूले जीवनमा भोगेका, अनुभव गरेका विषयहरूलाई समावेश गरी आत्मवृत्तान्त लेखेको बताए । कार्यक्रममा उनले सो पुस्तकका साथै अन्य पुस्तकहरू प्रकाशनमा सहयोग गर्ने अगिब बनेपानी र सुमि बनेपालीलाई सम्मान गरे ।
८९ वर्षीय लेखक एवं साहित्यकार तिलक प्रकाशका आठवटा नेपाल भाषाका र आठ वटै नेपाली भाषाका विभिन्न पुस्तकहरू प्रकाशन भई सकेका छन् । हालका दिनमा समेत दैनिक १८ घण्टा सम्म पुस्तकमा नै रमाउने कायस्थका प्रकाशित कृतिहरूमा योमरी उक्ति सङ्ग्रह, धनमाया लघु खण्डकाव्य, यौन ज्ञान मनोविज्ञान, नगःजः निबन्ध सङ्ग्रह, ख्ववि झसुका शोक काव्य, वयागु हाथ्या कथा सङ्ग्रह, उत्सर्ग कविता सङ्ग्रह, परिवार नियोजन के हो किन कसरी, यौन ज्ञान मनो विज्ञान, शारदा शोक काव्य, लक्ष्मण रेखा निबन्ध सङ्ग्रह, झुक्न नजानेको राष्ट्रवादी नेता बी.पी. कोइराला, वीर ग्रन्थ ६० सपूतहरूको गाथा लगायतका पुस्तक प्रकाशन भई सकेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *