शिक्षामा सुधार गरी विदेशिने वातावरण रोकौं

Nayabimarsha (Weekly Newspaper from Nepal)

शिक्षा र भ्रमणका लागि नेपालीले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा विदेशमा एक खर्ब चार अर्ब रुपियाँ खर्च गरेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार गत साउनदेखि माघ मसान्तसम्म नेपालीले विदेशमा उक्त परिमाण बराबर रकम खर्च गरेका हुन् । त्यसमध्ये ६६ अर्ब ६४ करोड रुपियाँ शिक्षामा खर्च भएको बैंकले जनाएको छ । गत वर्ष शिक्षामा उक्त सात महिनाको अवधिमा ४३ अर्ब रुपियाँ मात्र विदेशिएको बताइएको छ । त्यसबेला भ्रमण र शिक्षामा सात महिनामा मात्र ६९ अर्ब ८९ करोड रुपियाँ विदेशिएको बैंकले जनाएको छ । यसरी नेपालमा पर्यटकबाट हुने आम्दानी भने सात महिनामा ४५ अर्ब ४० करोड पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४४.५ प्रतिशत धेरै भने हो । त्यसबेला पर्यटकले ३१ अर्ब ४१ करोड रुपियाँ मात्र खर्च गरेका भनी तथ्यांक सार्वजनिक गरिएको छ ।
पर्यटकबाट हुने आय र नेपालीले विदेशमा भ्रमणको प्रयोजनमा गर्ने खर्चमा पनि समानताको अवस्था जस्तो देखिन थालेको छ । यो सात महिनामा नेपालबाट विदेश भ्रमण जानेले ३८ अर्ब रुपियाँ लगेको भनी तथ्यांक आएकाले पनि त्यस्तो स्थिति देखिएको हो । यसैगरी सेवातर्फ आयभन्दा व्यय बढी हुँदा सेवा खाता घाटामा रहेको पनि बैंकले जनाएको छ । सात महिनामा सेवा खाता ३७ अर्ब २६ करोड रुपियाँले घाटामा रहेको भनी बैंकले तथ्यांक सार्वजनिक गरेको छ । अघिल्लो वर्ष उक्त अवधिमा सेवा आय ४४ अर्ब ३६ करोड रुपियाँ घाटामा रहेको पनि बैंकले जनाएको छ ।
यसरी भ्रमणका लागि गरिएको खर्चलाई मानिसले आफ्नो आयस्तर बढेको अवस्था भनी सन्तोष मान्न सकिए पनि शिक्षातर्फको वैदेशिक खर्च भने सोचनीय देखिएको छ । कामदारका रुपमा विदेशिने नेपालीहरुको आँकडा हेर्दा नै अत्यासलाग्दो स्थिति रहेको अवस्था छ । त्यसमाथि शिक्षाका क्षेत्रमा समेत विद्यार्थीहरु पढ्न जानका लागि भनी पैसा लाने गर्नु नै नेपालको शिक्षानीतिमाथि नै प्रश्नचिन्ह उठाएको अवस्था छ । सरकारले आफ्नो देशमा गुणस्तरिय शिक्षाको व्यवस्था गर्न नसक्नुलाई यसको कारक तत्वको रुपमा मान्न सकिन्छ । यसैगरी विदेशमा गुणस्तरिय शिक्षा मिल्ने भन्ने कुरा नेपाली विद्यार्थीहरुको मनमा पस्नु तथा कतिपय अवस्थामा विद्यार्थी बनी गएर विदेशमै घरजम गर्ने अवस्था सिर्जना गर्ने मनस्थिति बन्नुले पनि यो संख्यामा बढोत्तरी भएको हो । यो तथ्यांकलाई हेरी नेपाल सरकारले जे जति विद्यार्थी विदेशमा गए गैहाले अब भने त्यसमा अंकुश लगाउने नीति लिनु उचित हुन्छ । यसका लागि नेपालमै गुणस्तरिय शिक्षाको व्यवस्था तथा रोजगारीको अवस्था सिर्जना गर्ने वातावरण बनाइनु पर्छ । यसका लागि सरकार आवश्यक कार्यहरु अहिलेदेखि नै गर्ने गर्नु उचित हुन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *