चर्किएका घरहरु बेच्न खोज्दै घरधनीहरु

Nayabimarsha (Weekly Newspaper from Nepal)

रुषा थापा

२०७२ बैशाख १२ गते नेपालमा महाभूकम्प गयो । कयौं घर भूकम्पले भत्काए त कयौं चर्किए । त्यस्तै, धेरै अर्पाटमेण्टहरु पनि चर्किए । भत्किएर ढलेका घर त मानिसहरुले जगैबाट बनाए । तर, चर्किएका घर वा अर्पाटमेण्ट पुर्ननिर्माण गरिएन । त्यसमा रंग मात्र लगाइयो ।
हिजो भूकम्पमा चर्किएका घर तथा अर्पाटमेण्टहरुलाई सम्बन्धित धनीहरुले रंग लगाएर, ढुंगा, मार्बल वा सिसा टाँसेर चिटिक्क बनाएका छन् । सानो भूकम्प आएपनि यी घर तथा अर्पाटमेण्टहरु ढल्ने छन् । त्यसैले, अहिले घरधनीहरु यस्ता घरहरु बेच्न लागिपरेका छन् । उनीहरुल सस्तो मूल्यमा घर बेच्न राखेका छन् ।
‘छोरीभन्दा आमा तरुनी, किरिम पाउडरले’ यो गीतले केही वर्षअघि व्यापक चर्चा पाएको थियो । त्यसरी नै घरधनीहरुले भत्किन लागेको घरलाई समेत रंगरङ्गन गरेर चिटिक्क पारेर नयाँ घरजसरी बेच्न थालेका छन् । बुढोपाकाले भन्थे, ‘दुहुनो भैंसी किनेमा पाडो सित्तै ।’ अहिले घरधनीहरु जग्गाकै मूल्यमा घर बेच्न खोजिरहेका छन् ।
‘हामीलाई घरको मूल्य चाहिँदैन, जग्गाकै भाउमा दिन्छौं’ भनेर घरधनीहरु घर किन्ने मानिसहरु खोजिरहेको भेटिन्छन् । भूकम्प कुन दिन र कति बेला आउँछ ? केही ठेगान छैन । भूकम्प आउनासाथ यस्ता घरमा बस्नेहरु त्यँही घरले किचेर मर्नेछन् । यसले एकातिर पैसा पनि जान्छ त अर्कोतिर ज्यान समेत ।
काठमडौं उपत्यकासहित देशभरका घरहरु जोखिमपूर्ण छन् । भूकम्पले चर्काएका घरहरुलाई रंगरङगन गरेर नयाँजस्तो मात्र बनाइएको छ । यसैले, भूकम्प आउँदा यी घरहरु भत्किँदैनन् वा ढल्दैनन् भनेर भन्न सकिँदैन । अहिले सार्वजनिक स्थलहरुमा धेरै घरधनीहरु घर किन्ने मान्छे खोज्दै हिँडेको भेटिन्छ ।
उनीहरुलाई सोध्यो भने भन्छन्, ‘महिनौं भइसक्यो, ग्राहक खोजेको । अहिलेसम्म एउटै भेटिएको छैन ।’ २०७२ को महाभूकम्पले आफैंले बनाएको घरले आफैंलाई थिचेर सयौंले ज्यान गुमाए । हजारौं घाइते भए त कयौं अंगभंग हुन पुगे । २०७४ मा स्थानीय निर्वाचन भयो ।
चुनाव जितेर आएका जनप्रतिनिधि वडाध्यक्ष र प्रमुखले आफ्ना कार्यकर्ता वा नजिकको मान्छेलाई सरकारको मापदण्डभित्र नबनेका वा जोखिमपूर्ण घरलाई पनि सम्पन्नता प्रमाणपत्र दिए । कतिपयलाई भन्सुनको आधारमा दिइयो त कतिपयसँग एक लाखदेखि पन्ध्र लाखसम्म खाएर वडाध्यक्ष र मेयरले घर सम्पन्नता प्रमाणपत्र बाँडे । घर सम्पन्नता प्रमाणपत्र भएपछि त्यो घर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिइयो ।
यता, प्रमाणपत्र पाउनासाथ घरको मूल्य पनि बढ्यो त किनबेच पनि सजिलै हुने भयो । केही महिनाअघि रुकुम पश्चिम र जाजरकोटमा पनि भूकम्प गएको थियो । भूकम्पका कारण सयौंको संख्यामा मानिसहरुले ज्यान गुमाए । कयौं घाइते भए । रातको समयमा आएको भूकम्पले मानिसहरुलाई आफ्रनै घरले किचेर माप्यो ।
महाभूकम्पपछि यो भूकम्पबाट पनि धेरैले ज्यान गुमाए । यसको पनि प्रमुख कारण चर्किएका, भत्किन लागेका घर नै हुन् । काठमाडौं उपत्यका विकास प्राधिकरणले यसअघि नै उपत्यकाभित्र बनेका ९५ प्रतिशत घर सरकारको मापदण्डभित्र पर्दैन वा जोखिमपूर्ण छ भनेर भनिसकेको छ । अहिले यस्ता घरहरुमा बैंक तथा वित्तिय संस्थाकै लगानी छ ।
भनिन्छ कि हावा नआई रुखको पात हल्लिदैंन । तीन वर्षअघि झण्डै तीन करोडमा खरिद गरिएको घर अहिले त्यसको आधा मूल्यमा बेच्छुभन्दा समेत ग्राहक नभेटिएको बताइन्छ । त्यस्तै, शेयर र गाडीमा पनि यस्तै भएको छ । ३५ सय कित्तामा किनेको शेयर अहिले सय रुपिया बिक्दैन । २५ लाखमा खरिद गरिएको गाडी पनि पाँच लाखमा समेत बिक्री नभएको सुनिन्छ ।
बजार पूरै मन्दीमा छ । सर्वसाधारण जनता मन्दीका कारण जीविकोपार्जन गर्नै गाह्रो भएको बताउँछन् । अहिले व्यापार व्यवसाय ठप्प छ । जताततै कोठा, सटर र फ्ल्याट खाली देखिन्छन् । बैंकहरु पैसा थुप्रियो भन्छन् । अहिले बैंकमा कर्जा लिन जाने कोही छैन । बैंकहरुको कर्जा लगानी सबै घरजग्गा, गाडी र सेयरमा छ ।
अहिले ९९ प्रतिशत मानिसको घरजग्गा, गाडी र शेयर बैंक तथा वित्तीय संस्थाको नाममा छ । यता, ऋणीसँग पैसा छैन । उनीहरु बैंकको ऋण त तिर्न चाहन्छन् त पैसा कसरी जुटाउने ? धितो पनि त बिक्री हुँदैन । घरजग्गा, गाडी र शेयर दलालीहरुले सर्वसाधारणलाई नराम्ररी डुबाए । पाँच हजार आनामा बिक्री नहुने खेतीयोग्य जमिन प्लाटिङ गरेर आनाकै लाखदेखि करोडमा बेचे ।
भारतमा एक लाखमा पाइने गाडी यहाँ ल्याएर तीसौं लाखमा बेचियो । बैंकले सय रुपियाँ कित्तामा निष्काशन शेयर पनि एक हजारदेखि पाँच हजारसम्ममा बेचबिखन गरे । अहिले बैंकले धितो त लिलाम गरिरहेको छ तर किन्ने कोही छैन । अहिले बैंकहरुले धमाधम डिपोजिटको ब्याज घटाइरहेका छन् । यसको घुमाउरो अर्थ अब हामी पैसा मात्र राख्न सक्दैनौं भन्ने हो ।
बैंकले जति कर्जा लगानी गर्न सक्यो, त्यति नै फाइदा हुने हो तर कर्जा लिने नै कोही नभएपछि डिपोजिटको ब्याज बैंकले कसरी दिइयोस् ? अहिले बैंक डुब्न लागेको बैंककै अधिकारीहरुको भनाइबाट बुझिन्छ । यद्यपि, सर्वसाधारण जनताले अझै पनि यो बुझ्न सकेका छैनन् । उनीहरु अहिले पनि बैंकमा पैसा राखिरहेका छन् ।
अब बैंकले न बचतकर्तालाई ब्याज दिन सक्छ न त साँबा नै किनकि बैंकको सम्पूर्ण लगानी डुबिसक्यो । बैंकले घरजग्गा, गाडी र शेयरमा गरेको लगानी बालुवामा पानी भएको छ । अहिले बजारमा शेयरको मूल्य प्रत्येक दिन घट्दो क्रममा छ । मालपोतमा घरजग्गा नामसारी ठप्प छ त यातायातमा पनि सवारीसाधन नामासरी तथा किनबेच शून्य छ ।
बजारमा व्यापारीहरु भन्छन्, ‘बोहनी हुन्न, सटर खोल्नु मात्र हो ।’ निजी संघसंस्था, प्राइभेट कम्पनी, होटल, रेस्टुरेन्ट, पसल वा घरमा काम गर्नेहरुले वर्षौदेखि तलब पाएका छैनन् । महंगी र बेरोजगारीका कारण अहिले गाउँ फर्किने र विदेशिनेको लहर छ । बजारको हालको अवस्थाले नै घरजग्गा, गाडी र सेयरलाई लयमा फर्किन दशक लाग्ने देखिन्छ ।
तीन वर्षअघि सहकारीमा समस्या देखियो । सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको हल्ला चल्यो । तर, राष्ट्रिय सहकारी महासंघसहित सहकारी विभाग वा सरकारले समेत सहकारीमा समस्या नदेखिएको दाबी गरे । देशभर ३५ हजारभन्दा बढी सहकारी छन् । तीमध्ये आधाभन्दा बढी भागिसकेका छन् त सञ्चालनमा रहेकाले पनि बचतकर्ताको रकम फिर्ता गर्न सकेका छैनन् ।
सहकारीकै कारण बचतकर्ताहरु आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन् । बचत फिर्ताको माग गर्दै आन्दोलन गर्दा कयौं बचतकर्ता प्रहरीको लाठीचार्जबाट घाइते भए । अनशन बस्दा कतिपय बचतकर्ताको ज्यान नै जोखिममा परेको छ । सहकारीकै कारण धेरै बचतकर्ताको घरवार बिग्रियो । परिवार लथालिंग हुन पुगेको छ । दिनरातको झगडाका कारण श्रीमान–श्रीमतीबीच सम्बन्धविच्छेद हुन पुग्यो त कतिपय बुढाबुढी आमाबुबा पनि घरवारविहीन ।
अहिले बैंकले एउटासँग पैसा लिन्छ अनि अर्कोलाई ब्याज दिन्छ । कर्मचारीलाई तलब दिन्छ । घरलाई भाडा तिर्छ त दैनिक खर्च पनि चलाउँछ । बैंकको आम्दानी छैन भनेर सबैले थाहा पाइसकेका छन् । यता, बैंककै कर्मचारीहरुले बचतकर्ताको रकम हिनामिना गरेको घटना पनि बाहिरिएका छन् । यसले बैंकप्रति सर्वसाधारणको विश्वास घट्दै गएको छ ।
बैंकले एक करोड ऋण दिँदा दुई करोडको धितो राख्छ । त्यसमा पनि दश÷बीस लाख त घुस नै खान्छन् बैंकका सञ्चालक तथा कर्मचारीहरु । सेवाशुल्क दुई प्रतिशत, ब्याज १८ प्रतिशत भनेर ४८ प्रतिशतसम्म असुल्छन् । अनि ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै दुई करोडको धितो ८० लाखमै पचाउँछन् ।
बैंककै कारण कतिपयले आत्महत्या गरे । आफ्नो परिवार समेत सिध्याए । अहिले बैंकको यस्तो ठगीधन्दा थाहा पाएपछि पनि सर्वसाधारण बैंकमा ऋण लिन नगएका हुन् । बैंक सहकारीको हालतमा पुगिसक्यो । तर, जनतालाई भ्रममा राखिएको छ । हिजो सहकारीमा मानिसहरुले पैसा लगेर त राखे । यद्यपि, सहकारीको लगानी कहाँ छ ? भनेर सोधखोज गरेनन् ।
अहिले बैंकमा पनि मानिसहरुले पैसा त राखिरहेका छन् । तर, बैंकको लगानी कहाँ छ ? भनेर कुनै पनि बचतकर्ताले सोधखोज गरेका छन् । भोलि बैंक डुब्यो भने यीनीहरु पनि सहकारीकै बचतकर्ताजसरी सडकमा उत्रिन्छन् अनि आन्दोलन गर्छन् । त्यसैले, अब बचतकर्ताहरु पनि चलाख हुन जरुरी छ । आपूmले बचत गरेको बैंकको लगानी कुन क्षेत्रमा छ भनेर जानकार हुनुपर्छ ।
बैंकले धितो राखेको जग्गा पनि सरकारी, गुठी जग्गा रहेको पाइएको छ । यसको ज्वलन्त उदाहरण बालुवाटारस्थित ललिता निवास र बाँसबारीस्थित छाला जुत्ता कारखानाको सरकारी जग्गा हो । यसमा बैंकको अर्बौ लगानी छ । यो जग्गा सरकारले आफ्नो नाममा ल्याएसँगै बैंकको लगानी पनि स्वाहा भएको छ ।
यहाँ मात्र होइन, देशभरका जग्गामा बैंकको लगानी छ । तर, तीमध्ये कयौं सरकारी, सार्वजनिक जग्गामा समेत बैंकले लगानी गरेको हुँदा बचतकर्ताको रकम नै जोखिममा परेको छ । बैंकले एउटै व्यक्तिलाई अर्बौ कर्जा प्रवाह गरेको छ । दुर्गा प्रसाई, मिनबहादुर गुरुङजस्ता व्यक्तिलाई बैंकले अर्बौ कर्जा प्रवाह गरेको छ ।
यिनीहरुले बैंकको साँबाब्याज तिरेका छैनन् । अनि ऋणीले पैसा नतिरेपछि बैंकमा बचत गरेका बचतकर्ताको पैसा डुब्दैन भनेर कसरी भन्ने ? अब बचतकर्ताहरु सतर्क हुनुपर्छ । बैंकका बचतकर्ताहरुले डुब्नुअघि नै सोचविचार गर्नुपर्छ । नत्र सहकारीका बचतकर्ताको जस्तो हालत हुनेछ ।

 

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *