आईजीपी बन्ने चक्करमा ज्ञवाली र ढकाल

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ यतिबेला प्रहरी महानिरीक्षक परिवर्तन हुने चर्चा व्यापक रुपमा चलेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले परिवर्तन नहुने स्पष्टीकरण दिएका छन् । वर्तमान प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर चेन आफ कमाण्डमा अक्षम बनी शान्ति सुरक्षा कायम गर्न असफल भएको तथा गृहमन्त्री रवि लामिछानेको रक्षा कवजमा लागी चाकडीमा मात्र कृयाशील रहेको आरोप लागिरहेको बेला उनैलाई परिवर्तन गरिने हल्ला चलेको समाचार स्रोतले बताएको छ ।
यही मौकामा चौका हान्न अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) द्वय श्यामलाल ज्ञवाली र भीमप्रसाद ढकाल लिगलिगे दौडमा लागेको चर्चा चलेको छ । एआइजी ज्ञवाली पूर्वआइजीपी ठाकुर ज्ञवालीका भाइ हुन् । एमाले निकटको आरोप लागेका ज्ञवालीलाई नागरिकताको जन्म मिति विवादको आरोप लागेको छ । ज्ञवालीको जन्म मिति नागरिकतामा २०२४ चैत २१ र शैक्षिक प्रमाणपत्रमा २०२५ भदौ २६ उल्लेख गरिएको समाचार स्रोतको दाबी छ ।
ज्ञवालीको नागरिकता सम्बन्धी विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगे पनि ‘क्लिन चिट’ नपाएको समाचार श्रोतले बताएको छ । ज्ञवालीलाई बाल्कोट दरबारले ‘ग्रिन सिग्नल’ नदिए आइजीपी बन्ने संभावना कम छ किनभने ज्ञवाली उपत्यका प्रहरीको प्रमुख हुँदा ओलीका स्वकीय सचिवको नाम भुटानी शरणार्थी प्रकरणमा मुछेपछि रुष्ट बनेका छन् ।
यता, अर्का एआइजी भीमप्रसाद ढकाल पनि आइजीपी बन्न साम, दाम, दण्ड, भेदको नीति लिएर नेताहरुको दैलो चहार्न थालेको खबर प्राप्त भएको छ । एआइजी ढकाल पनि नागरिकता र जन्म मिति विवाद सच्याएर कोशी प्रदेशका नेताहरुसमक्ष दैनिक हाजिरीमा जाने गरेको स्रोतले बताएको छ । प्रहरीको ३० वर्षे सेवाअवधि हटाउन पनि एआइजीद्वयले लविङ्ग शुरु गरेको चर्चा चलेको छ । यसरी शान्ति सुरक्षा, सुशासन र अमनचयन कायम गर्नुपर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीमा आइजीपी बनेर फुली लगाउने होडबाजीले संगठन ध्वस्त बन्ने र निष्ठावान् प्रहरी अधिकृतहरुको मनोबल घट्ने विज्ञहरुले बताएका छन् ।
वर्तमान प्रहरी महानिरीक्षक कुँवरले संगठनलाई थप सुदृढ र सशक्त एवं विश्वसनीय बनाउन नसकेको स्रोतको कथन छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *