दधि सापकोटाको ‘जीवगाथा’ सार्वजनिक

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ फ्रान्सलाई कर्मथलो बनाएका पत्रकार ददि सापकोटाले नयाँ कृति ‘जीवगाथाः गाँस, वास र सहवास’ पस्किएका छन् । यसअघि पन्छी जगत्, त्यो नेपाल, दुखेको युरोप र वनको वैभव प्रकाशन गरेका उनको यो पाँचौँ कृतिको रुपमा आएको हो ।
वातावरण, प्रकृति र जीवजन्तुका विषयमा चासो राख्ने लेखक एवम् पत्रकार सापकोटाको नयाँ कृतिलाई नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा वन्यजन्तुविद् राजेन्द्र सुवाल र लेखक स्वयम्ले पुस्तक लोकार्पण गरेका थिए । कार्यक्रममा सुवालले प्रकृति एवम् जीव जनावरसम्बन्धी पुस्तक कम लेखिएको र त्यसमा सापकोटाको ‘जीवगाथा’ विशेष रहेको बताए । जीव जनावरका आनीबानी र क्रियाकलाप सरल किसिमले लेखिएको यो पुस्तकको विशेष महत्व रहेको उनले बताएका छन् ।
चितवनको सौराहामा बसेर पथप्रदर्शक बन्दा आफू प्रकृतिका विविध पक्षसित मोहित भएको र त्यसले आफूलाई बिस्तारै जीव–जनावर आदिमा आकर्षित गरेको लेखक दधि सापकोटाले बताए । ‘धेरै वर्षअघि सौराहामै बसेर पर्यटकलाई प्रकृतिको रसास्वादन गराउँदै जाँदा मलाई थाहा भयो— कोटेरो चराको बिहे हुन निकै गाह्रो रहेछ । जाडो याम लाग्नासाथ भालेहरू हतारिएर उड्दै तराईतिरका अग्ला रूखमा बाघ काने टोपी जस्ता गुँड बनाउन हतार गर्दा रहेछन्,’ उनले ‘जसले सुन्दर, राम्रो, पानी ओत्ने, बचेरा हुर्काउन सजिलो हुने गुँड बनायो, पोथी उसैसित फकिने रहेछ । हतारिँदै निकै दिन लगाएर खाई नखाई बनाएको गुँड मन नपराइदिएपछि पोथीको मन जित्न भालेले फेरि अर्को गुँड देखाउने, गुँड बनाइसकेपछि त्यसको छतमा उभिएर प्यारी, मेरो गुँड हेर्न आइदेऊ न भन्दै बिलौना गर्ने आफ्नो भोगाइले देखेको सापकोटाले जानकारी दिए ।’ उनले ‘यति गर्दा पनि पोथीले मन नपराइदिएपछि भाले हेरेको हे¥यै हुन्छन् । पोथी जति अन्य सिपालु भालेले ओगटिसकेका हुन्छन् । त्यसैले कुनै कुनै भाले त्यो यामभरि पोथी नपाएरै जिल्ल पर्छन् ।’ भन्ने आफ्नो धारणा राखे ।
यस्ता विविध पक्षबाट आफू आकर्षित भएको र ती जानकारी पुस्तकमार्फत दिन ‘जीवगाथा’ लेखेको लेखक सापकोटाको भनाइ छ । ‘जुँगा–दाह्री चट्ट पार्ने, तेल घसेर कपाल लरक्क लर्काउने र स्त्रीलाई आकर्षित गर्ने स्वभाव चरा र अन्य जीवमा पनि हुने रहेछ,’ उनले भने, ‘मानव समाजमा जस्तै जीवजन्तुमा पनि बलात्कारीहरूले स्त्रीलाई दुःख दिने रहेछन् । तिनलाई तह लगाउने पहलमान पनि हुने रहेछन् । चोरी चकारी अनि लुकीचोरी माया प्रेम त जीवजन्तुले पनि गाँस्ने रहेछन् ।’
प्रकृतिका अनेक रहस्यमय पाटा खोज्दाखोज्दै, तिनको रसास्वादन गर्दागर्दै आफू यस पटक ‘जीवगाथा’ मा आइपुगेको उनले जानकारी दिए । ‘प्रकृतिका यस्तै रहस्यमय, कौतूहलपूर्ण विषयबारे ‘वनको वैभव’ पुस्तक लेखिसकेको मैले यस पटक थप जीवजन्तुका रोचक आनीबानी, कौतूहलपूर्ण व्यवहार र लुकेका पाटा समेटेर जीवगाथा पस्किएको छु,’ सापकोटाले भने, ‘मलाई विश्वास छ, यस पुस्तकले पनि पाठकलाई वन, जीवजन्तुको गाथा वा समग्रमा प्रकृतिका थप रहस्य खोतल्न मद्दत गर्नेछ ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *