काँग्रेसका चुनावी कमाण्डर फेरी पनि असफल

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ गत बैशाख १५ गते भएको इलाम–२ र बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा नेकपा (एमाले) का सुहाङ नेम्वाङ र दमनबहादुर भण्डारी विजयी भएका छन् ।
इलाम–२ मा एमालेका उम्मेदवार नेम्वाङले काँग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले भन्दा बढी पाँच हजार आठ सय ३० मतान्तरले हराएका थिए । यसैगरी बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारीले काँग्रेसका अभिषेकबहादुर सिंहलाई दुई सय ६७ मतको झिनो अन्तरले हराई विजयी भएका छन् । इलाम–२ र बझाङ प्रदेशसभा–१ मा एमालेले जितेपछि एमाले भने उत्साहित बनेको छ ।
यी दुबै क्षेत्रमा काँग्रेसले चुनावी कमाण्डर खटाएको थियो । इलाम–२ मा काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा खटिएका थिए भने बझाङमा प्रदेशसभा–१ मा काँग्रेस नेता नारायण प्रकाश (एन.पी.) साउद कमाण्डर खटिएका थिए । ‘दिनभरी करायो दक्षिणा नै हरायो’ भने झैं उपचुनावमा पराजय हात लागेपछि कमाण्डरहरु ङिच्च परेर फर्किएका छन् ।
इलाम – २ मा उखरमाउलो भाषण बाहेक जनतालाई आकर्षित गर्ने कुनै योजना नभएकाले मतदाताले आँसु र पीडालाई रोजेको चर्चा चलेको छ । गत २०८० बैशाख १० गते चितवन र तनहुँ–१ मा भएको उपनिर्वाचनमा पनि महामन्त्रीद्वय लगायतका काँग्रेसका मन्त्री र नेताहरुको लर्को लागेको थियो ।
बझाङ्ग प्रदेश–१ मा कसरत नपुगेको जानकारहरुले बताएका छन् । साउदसँगै अन्य केन्द्रीय नेताहरु पनि गएको भए चुनावी परिणाम काँग्रेसको पक्षमा पर्न सक्ने अहिले चर्चा चलेको छ । काँग्रेसका नेता पूर्णबहादुर खड्का र रमेश लेखक त्यस क्षेत्रका प्रतिष्ठित नेता मानिन्छन् । लेखक नगए पनि ख
ड्का जानुपर्दथ्यो भन्ने चर्चा हुने गरेको छ ।
गठबन्धन गरी एक्लै चुनाव लड्नुपर्ने महामन्त्री थापाको उद्घोषलाई इलाम–२ को उपनिर्वाचनले गतिलो झापड हानेको छ । कांग्रेस सभापति गठबन्धनकै पक्षमा दृढ रहँदै आएका छन् । यतिबेला चिया पसल वा चौतारोमा महामन्त्रीद्वय जहाँ जान्छन्, त्यहाँ काँग्रेसले चुनाव हार्छ भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । यस्को अन्तर्य पत्ता लगाई महामन्त्रीद्वयले मिसन ०८४ मा चमत्कार गर्नुपर्ने जानकारहरुले बताएका छन् ।
एक्ला एक्लै चुनाव लड्दा २०८४ मा काँग्रेसको धरौटी खुस्कने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *