जर्मनीमा रन्जुको चित्रकला प्रदर्शनी

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्टमा शनिबार सम्पन्न भएको छ । आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि राष्ट्रिय ललितकला पुरस्कार विजेता यादव अहिले ३३ दिवसीय युरोप कला यात्रामा छिन् । उनले युरोपका जम्मा चारवटा देशको भ्रमण गरी एकल चित्रकला प्रदर्शनी गर्ने कार्यक्रम छ ।
नेपाली समाज जर्मनीले फ्र्यान्कफर्टमा आयोजित नेपाल डेको अवसरमा एकल चित्रकला प्रदर्शनी आयोजना गर्न चित्रकार यादवलाई नेपालबाट आमन्त्रण गरेको थियो । नेपाली समाजले प्रत्येक वर्ष अप्रिल २० तारिखमा नेपाल डे मनाउँदै आएको छ । त्यस अवसरमा यादवका २४ वटा चित्रहरु प्रदर्शनीमा राखिएको बताइएको छ ।
कार्यक्रममा चित्रकार यादवले नेपालमा मिथिला कलाको विकास, आफ्नो कला यात्रा र समाज रुपान्तरणमा आफ्ना चित्रहरुको प्रभावबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् । सो अवसरमा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले चित्रकार यादवको चित्रकला प्रदर्शनीले नेपाली कला संस्कृतिको जर्मनीमा प्रवद्र्धन हुने र यसले फ्र्यान्कफर्टजस्तो अन्तर्राष्ट्रिय शहरमा नेपालको सांस्कृतिक कूटनीतिमा सघाउ पुग्ने विचार व्यक्त गरे ।
नेपाली समाजका अध्यक्ष शिव अधिकारीका अनुसार जर्मनीका विभिन्न शहरबाट आएका करिब दुई सय ५० जना नेपाली र जर्मन नागरिक कार्यक्रममा सहभागी थिए । त्यस अवसरमा राजदूत खड्का, चित्रकार यादव, फ्र्यान्कफर्ट शहरका मेयर कार्यालयका प्रमुखलगायतका विशिष्ट व्यक्तिहरुलाई उपस्थितिका लागि धन्यवाद दिइएको थियो ।
नेपाल डेको अवसरमा नेपाल, युक्रेन र भियतनामका कलाकारहरुले गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए । एक जना बलिउड कलाकारले एउटा नेपाली गीतमाथि आफ्नो प्रस्तुति दिएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *