अभिनेत्री छिरिङलाई गिनिज बुकको प्रमाणपत्र

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाइमा कोरियोग्राफीको रेकर्ड राख्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएकीे छिरिङ शेर्पालाई ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ को प्रमाणपत्र प्रदान गरिएको छ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले उक्त प्रमाणपत्र सोमबार हस्तान्तरण गरेका हुन् ।
छिरिङ र जगदीश गुरुङ (जेडी तमु) ले सन् २०२२ नोभेम्बर १७ मा पाँच हजार दुई सय ७८ मिटरको उचाइमा कोरियोग्राफी गर्दै ‘द हाइएस्ट एल्टिच्यूड कोरियोग्राफ्ड डान्स अन ल्याण्ड(पेयर)’ को रेकर्ड राखेका थिए । राष्ट्रपति पौडेलले शेर्पालाई सन् २०२४ को स्प्रिङ (अप्रिल–मे)मा सगरमाथासमेत आरोहण गर्न लागेकी भनी आरोहणको सफलताको शुभकामना पनि दिए ।
छिरिङले आफूले हिमाल आरोहणका क्रममा ज्यान गुमाएका शेर्पा समुदायप्रति समर्पित गर्दै सगरमाथा आरोहण गर्न लागेको बताइन् । छिरिङले पासाङ ल्हामु फाउण्डेसनबाट हिमाल आरोहणसम्बन्धी तालिम लिइसकेकी बताइन् । उनी ८ के एक्सिपिडिसनबाट ‘माइ भ्वाइस फर शेर्पा क्लाइम्बर्स’ नारासहित सगरमाथा आरोहण गर्न लागेकी बताइएको छ ।
दर्जन म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी उनी शेर्पा समुदायकी पहिलो अभिनेत्री पनि हुन् । ‘तिन्छेन फामा’ मा अभिनय गरेकी उनले फिल्म ‘कार्साङ’ मार्फत् नेपाली रजतपटमा डेब्यू गर्ने बताइएको छ । उनी टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार नेपाल सिजन २’ को विजेतासमेत हुन् ।
सो अवसरमा संघीय सांसद् एवं अर्थ समितिका सभापति सन्तोष चालिसे, बागमती प्रदेशका सांसद छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपकप्रसाद रिसाल, गोकर्णेश्वर नगरपालिकाका वडा नं.५ का वडाध्यक्ष नारायणप्रसाद सुवेदी, वडा ५ का सदस्य धर्मथिङ लामा, नेपाली कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारी र नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य प्रवीन घिमिरेलगायतको उपस्थिति थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *