— गम्भीर बहादुर हाडा
पारिस्थितिक तन्त्रको प्राकृतिक सन्तुलनको अवस्थामा अव्यवस्था अवनयन या प्रदूषण ल्याउने पदार्थ या शक्तिको कुनै पनि रुपलाई नै प्रदूषक भनिन्छ । प्रदूषण उत्पन्न गराउने तत्वलाई प्रदूषक भनिन्छ । प्रदूषक तत्वहरुमा रासायनिक, जैविक, भौतिक वस्तुहरुको समागम रहेको हुन्छ । यस्ता तत्वहरु ठोस, तरल र ग्यास जुनसुकै अवस्थामा पनि पाइन्छन् । ताल, समुद्र र नदीहरुलाई उद्योगबाट निस्केको निश्चित पदार्थले प्रदूषित पार्दछ । फोहोरको थुप्रो, ग्व्यासहरु, एसिड विभिन्न धातुहरु, कृषिमा प्रयोग हुने रसायन, फोटो केमिकल्स, रेडियोधर्मी विकिरणहरु र होहल्ला आदि सबै प्रदूषकका कारक तत्वहरु हुन् । यस प्रकारका प्रदूषक तत्वहरुले वायु जल तथा पृथ्वीको सतहलाई कुनै न कुनै रुपबाट प्रभावित तुल्याउने गर्दछ ।
विश्व अहिले विज्ञानको चमत्कारसँगै औद्योगिकरणतर्फ अगाडि बढिरहेको छ । संसारका धेरैजसो देशहरुको प्रगति यसैबाट हुने गरेको पाइन्छ । विभिन्न किसिमका यातायातका साधनहरु, कलकारखाना, घरायसी रुपमा प्रयोग गर्ने दाउरा, इँटाभट्टा, जनावर तथा बिरुवाले गर्ने श्वासप्रश्वास प्रक्रिया आदिबाट वायुमण्डलमा प्रत्येक दिन ठूलो मात्रामा CO2, Co SO2, NO2, No र हाइड्रोकार्बन थपिने गर्दछ । यी ग्यासहरु वायुमण्डलमा पुगी सकेपछि वायुमण्डलमा रहेको जलवाष्पसँग सम्पर्कमा आर्य रासायनिक प्रतिक्रियाबाट विभिन्न किसिमका रसायनहरु बन्दछन् ।
ती रसायनहरु पानीमा मिसिएर वर्षाको रुपमा पृथ्वीमा आउँदछन् । यसलाई अम्ल वर्षा (Acid rain) भनेर भन्दछौं । पानीको PH सामान्य रुपमा 7 हुन्छ तर यसरी परेको पानीको PH मान जहिले पनि 7 भन्दा कम हुन्छ । अतः वायुमण्डलमा कसरी अम्ल बन्दछ भन्ने कुरालाई तलका रासायनिक प्रतिक्रियाहरुबाट प्रष्ट पार्न सकिन्छ ।
अम्ल वर्षामा एसिड मिसिएका कारण यसरी परेको पानी यदि मार्बल, सेलेट बाट निर्मित भवनहरुमा पर्न गएमा तिनीहरुलाई बिस्तारै बिस्तारै बिगार्दै जान्छ । यस किसिमको असर ग्रीस र इटालीमा बढी देखिन्छ । भारतको आग्रामा औद्योगिक क्षेत्रको कारण केही समय पहिले ताजमहललाई ठूलो असर पारेको पाइन्छ । युरोपमा सन् १९५८ मा परेको पानीको एज मान ५.० थियो तर पनि १९६२ मा नेदरल्याण्डमा वर्षाका PH मान ४.५ सम्मको मापन गरिएको थियो । त्यसैगरी १९६६ मा स्वीडेनमा परेको वर्षाको PH मान ४.५ मापन गरिएको थियो ।
सन् १९७९ मा गरिएको अनुसन्धानबाट के देखिन्छ भने स्वीडेनका २० हजार तालहरुमा विभिन्न किसिमका जल जनावर तथा वनस्पतिको नास भएको थियो । यस किसिमले परेको वर्षाले बोटबिरुवाका पातहरु नष्ट गर्ने, बृद्धि तथा विकासमा असर गर्ने, जंगलको विनास गर्ने, माछा पालन जस्ता व्यवसायमा नराम्रो असर पार्ने आदि गर्दछ ।
पीएच मानले अम्ल र क्षर के हो थाहा पाउन सकिन्छ । पीएच मान ७ भन्दा तल्लो अम्ल जनाउँदछ र ७ भन्दा माथि पीएच मान भए क्षार जनाउँदछ । विभिन्न कलकारखाना, मोटर गाडी, विद्युत उत्पादनगृह इत्यादि सञ्चालन गर्न कोइला, पेट्रोलियम पदार्थको ठूलो परिमाण आवश्यकता पर्दछ । यस्ता इन्धनहरुको प्रयोगबाट वायुमण्डलमा ठूलो माात्रामा सल्फर तथा नाइट्रोजन अक्साइड हावामा भएको पानीसंग प्रतिक्रिया गरी सल्फरयुरिक तथा नाइट्रिक अम्लमा परिवर्तन भई अम्लीय वर्षा हुने गर्दछ ।
धेरै जसो विकसित देशहरुमा रहेका विभिन्न औद्योगिक क्षेत्र, यातायातका साधनको प्रचुर प्रयोग आदिको कारण यस किसिमको समस्या दिन प्रतिदिन बढिरहेको छ । वर्षाको पानी जम्मा हुने ठाउँ ताल, पोखरी अनि समुन्द्रसमेत यसको असरको क्षेत्रमा पर्दछ । त्यसैगरी यसले माटोको अम्लियपन बढाई उत्पादनमा भारी ह्रास ल्याउँदछ । यस किसिमको वर्षाको मुख्य कारण वायु प्रदूषण नै हो ।
त्यसैले पनि वातावरण विज्ञ Robert Angns ले १८७२ मा यस किसिमको असरलाई पृथ्वीको रासायनिक रोग भनी बताएका छन् । एक अनुसन्धान अनुसार अमेरिकाले ६६% बेलायतले ६६% जर्मनीले ५६% सल्फर वायुमण्डलमा फ्याक्दछन् । त्यसैगरी क्यानडाले ४५% सल्फर आफ्ना खनिज केन्द्रबाट उत्सर्जन गर्ने गर्दछ । यी नै विकसित देशहरुका सवारी साधनबाट पनि निरन्तर रुपमा वायुमण्डलमा विभिन्न किसिमका ग्यासहरु थपिने काम भैरहेको पाइन्छ ।
अम्लीय वर्षाको असर खास गरेर औद्योगिक क्षेत्रहरुमा बढी देखिन्छ । विकसित तथा औद्योगिक देशहरु अमेरिका, बेलायत, नर्वे, स्वीडेन, क्यानडा, भारत, चीन, जापान जस्ता देशरमा अम्लीय वर्षाको प्रभाव एकदम बढेको पाइन्छ । यसले पृथ्वीको जल तथा स्थल दुवैमा यसले असर गर्दछ । कृषि वन लगायत विभिन्न महत्वपूर्ण भवनहरुलाई प्रभावित गर्ने गर्दछ । विश्वका कयौं जंगलहरु यसै असरको कारण नष्ट भएका उदाहरण पनि छन् । पानीको माध्यमबाट सल्फर र नाइट्रोजनका अक्साइड हामूो शरीरमा प्रवेश गरी स्नायु प्रणाली तथा श्वासप्रश्वास प्रणालीमा असर गर्दछ । अम्ल वर्षाको कारण देखा पर्ने केही असरहरुलाई निम्न बुँदामा प्रस्तुत गर्न सकिन्छ:–
१. माटो तथा पानीको अम्लियपना बढ्न जान्छ ।
२. कम PH को कारण बोटबिरुवा, वनजंगल आदिको नष्ट हुन्छ ।
३. पानीको एज् घट्न गई पानीमा रहनेबिरुवा तथा जल प्राणीहरु नष्ट हुन सक्दछन् ।
४. माटोमा परेको अम्लिय वर्षाको कारण माटोको जैविक रसायन स्थितिमा परिवर्तन हुन्छ । यसकारण यदि बिरुवाको क्याडमियमको मात्रा बढी मात्रामा लिएमा मानिस तथा अन्य जनावरहरुलाई समेत असर गर्दछ ।
५. मानवको स्नायु प्रणालीमा असर गर्दछ, जसको कारण विभिन्न न्यूरोलोजिकल रोगहरु लाग्न सक्दछन् ।
६. Eco-system नै असन्तुलन हुन गई biodiversity मै ठूलो असर गर्दछ । विभिन्न धार्मिक तथा पुरातत्वका भवन, मन्दिर, पुल आदिलाई खियाएर बिस्तारै बिस्तारै कमजोर बनाउँदछ ।
अम्ल वर्षाले माटोको अम्लीयपनामा पनि बृद्धि गराउँदछ । माटोको अम्लीयपन धेरै भयो भने बिरुवाले माटोबाट आफूलाई चाहिने पौष्टिक तत्व लिन सक्दैन र बिरुवाको राम्रो बृद्धि हुँदैन । अम्ल वर्षा धेरै भयो भने ताल र पोखरीको पानीको अम्लीयपन पनि बढ्छ । अम्लीयपन ज्यादा भएको पानीमा माछाले राम्ररी श्वासप्रश्वास गर्न सक्दैन । त्यसैले अम्लीयपन ज्यादा हुँदा माछाको पनि मृत्यु हुन्छ । स्वीडेनमा सयौं पोखरी अम्लीय वर्षाका कारण माछा बिहीन भएका छन् । यसरी अम्ल वर्षाको कारणले वातावरणका भौतिक र जैविक तत्वमा असर गर्ने हुनाले यसले वातावरणीय सन्तुलन नै खल्बलिने सम्भावना हुन्छ । (सह–प्राध्यापक, अर्थशास्त्र
भक्तपुर बहुमुखी क्याम्पस)