चौधरी अर्बपतिकै सूचीमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं÷ अमेरिकी पत्रिका फोब्र्सले विश्वका अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गर्दा नेपालका विनोद चौधरी फेरि पनि सूचीमा परेका छन् । नेपालका चौधरी अर्बपतिहरुको सूचीको एक हजार सात सय ६४ औँ स्थानमा रहेको भनी पत्रिकाले जनाएको छ ।
उक्त पत्रिकाका अनुसार सूचीको पहिलो स्थानमा बर्ना आर्नो रहेका छन् । यसैगरी एलन मस्क दोस्रो स्थानमा परेका छन् । नयाँ सूचीअनुसार विश्वमा अर्बपतिहरूको संख्या दुई हजार सात सय ८१ जना पुगेको छ । यसैगरी सर्वाधिक अर्बपति भएको देशका रूपमा पहिलो स्थानमा अमेरिका कायम रहेको छ । अमेरिकामा आठ सय १३ जना अर्बपति रहँदा चीनमा चार सय ७३ जना अर्बपति भएकाले दोस्रो स्थानमा चीन छ । तेस्रो स्थानमा भारत परेको छ । भारतमा अर्बपतिको संख्या दुई सय जना पुगेको बताइएको छ ।
गत मार्च ८ को शेयरमूल्य तथा विनिमयदरको आधारमा सम्पत्ति गणना गरिएको भनी पत्रिकाले जनाएको छ ।

राष्ट्रियसभामा रस्साकस्सी
भक्तपुर/ राष्ट्रियसभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै सत्तारुढ दलहरुमा सो पदका लागि रस्साकस्सी शुरु भएको छ । यही चैत २८ गते बुधबार निर्वाचन हुने गरी निर्वाचनको मिति तोकिएको अवस्थामा दलहरु पद हत्याउनका लागि लागिपरेका हुन् ।
यसअघि उपाध्यक्ष रहेकी उर्मिला अर्यालले चैत १५ गते राजीनामा दिएकी थिइन् । यसरी रिक्त रहेको उक्त पदमा पुग्नका लागि खासगरी नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) का बीचमा होड छ ।
प्रदेश सरकारमा भागबण्डा, उपनिर्वाचन, राष्ट्रियसभा उपाध्यक्ष कसले पाउने भन्ने विषयमा प्याकेजमै छलफल भएको तथा उपाध्यक्ष आफ्नो दलले पाउने भन्ने सहमतिमा दलहरु पुगेको दाबी एकीकृत समाजवादीले गर्दै आएको छ । राष्ट्रियसभाको अध्यक्षमा फागुन २९ गते माओवादी केन्द्रबाट नारायणप्रसाद दाहाल निर्वाचित हुने वातावरण बनाउने समयमा नै आफ्नो दलले पाउने सहमति भएको एकीकृत समाजवादीले दाबी गर्दै आएको छ ।
उता, ‘उपाध्यक्षमा एमालेको दाबी स्वाभाविक छ । उम्मेदवारको मनोनयन दर्ता हुने बेलासम्म एउटा निष्कर्षमा पुगिएला । यस विषयमा पार्टीले अहिले कुनै निर्णय गरेको छैन’ भनी एमालेका नेता राजेन्द्र गौतमले आफ्नो धारणा राखेका छन् ।
फागुन २१ गते प्रधानमन्त्री निवास बालुवाटारमा भएको आठ बुँदे सहमतिमा उपाध्यक्ष एमालेले पाउने उल्लेख थियो । गठबन्धनमा एकीकृत समाजवादी समेत जोडिएपछि २९ गते बालुवाटारमा भएको सात बुँदे सहमतिमा सो बुँदा हटाइएको थियो । प्रतिनिधिसभाका सभामुख एमालेबाट बनेका छन् । उपसभामुख रास्वपाले पाएको छ । राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्रले पाएको छ ।
सत्तारुढ दलहरुको बीचमा मतैक्यता हुन नसके पनि प्रमुख प्रतिपक्षी दलको रुपमा पुगेको नेपाली कांग्रेसले भने आफ्नो उम्मेदवार उठाउने बताइएको छ ।
राष्ट्रिय सभामा माओवादी केन्द्रको अध्यक्षसहित १८, एमालेको १०, एकीकृत समाजवादीको आठ, जसपाको तीन र मनोनीत एक गरी जम्मा ४० सिट हालको सत्ता समीकरणमा रहेका दलहरुका बीचमा रहेको छ । यसैगरी विपक्षमा कांग्रेसको १६, लोसपा र राष्ट्रिय जनमोर्चाको एक÷एक गरी जम्मा १८ सांसद छन् । ५९ सदस्यीय रहेको राष्ट्रियसभामा एक जना राष्ट्रपतिबाट मनोनीत हुन बाँकी छ ।
यसरी पदप्राप्तीका लागि तँछाडमछाडको अवस्थामा पुगेका दलहरुका गतिविधिका कारण दलीय व्यवस्थाप्रति नै वितृष्णा जाग्न थालेको बताइन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *