प्रधानमन्त्रीको अस्थिरता विकासको वाधक

Nayabimarsha (Weekly Newspaper from Nepal)
सम्पादकीय

प्रधानमन्त्रीका रुपमा रहेका पुष्पकमल दाहालको अस्थिरताका कारण मुलुक झन् झन् अधोगतिमा लागेको छ । देशमा हुनुपर्ने विकास निर्माणका कार्यमा प्रधानमन्त्री दाहालको अस्थिर स्वभाव तथा सत्तासाझेदारमा परिवर्तन वाधकका रुपमा देखिएको छ । मुलुकको प्रधानमन्त्री जस्तो व्यक्ति आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त हुँदा मुलुकले सकारात्मक मार्ग समात्नुको साटो अधोगतिको मार्ग समात्न पुगेको अवस्था छ । हालको संविधानको अभिषापको रुपमा रहेको कुनै पनि एक दलको स्पष्ट बहुमतको सरकार बन्न नसक्ने खालको संवैधानिक व्यवस्थाका कारण मिलीजुली सरकार बनाउनुपर्ने अवस्थाको गलत प्रयोगमा स्वयम् प्रधानमन्त्री देखिनु मुलुकका लागि नै खेदजनक कार्य हो । पछिल्लो समयमा प्रधानमन्त्री दाहालले आप्mनो कुर्ची जोगाउने नाममा सरकारका साझेदारहरुमा परिवर्तन गरी नयाँ समीकरण बनाउनु मुलुकको लागि अहितकर देखिएको छ । फागुन २० गते अकस्मात प्रधानमन्त्री दाहालले भइरहेको सरकारका साझेदार दलहरुलाई थाहै नदिई अर्को समीकरण बनाएर आफू भने प्रधानमन्त्रीमा अकन्टक रहने प्रयास गरेका छन् । उनले सत्तामा रहेका अन्य दल खासगरी सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) लाई समेत थाहै नदिई सरकारका साझेदारहरुमा परिवर्तन गरिदिएका छन् ।
प्रधानमन्त्री हुनु भनेको कुनै पनि देशको जिम्मेदारी बहन गर्नु हो । प्रधानमन्त्री पदसँग जनताको आशा भरोसा तथा देशको भविष्य जोडिएको हुन्छ । कार्यकारी प्रधानमन्त्रीले चाहेमा धेरै कुरा गर्न सक्ने अवस्था रहन्छ । त्यसैले पनि प्रधानमन्त्रीका रुपमा रहेका दाहालबाट जनता तथा देशले धेरै नै आशा गरेको थियो । गत निर्वाचनमा गठबन्धन बनाएर गएका दलहरुका बीचबाटै बनेको सरकार भएकाले त्यसलाई जनअनुमोदित सरकारको रुपमा पनि हेरिएको थियो । यस्तो अवस्थामा रहँदा रहँदै कुनै सानोतिनो घटनाक्रमलाई आधार बनाएर प्रधानमन्त्री दाहालले सत्ताका लागि जस्तो मन लाग्यो त्यस्तो निर्णय लिने कार्य गरेका छन् । जनमतको कुनै वास्ता नगरी आफ्नो स्वार्थका लागि मात्र केन्द्रित रहेर जनताबाट प्रमुख प्रतिपक्षको भूमिकामा रहन अनुमोदित रहेको नेकपा (एमाले) लाई सरकारमा पु¥याउने दुष्कार्य दाहालले गरेका छन् ।
प्रधानमन्त्री पदमा रहेका व्यक्तिले आफ्नो भन्दा पनि जनताको भलाइलाई प्राथमिकतामा राख्नुपर्ने हो । साँच्चै भन्ने हो भने कतिपय अवस्थामा आफूलाई हानी पु¥याएर पनि देश र जनताको पक्षमा आफूलाई उभ्याउनु पर्ने हो । त्यस्तो गर्नु त कहाँ हो कहाँ उल्टो प्रधानमन्त्री भएकै कारण देशलाई बर्बादीमा पु¥याउने कार्यमा स्वयम् प्रधानमन्त्री देखिएका छन् । उनले आफ्नो कुर्ची जोगाउने वा पाँच वर्ष नै सरकारको नेतृत्व गर्नका लागि विभिन्न प्रपञ्च गर्नु मुलुक र जनतामाथिको बेइमानी हो । केन्द्रमा सत्ता साझेदारको परिवर्तनका कारण त्यसले केन्द्रमा मात्र नभई मुलुकका सबै प्रदेशका अतिरिक्त अन्य निकायहरुमा समेत असर पार्ने देखिएको छ । प्रधानमन्त्रीको लहडका कारण अब धेरै प्रदेशहरुमा समेत सरकार परिवर्तनका खेल शुरु हुने देखिन्छ । यसरी मन्त्रीहरुको परिवर्तनसँगै मुलुकले उनीहरुको सेवा सुविधाका लागि भनी करोडौं रकम स्वहा गर्नुपर्ने हुन्छ । यसैगरी प्रशासनिक क्षेत्रमा समेत विभिन्न किसिमका परिवर्तन तथा खिचातानी हुने देखिन्छ । सत्ता प्राप्ती र छोडाइको क्रममा देशमा विभिन्न किसिमका वैध अवैध खालका खेलहरु हुने देखिन्छ । यस्तो अवस्थाले देशको आर्थिक अवस्थालाई झनै कमजोर पार्ने कार्य गर्दछ । त्यसैले प्रधानमन्त्री दाहालले आफ्नो प्रवृत्तिमा सुधार गर्नु आवश्यक छ । प्रधानमन्त्रीले आफूलाई केन्द्रमा राखेर होइन कि जनता र देशलाई केन्द्रमा राखेर निर्णयहरु लिन सक्नुपर्दछ । यसका लागि सबैभन्दा पहिले प्रधानमन्त्री दाहालले नै आफूलाई सुधार्नु जरुरी देखिन्छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *