निकिता पनि सहकारी विवादमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल पनि सहकारीको विवादमा मुछिन पुगेकी छिन् । उनी निर्वतमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा काठमाडौं महानगरपालिकाले छापा मारेपछि उनको संलग्नताको विषय छानविनको दायरामा परेको बताइएको छ ।
लामो समयदेखि बचतकर्ताको उजुरीका आधारमा ‘रेकी’ गरिरहेको महानगरपालिकाको सहकारी विभागले उक्त सहकारीमा बुधबार छापा मारेको हो । काठमाडौंको बिजुलीबजारमा रहेको सहकारी कार्यालयबाट पछिल्लो साधारणसभाको उपस्थिति निर्णयसहित माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण ल्याई छानविन थालिएको महानगरपालिका स्रोतले जानकारी दिएको छ ।
यस्तै, धेरै ऋण लैजाने ऋणी, सञ्चालक समितिका सदस्यहरूको विवरण पनि टोलीले ल्याएको बताइएको छ । सहकारीको सफ्टवेयर सिस्टम पनि महानगरको टोलीले ल्याएपछि निकिता पौडेललगायतका पूर्व पदाधिकारीहरुसमेत तनावमा परेका बताइएको छ ।
महानगर सहकारी विभागमा उपाध्यक्ष पौडेल जमानी बसेर ऋण दिएको मान्छे नै भागेको भन्दै उजुरी परेको बताइएको छ । यसरी सञ्चालक समितिका तात्कालीन उपाध्यक्ष पौडेल र अर्का एकले ७० लाख रुपियाँ सहकारीबाट निकालेको बचतकर्ताको आरोप थियो । सहकारीले नयाँ सञ्चालक समिति चयन गरेको भए पनि संस्थाको पूर्वअध्यक्ष भरत जंगम र उपाध्यक्षमा निकिता पौडेल रहेका बताइएको छ ।
भरत जंगमभन्दा बाहेकको समूहले अर्को सहकारीलाई संस्थासँग मर्जर गरेको देखिएको महानगरले जनाएको छ । सोही समूहले पूर्वअध्यक्ष जंगमको हस्ताक्षर कीर्ते गरेर अन्तरसहकारी सापटी लिएको तर त्यो रकम सहकारीमा दाखिला नभई बाहिर नै कारोबार भएको जस्ता प्रमाण फेला परेको स्रोतको दाबी छ ।
त्यसो त गृहमन्त्री लामिछाने नै सहकारीको हिनामिना प्रकरणमा विवादमा छन् । लामिछाने विवादित रहेको अवस्थामा उनकी पत्नी पनि विवादमा आएपछि अन्य नेता, नेतृहरु पनि झस्किन पुगेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *