नेकपा एसमा तीन नेता आमुन्ने सामुन्ने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ तीन वर्षअघि नेकपा (एमाले) बाट छुट्टिएर नेकपा (एकीकृत समाजवादी) बनेको दललाई यतिबेला महाधिवेशनको चटारोले छोएको छ ।
सत्ताको दाम्लोमा बाँधिएर बेलाबखत असन्तुष्टि पोख्ने गरेको नेकपा एसको महाधिवेशन यही असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने भएको छ । एसमा अध्यक्ष माधवकुमार नेपाल पुन दोहोरिने योजनामा छन् भने सम्मानित नेता झलनाथ खनाल नेतृत्व हस्तान्तरणको पक्षमा र महासचिव घनश्याम भुषाल पुस्तान्तरणको बहसमा आ–आफ्नै रणनीति बनाएर मैदानमा उत्रिएका छन् ।
नेकपा एसमा हाल डेढ लाख सदस्य, संघीय सांसद प्रतिनिधिसभामा १०, राष्ट्रियसभामा आठजना छन् । यसैगरी प्रदेशसभामा २४ सांसद रहेका तथा स्थानीय तह प्रमुख २० र उपप्रमुख २२ जना रहेको समाचार श्रोतले जानकारी दिएको छ । नेकपा एसका संघीय सांसद १० जनामध्ये नेपाल पक्षमा पाँचजना र खनाल पक्षमा पाँचजना भएपछि गुटको विवाद बल्झिएको जानकारहरुले बताएका छन् ।
अध्यक्ष पदका दावेदार तीनैजना सहमतिको पक्षमा भए पनि तीनैजनाले आफ्नो पक्षमा सहमति होस् भन्ने कुरामा जोड दिएका छन् । सहमति हुन नसके खनाल र भुषालको एउटा समूह बन्ने र नेपाललाई नेतृत्वबाट पाखा लगाउने रणनीतिमा जुटेका छन् ।
महाधिवेशनले नेपाल खनाल जसलाई अध्यक्ष बनाए पनि जनतामा नेकपा एसप्रति विश्वास जाग्न सकेको छैन । जनतामा आशा र भरोसा नभएको दलको रुपमा रहेको नेकपा एस १० औं महाधिवेशनबाट स्थापित होला र भन्ने राजनीतिक वृत्तमा चर्चा चलेको छ । नेपाल र खनाल दुबै नेतृत्वमा पुगेर संगठन निर्माण गर्नभन्दा सत्ता स्वार्थमा लिप्त भएको जानकारहरुले बताएका छन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *