१० करोड ‘अवैध’ कारोबार !

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ हुण्डी कारोबारको आरोपमा नौ लाख रुपियाँसहित पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान गर्दा १० करोड रुपियाँ बराबरको ‘अवैध’ कारोबार गरेको खुलेको छ ।
२४ वर्षीय पीयूष खेतानलाई पक्राउ गरेर अनुसन्धान गर्दा त्यस्तो अवस्था खुल्न आएको हो । पछिल्लो एक वर्षमा मात्रै उनले रु.१० करोडको ‘अवैध’ कारोबार गरेको भनी प्रहरीले दाबी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले हुण्डी कारोबार गरेको सूचनाका आधारमा यही बैशाख ३ गते खेतानलाई काठमाडौंमा पक्राउ गरेको थियो । धनुषाको धनुषाधाम गाउँपालिका–५ घर भएका उनी काठमाडौं महानगरपालिका–१३ ताहचलमा पसल संचालन गर्दै आएका थिए । रन्जना कम्प्लेक्सको तेस्रो तलामा फेसन पेसन स्टोर नामक कपडा पसल सञ्चालन गर्दै आएका खेतान नौ लाखसहित पक्राउ परेका थिए ।
उनका साथबाट २३ पन्ना क्रिप्टो करेन्सीको विवरण समेत प्रहरीले फेला पारेको थियो । अध्ययनका लागि एक वर्षअघि भारतमा रहँदा क्रिप्टो करेन्सीबारे जानकारी पाएर कारोबार शुरु गरेको खेतानले बताएका भनी प्रहरीले जानकारी दिएको छ ।
भारतमा रहँदा बिक्की महतो भन्ने साथीले आफूलाई क्रिप्टो करेन्सीबारे सिकाएको उनको दाबी छ । पछिल्लो एक वर्षदेखि नेपाल र भारतमा रकम आवश्यक पर्ने मानिसहरुलाई रकम दिने–लिने काम समेत गरेको उनले स्वीकारेको बताइएको छ । अनुसन्धान सकेर सरकारी वकिल कार्यालय काठमाडौंमा पठाइएको प्रतिवेदन अनुसार हुण्डीको रकम लिन–दिनका लागि विभिन्न कोडहरु प्रयोग गरेर खेतानले काम गरेको समेत उल्लेख छ ।
क्रिप्टोको अवैध कारोबार देखिएपछि उनलाई मुलुकी फौजदारी अपराध संहिता, २०७४ को दफा २६२ अन्तर्गतको कसूरमा मुद्दा चलाइएको बताइएको छ । उक्त दफा अनुसार रोक लगाइएको मुद्रा चलन चल्तीमा ल्याउन नहुने उल्लेख छ । प्रतिबन्ध लगाइएको मुद्रा चलन चल्तीमा ल्याइएमा एक वर्षसम्म कैद वा १० हजार रुपियाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था उल्लेख छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *