गोलचक्करमा सत्ता समीकरण : सरकार बचाउमा, कांग्रेस आक्रामक

Nayabimarsha (Weekly Newspaper from Nepal)

 

भक्तपुर/ फागुन २१ गते सत्ता समीकरणलाई अचानक परिवर्तन गरी नयाँ समीकरण बनाएका प्रधानमन्त्री पुष्पकमल दाहालका कारण सत्ता समीकरण गोलचक्करमा परेको छ । आफूखुशी जता पनि पल्टिने स्वभाव देखाएका कारण प्रधानमन्त्री दाहाल स्वयम् गोलचक्करमा फसेका छन् । सत्ता टिकाउनका लागि जे पनि गर्न तयार भन्ने खालको चरित्र देखाउँदै आएका प्रधानमन्त्री दाहाल सत्ता समीकरणमा रहेका दलहरुको आडमा हिंड्ने प्रयासमा देखिएका छन् । आफ्नो कुर्चीका लागि मुलुकलाई भाँडमा जाओस् भन्ने खालको सन्देश दिने आरोप लाग्दै आएका दाहाल पछिल्लो समयमा सत्ता समीकरणमा रहेका दलहरुको बचाउमा लागि परेका छन् । यसैगरी अनायास प्रमुख प्रतिपक्षमा पुगेको नेपाली कांग्रेस भने आक्रामक रुपमा प्रस्तुत भैरहेको छ । राजनीतिको नाममा हालको सत्ता समीकरणले लाजनीति अख्तियार गरेको भनी कांग्रेस आक्रामक रुपमा उभिएको हो । सत्ताबाट बाहिरिएको झोंक कांग्रेसले देखाएको भन्ने आरोप लाग्ने गरे पनि कांग्रेसले जिम्मेवार प्रमुख प्रतिपक्षको ढंगबाट आपूmलाई प्रस्तुत गर्दै गएको दाबी गर्दै आएको छ ।
व्यक्तिगत स्वार्थका लागि जे पनि गर्न तयार हुने चरित्र देखाउँदै आएका प्रधानमन्त्री दाहाल पछिल्लो समय सरकारको बचाउमा लागि परेका छन् । उनले सत्ता सञ्चालनको समयमा विवादमा परेका व्यक्तिहरुलाई मन्त्री बनाउने कार्यलाई निरन्तरता दिएको भनी उनको विरुद्धमा आवाज उठ्ने गरेको अवस्था छ । यस्तो अवस्थामा पनि उनले चेत्नुको साटो जबरजस्ती पेल्ने गरेको आरोप लाग्दै आएको छ । यसअघिको सरकार संचालनका समयमा पनि केही मन्त्रीहरु विवादमा परेका थिए । खासगरी तात्कालीन श्रम तथा यातायात मन्त्री प्रकाश ज्वाला, सुदन किराँती, मोहनबहादुर बस्नेत विवादमा परे पनि उनीहरुमाथि कुनै ‘एक्सन’ लिन नसकेको आरोप खेप्दै आएका दाहाल पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्री बनेका रवि लामिछानेको बचाउमा उभिएका छन् ।
दाहाललाई लामिछानेको संदिग्न चरित्र तथा विवादास्पद गतिविधिका कारण सरकारमा सामेल नगराउन दबाब परिरहेका बखत उनले संसदको अंक गणित पु¥याउनका लागि लामिछानेको साथ लिएका थिए । विभिन्न काण्डैकाण्डमा मुछिएका लामिछाने आफ्ना कर्तुतहरुलाई ढाकछोप गर्नका लागि गृहमन्त्री बनेको भनी आरोप लाग्दै आएको छ । नागरिकता, राहदानी काण्डका अतिरिक्त पछिल्लो समय सहकारीको ठगी काण्डमा समेत लामिछानेको नाम जोडिएको छ । यस्तो अवस्थामा उनीमाथि छानविन हुनुपर्नेमा त्यस विपरित उनलाई उपप्रधानसहितको गृहमन्त्री बनाइएको भनी प्रधानमन्त्री दाहालमाथि समेत धावा बोलिएको अवस्था छ ।
यस्तो वास्तविकतालाई लुकाउन प्रधानमन्त्री दाहाल नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको इसारामा लामिछानेको रक्षामा उभिएका भनी चौतर्फी आलोचना भैरहेको छ । दाहाललाई एमाले अध्यक्ष ओलीले विवादमा पार्नका लागि भनी लामिछानेको ढाकछोप गर्न लगाएको आरोप पनि लागेको छ । सत्ताका लागि मरिहत्ते गर्ने ओलीको स्वभावका कारण पनि वर्तमान राजनीति लाजनीतिमा परिणत भएको भनी चर्चा चल्ने गरेको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका दाहालको खैरो खन्दै आएका ओलीले आफ्नो गालीको कुुटिर उद्योग केही समयलाई बन्द गरी लामिछानेको ढाकछोपमा आफूलाई केन्द्रित गराएको बताइन्छ । उनले हालको अप्राकृतिक सरकारलाई जोगाउन तथा केही समयपछि प्रधानमन्त्री बन्ने आशामा दाहाललाई विवादमा पार्न चाहिरहेको पनि बताइन्छ । वर्तमान सरकारको टिकाउका लागि अंक गणितीय हिसाबमा राष्ट्रिय स्वतन्त्र पार्टीको २१ सिट निर्णाय देखिएको अवस्थामा लामिछानेलाई साथमै लिनुपर्ने दबाबमा दाहाल र ओली रहेका छन् ।
उता, ‘पल्टुराम’ को आरोप खेप्दै आएका प्रधानमन्त्री दाहालले सरकार टिकाउनका लागि लामिछानेको रक्षाकवज बनेको कुरालाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पचाउन सकेको छैन । लामिछानेको दल रास्वपालाई प्रजातान्त्रिक खेमामा रहेको दलको रुपमा हेर्न कांग्रेसले चाहेको थियो । त्यस्तो अवस्थामा कम्युनिष्ट नामधारीहरुलाई रास्वपाले साथ नदिने अपेक्षाविपरित लामिछाने दाहाल र ओलीको हनबेर्नुमा परिणत भएको कुरालाई कांग्रेसले पचाउन सकेको छैन ।
कांग्रेसले हालको नयाँ गठबन्धनलाई भत्काउन चाहिरहेको अवस्थामा लामिछानेको दल रास्वपा पर्खालको रुपमा उभिन पुगेको छ । रास्वपालाई सरकारबाट बाहिर राख्न सकेको अवस्थामा हालको नयाँ गठबन्धन स्वतः अल्पमतमा पर्ने अपेक्षासहित लामिछानेको हर्कतको पछि कांग्रेस लागेको चर्चा छ ।
कांग्रेसले लामिछानेलाई लक्षित गरी विरोधका कार्यक्रम संसदमा गरे पनि त्यसमा आधार भने रहेको बताइएको छ । विवादास्पद व्यक्तिका रुपमा रहेका लामिछानेलाई स्वार्थ बाझिने गरी गृहमन्त्रालयको जिम्मेदारी दिनु प्राकृतिक न्यायको सिद्धान्त विपरित रहेको बुझाइ आम रुपमा रहेको छ ।
उता, सरकारका मन्त्रीहरुको विरोध भैरहेको अवस्थामा कांग्रेसका सांसद समेत रहेका विनोद चौधरी जोडिएको जग्गा विवादलाई सरकारले अगाडि सारेको छ । सरकारी जग्गा हडपेको आरोप लागेको विवादमा चौधरीको परिवार तानिएको छ । चौधरीको विवादसँग कतिपयले लामिछानेको मुद्दालाई ‘बार्गेनिङ’ को रुपमा जोडेर हेर्ने गरेका छन् । राजनीतिक विश्लेषक रामेश्वर ढकाल भन्छन्, ‘रवि लामिछानेको विवादसँग जोडाएर कृष्णबहादुर महरामाथि अनुसन्धान थालिएको छ । अब महरामाथिको अनुसन्धानलाई ओझेलमा पार्न चौधरीमाथि अनुसन्धान थालिएको छ । उस्तै परे टोपबहादुर रायमाझीसमेतको कुरालाई एउटै भाँडोमा राखी सबै दलहरु तइँ चूप मै चूप गर्न सक्ने अवस्था नआउला भन्न सकिन्न ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *