सत्ताकालागि ‘कम्युनिष्ट’ को मरिहत्ते :प्रदेश अस्तव्यस्त,  गठबन्धनमै धमिरा

Nayabimarsha (Weekly Newspaper from Nepal)
मुख्य समाचार

भक्तपुर/ नेपालमा रहेका र आफूलाई कम्युनिष्ट भन्न रुचाउने दलहरुमा सत्तालिप्सा चरमोत्कर्षमा पुगेको चर्चा चल्न थालेको छ । विश्वका कम्युनिष्टको परिचय विपरित नेपालमा ‘कम्युनिष्ट’ का नाममा सत्तामोहले प्राथमिकता पाएको बताइन थालेको छ । केन्द्रीय सरकारदेखि प्रदेशस्तरका सरकार गठन–विघटनमा ‘कम्युनिष्ट’ नामधारीहरुले सत्ताकालागि देखाएको मोह र हर्कत लाजमर्दो स्तरमा देखा परेको राजनीतिक वृत्तमा चर्चा चल्न थालेको छ । केन्द्रीय सरकारको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गरेका छन् । प्रधानमन्त्रीमा विराजमान उनको शैली र गतिविधिलाई नियाल्नेहरुले सरकार नै संविधानको धज्जी उडाउने कार्यमा क्रियाशील रहेको भन्नेसम्मका टिप्पणी हुन थालेका छन् । सरकार जोगाउने वा आफ्नो कुर्ची बचाउने नाममा केन्द्रमा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) नामका ‘कम्युनिष्ट’ नामधारी दलहरुको गतिविधिलाई हेर्नेहरुले ‘कम्युनिष्ट’ होइनन् कि उनीहरु त ‘कमाउनिष्ट’ पो हुन् त भन्नेसम्मको आरोप लगाउने अवस्था आएको छ ।
सत्ताकालागि जस्तोसुकै कर्म गर्न पछि नपर्ने छवि प्रधानमन्त्री दाहालले बनाएका छन् । प्रधानमन्त्रीको कुर्चीलाई प्राथमिकतामा राखेका उनले डेढ वर्ष पनि नबित्दा तीनवटा सत्तासमीकरण बनाई आफ्नो ढुल्मुले चरित्रलाई झनै उजागर गरेको बताइन्छ । गत निर्वाचनअघि नेपाली कांगे्रस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपालसँग गठबन्धन गरेको माओवादी केन्द्रले ती दलकै गठबन्धन बनाई पहिलो सरकार बनाउनुपर्नेमा प्रधानमन्त्री पद तत्कालै नपाउने अवस्थामा एमालेसँग मिलेर दाहालले सरकार बनाएका थिए ।
त्यसरी जनमत विपरित सरकार बनाएको केही महिना नपुग्दै उनले एमालेको साथ छोडी निर्वाचनअघिकै कांगे्रससहितको गठबन्धन गरी सरकार बनाउन पुगे । त्यसको केही महिना नबित्दै उनले फेरि एमालेसहितको गठबन्धन बनाई सरकार चलाई रहेका छन् । यसरी सरकार चलाउने नाममा सरकारबाट नै कानूनको उल्लंघन हुने घटनाहरु बाहिर आइरहेका छन् । संविधानको खिल्ली उडाई प्रदेश सरकारको परिवर्तनका खेलहरु भैरहेका आरोप सरकारसँग लागि रहेको छ ।
‘कम्युनिष्ट’ को विश्वव्यापी मान्यता सर्वहारा वर्गको पक्षमा रहनु हो । यसैगरी मजदुर, किसान, श्रमिक वर्गका लागि कम्युनिष्टहरुले आवाज उठाउने तथा उनीहरुको पक्षमा कम्युनिष्टहरु रहने विश्वव्यापी मान्यता विपरितको अवस्थामा नेपालका ‘कम्युनिष्ट’ नेताहरुको चरित्र देखा परिरहेको छ । उनीहरु ती वर्गकालागि भन्दा पनि मालिकहरुको पक्षमा आफूलाई देखाउने कर्ममा लागिपरेको बताइन्छ ।
यसैगरी अधिकांश कम्युनिष्ट नामधारी नेताहरु स्वयम् नै विभिन्न नाजायक कर्म, तस्करी जस्ता कार्यहरुमा जोडिँदै आएका छन् । सरकारमा पुगेका नेताहरुले जनताको पक्षमा कार्य नगरेको आरोप ‘कम्युनिष्ट’ नामधारी नेताहरुमाथि लाग्ने गरेको छ । अधिकांशको ध्याउन्न कसरी कमाउने, कसरी रमाउने भन्ने कुरामा केन्द्रित भैरहेको घटनाक्रमहरुले पुष्टी गर्दै लगेको अवस्था छ । उनीहरु विभिन्न कुकर्ममा समेत जोडिन पुगेका छन् । सत्ताप्राप्ती जनताको लागि नभई आफू र आफ्ना आसेपासेलाई पोस्नकालागि मात्र हो भन्ने कुरा उनीहरुको कर्मले स्थापित गर्दै लगेको बताइन्छ ।
केन्द्रमा प्रधानमन्त्री बन्नका लागि ‘कम्युनिष्ट’ भनाउँदा नेताहरुको हानाथाप अवस्था देखिएको छ । प्रधानमन्त्री दाहाल कसरी आफ्नो कुर्ची टिकाउन सकिएला भन्ने ‘बकुल्ला ध्यान’ मा छन् । एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली पनि कसरी फेरि प्रधानमन्त्री बन्न सकिएला भनी सोचमग्न अवस्थामा छन् । उनले पनि ‘कम्युनिष्ट’ कर्मलाई तिलाञ्जलि दिएर राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई जोगाउन ‘नाङ्गो नाच’ देखाउने गरेको कुरा विवादित रहेको भनी समाचार स्रोतले उल्लेख गरेको छ ।
उनले लामिछानेको बचाउ गर्नुमा आफू प्रधानमन्त्री बन्ने अवसर जुटाउनका लागि लामिछानेको दलको सिट संख्या अनुकुल हुने ठानिरहेको बताइन्छ । लामिछानेलाई नचिढ्याउँदा आफू कुनै पनि बेला प्रधानमन्त्री बन्ने सोचमा ओली रहेको बताइन्छ ।
उता, ‘कम्युनिष्ट’ को फुर्को भिरेर १० सिटमा सीमित रहेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पनि ‘कम्युनिष्ट’ नीति बाहिर बसी प्रधानमन्त्री कसरी बन्ने भन्ने रोगले ग्रस्त रहेको आरोप लाग्दै आएको छ । उनी हालको सत्ता गठबन्धनमा रहेर पनि गठबन्धनको विकल्पमा लागिपरिरहेका छन् । उनी एमालेका अध्यक्ष ओलीको पेलान्मा आफू परेको ठानी ओलीलाई ठेगान लगाउने गरी क्रियाशील भैरहेको अवस्थामा ओली र दाहालको पहलमा सत्तारुढ दल जसपा नेपालमा विभाजन हुन पुगेको चर्चा छ । नेता नेपालले आफ्नो दलसँगै जसपा नेपाललाई पनि हालको गठबन्धनबाट बाहिर निकाली आफू प्रधानमन्त्री बन्ने खेलमा लागेका थिए । उनले कांग्रेसको सहयोगमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समेत प्रधानमन्त्री बन्ने वातावरण बनाउने गरी गतिविधि गरेको आरोप लाग्न थालेको थियो ।
यस्तो अवस्थामा नेपाल र यादवलाई ठेगान लगाउने गरी जसपा नेपालमा विभाजन गराउने कार्य भएको छ । सरकारमै रहेर सरकारमा रहेका दलहरुमा विभाजन ल्याउने हास्यास्पद कर्म अहिले भैरहेको चर्चा चलेको छ । उस्तै परे १० सिट भएको एकीकृत समाजवादीलाई समेत टुक्य्राउने खेलमा ओली र दाहाल लाग्ने समाचार स्रोतको दाबी छ । यी दुवै दलमा विभाजन ल्याउँदा विभाजित दलको समर्थनमा पनि सरकार टिक्न सक्ने र अर्को सरकार बन्न नसक्ने अवस्था बनाउनका लागि दाहाल र ओली लागिपरेको स्रोतको दाबी छ । यस्तो अवस्थामा सत्तारुढ गठबन्धनमा नै अविश्वासको अवस्था रहेको बताइएको छ ।
उता, केन्द्रमा गठबन्धन परिवर्तन भएमा प्रदेशमा पनि परिवर्तन गर्नैपर्ने मान्यतालाई स्थापित गराउने प्रयास भैरहेको छ । केन्द्र र प्रदेशको आ–आफ्नै हैसियत हुन्छ र हुन दिनुपर्छ भन्ने मान्यता विपरित प्रदेशलाई केन्द्रको पुच्छर बनाउने कार्य भैरहेको छ । यसरी केन्द्रको गठबन्धन अनुसारको सरकार बनाउने नाममा प्रदेशमा संविधानको खिल्ली उडाउने कार्यहरु भैरहेका छन् । प्रदेशमा प्रदेश प्रमुखले विवादित कार्यहरु गरिदिँदा त्यसको कानूनी उपचार खोज्ने भन्दै अदालतको ढोका ढक्ढक्याउने कार्य भैरहेका छन् ।
गण्डकी प्रदेशमा सभामुखले आफ्नो समेत मत गणना गरेर सरकार टिकाउने विवादित प्रयास गरेका छन् । संविधानको अपव्याख्या गर्दै उनले सभामुखको भूमिकामाथि नै प्रश्न उठ्ने गरी कार्य गरेका भनी उक्त विवादले अदालतमा प्रवेश पाएको छ । यसैगरी कोशी प्रदेशमा पनि विस्थापित गर्न नमिल्ने सरकारलाई बलमिच्याइँ गरी फाल्ने प्रयास भैरहेको छ । केन्द्रको निर्देशनमा कोशी प्रदेशमा उपधारा ५ अनुुसार बनेको सरकारका विरुद्धमा दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने तथा विश्वासको मत एक पटक पाइसकेपछि फेरि लिनु नपर्ने भन्ने कुराको खिल्ली उडाउने कार्य भएको छ ।
त्यहाँ एमाले र माओवादी केन्द्रका सांसदहरुले आफूखुश ि‘संकल्प प्रस्ताव’ पारित गरी केदार कार्की नेतृत्वको सरकार अल्पमतमा परेको जिकिर लिएका थिए । त्यसैको आधारमा प्रदेश प्रमुखले सोही उपधाराको आधारमा नयाँ सरकार गठनका लागि शुक्रबार ५ बजेसम्मका लागि भनी बुधबार राति साढे १० बजे आह्वान गरेका थिए । उनको अभीष्ट एमालेका नेता हिक्मतबहादुर कार्कीको नेतृत्वमा सरकार बनाउने नै रहेको स्पष्ट भएकाले त्यसलाई चुनौती दिने तयारी केदार कार्कीले गरेका छन् ।
हालको सत्ता गठबन्धनमा रहेका दलहरुकै बीचमा विमति देखिएको अवस्था छ । उनीहरुका बीचमा एकअर्कालाई शंका गरेर बस्नु परेको अवस्था जगजाहेर हुन थालेको छ । वर्तमान सरकारमै धमिराहरु क्रियाशील रहेको चर्चा चल्न थालेको छ । सरकारमै रहेर माधवकुमार नेपाल र उपेन्द्र यादवले प्रधानमन्त्री बन्ने लालसामा गठबन्धनको मर्म विपरितको कार्य गरेको बताइन्छ ।
यसैगरी सरकारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सरकारको दुरुपयोग गरी अरुलाई समेत लज्जित हुने अवस्था सिर्जना गरिरहेको आरोप लाग्दै आएको छ । लामिछानेले महान्यायाधीवक्ताको कार्यालयमा दबाब दिएर एउटा पत्र लिई आफूलाई सहकारी मुद्दामा ‘क्लिन चिट’ दिएको भन्नेसम्मको कार्य गरेका छन् । उनले पदमा बसेर आफूविरुद्धका प्रमाणहरु मेटाउने खतरा एकातिर कायमै राखेका छन् भने आफूविरुद्ध हुने गरी कुनै पनि गतिविधि गरिएमा आफूले ‘राजीनामा’ दिने भनी दाहाल र ओलीलाई घुर्की लगाउने कार्य गर्दै आएका छन् ।
लामिछानेको घुर्की, नेपाल र यादवको गठबन्धन विरोधी कार्य तथा दाहाल र ओलीको कुर्ची मोहले सत्तारुढ दलहरुमा समेत विभाजन गराउने खालका गतिविधिले सरकारमा रहेका दलहरुका बीचमा अविश्वास रहेको देखिएको छ । उनीहरु ‘जोगी देख्दा भैंसी तर्सिने, भैंसी देख्दा जोगी तर्सिने’ को अवस्थामा पुगेका बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *