परराष्ट्रमन्त्रीमा राउतको चर्चा

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेको समाचार स्रोतले बताएको छ । संसद्मा बजेटमाथिको छलफल सकिएपछि र बजेट पारित भएपछि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउने भएका छन् ।
नाउपाबाट अध्यक्ष रञ्जिता श्रेष्ठलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइनेबारे टुंगो लागिसकेको छ । त्यस्तै जनमत पार्टीलाई भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालय वा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइने बताइएको छ । जनमत पार्टीबाट अध्यक्ष सि.के. राउतलाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बन्न एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेमार्फत प्रस्ताव गरेको अध्यक्ष राउतले बी.बी.सी. नेपाली सेवामा बताएका छन् ।
राउत परराष्ट्रमन्त्री बने माओवादी केन्द्रका उपाध्यक्ष एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई हटाइनेछ । श्रेष्ठ तीन महिनाअघि मात्र परराष्ट्रमन्त्री बनेका हुन् । राउत सरकारमा नगए उनकै पार्टीका सांसद अब्दुल खान भूमिसुधार वा उद्योगमन्त्री बन्ने बताइएको छ ।
भूमिसुधारमा र उद्योगमा हाल नेकपा (एमाले) का बलराम अधिकारी र दामोदर भण्डारी मन्त्री छन् । उनीहरु दुबैजना र पर्यटनमन्त्री हितबहादुर तामाङ २०८० फागुन २१ गते मन्त्री बनेका हुन् । प्रधानमन्त्री दाहाललाई नाउपा र जनमत पार्टीले समर्थन दिएपछि सरकारमा लैजान प्रधानमन्त्री दाहाललाई दबाब बढेको छ ।
संसदीय अंक गणितमा बहुमत पु¥याएर सत्तामा टिकिरहने सोचका कारण प्रधानमन्त्री दाहालले आफ्नै पार्टीका दुईजनामध्ये कसलाई बलिमा चढाउँछन् भन्ने राजनीतिक वृत्तमा चर्चा चलेको छ । हाल माओवादी केन्द्रबाट प्रधानमन्त्रीसहित नारायणकाजी श्रेष्ठ, बर्षमान पुन, शक्तिबहादुर बस्नेत, रेखा शर्मा र हितबहादुर तामाङ्ग मन्त्री बनेका छन् । एमालेले सम्हालेका आठवटा मन्त्रालयमध्येबाट एकजना हटाएर जनमत पार्टीलाई मन्त्री बनाउँदै को हट्छन् भन्ने अझै स्पष्ट भएको छैन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *