भौतिक मन्त्री महासेठसँग सबै रुष्ठ

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग सांसद तथा मन्त्रालयका कर्मचारीहरु रुष्ट बनेका छन् । आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी हुँदा पनि लागेको बानी असारे विकास भित्र्याउन नदिएर सडक विभागको महानिर्देशक परिवर्तन गरेका छन् ।
नवनियुक्त महानिर्देशक रामहरि पोखरेलले मन्त्रीपत्नी एवं सांसद जुली महतोलाई प्रभावमा पारेर विभागको महानिर्देशक बनेको जानकारहरुले बताएका छन् । आर्थिक वर्ष २०८१÷८२ को बजेट कार्यान्वयन गराउन मन्त्रालयका सचिव र विभागको महानिर्देशक परिवर्तन गरेको व्यापक चर्चा चलेको छ । मन्त्री महासेठले महानिर्देशकसहित अन्य केही प्राविधिक सहसचिवहरु (सुई) को पनि सरुवा गरेका छन् ।
कतिपयले एमालेकै मन्त्री महासेठले एमालेमै आस्था राख्ने सुईहरुलाई कैची चलाएको बताएका छन् । यसपालिको बजेटमा मन्त्री महासेठले धनुषा ४ लाई बढी प्राथमिकतामा राखेपछि बजेट विनियोजन असमान भएको भन्दै सांसदहरु रुष्ठ बन्न पुगेका छन् । मन्त्रालयको बजेट माथिको छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका झापाबाट निर्वाचित सांसद एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र
लिङ्देनले प्रतिनिधिसभाको रोष्ट्रममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका थिए ।
त्यसैगरी सांसद ज्ञानेन्द्रबहादुर शाहीले मन्त्री महासेठलाई तपाई मन्त्री कि धनुषाको भन्दै कटाक्ष गरेका थिए । काँग्रेस सांसद हृदयराम थानीले कर्णालीमा सडकको बजेट अत्यन्त न्यून भएको भन्दै सांसद भवन घेर्ने चेतावनी दिएका थिए । आ.ब. २०८१÷८२ को बजेट प्रधानमन्त्री पुष्पकमल दाहाल (चितवन), एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली (झापा), अर्थमन्त्री वर्षमान पुन (रोल्पा), भौतिकमन्त्री रघुवीर महासेठ (धनुषा) र शहरी विकास मन्त्री धनबहादुर बुढा (डोल्पा) ले बढी पारेको आरोप लागेको छ ।
भौतिक मन्त्रालयमा मन्त्री बन्नेको जिल्लामा बढी बजेट राख्ने चलन पुरानै हो । गत वर्षको बजेटमा पनि तात्कालिन भौतिकमन्त्री प्रकाश ज्वालालाई पनि बढी बजेट पारेको आरोप लागेको थियो । हालका भौतिक पूर्वाधार मन्त्री महासेठ मधेश प्रदेशबाट एमालेको स्थापित नेता र धनुषा–४ बाट राजनीतिमा निरन्तर सांसदमा निर्वाचित हुने रणनीतिमा लागेको समाचार श्रोतले जानकारी दिएको छ ।
यता, मन्त्री महासेठलाई शक्ति र पदको दुरूपयोग गरी बजेटमा ब्रम्हलुट गरी दादागिरी चलाएको आरोप सत्तापक्षका सांसद र अन्य सांसदहरूले लगाएपछि मन्त्री महासेठ सकसमा परेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *