प्राकृतिक प्रकोपको पूर्व तयारी जरुरी

Nayabimarsha (Weekly Newspaper from Nepal)

गएको असार २८ गतेको विहानी नेपालीजनका लागि दुखद् खवरका साथ आएको थियो । दुइटा यात्रुवाहक बसहरु त्रिशुली नदीमा खसेका तथा त्यसमा सवारी पाँच दर्जन मानिसहरु हराइरहेका भन्ने समाचार नेपालीजनले विहान उठ्दा नै जानकारी पाए । चितवनको एक स्थानमा अकस्मात आएको लेदो सहितको पहिरोले गुडी रहेका दुइटा बसहरुलाई बगाउँदा त्यस्तो घटना भएको थियो । अकस्मात आएको पहिरोमा परी नदीमा खसेको उक्त बसमा सवार तीनजना भने पौडिएर बाँच्न सफल भएको भन्ने समाचार पनि आयो । यो समाचारले गर्दा त्यो दिन तात्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा विश्वासको मत लिने कुरालाई समेत ओझेलमा पारिदिएको थियो । संसद्मा रहेको अंकगणितलाई आधार मान्दा प्रधानमन्त्रीले विश्वासको मत नपाउने निश्चित जस्तै थियो । त्यस्तो अवस्थामा नेपालीजनको ध्यान विश्वासको मत पाउने नपाउनेमा भन्दा पनि डुबेका बसहरुमा परेका मानिसहरु र उनीहरुका परिवारजनमा केन्द्रित थियो ।
उक्त घटनामा परी बेपत्ताहरुको खोजी कार्यमा स्थानीय प्रशासन तथा प्रहरी परिचालित छन् । बुधबारसम्म १७ जनाको शव फेला परेको समाचार आए पनि बस फेला पर्न नसकेको तथा अन्य यात्रीहरुको बारेमा पनि केही पत्ता नलागेको अवस्था छ । हप्ता दिन बितिसक्दा समेत बस फेला पर्न नसक्दा त्यस क्षेत्रमा आई आफन्तको खोजीमा रहेका परिवारजनको आँखामा आँशु रोकिन पाएको छैन । उनीहरु आफन्तजन जिवितै फेला पर्ने संभावना कम रहे पनि उनीहरुको अवस्थाको बारेमा जानकारी पाउन पाए हुन्थ्यो भन्ने पक्षमा व्यग्र प्रतिक्षामा रहेका छन् । सरकारले पनि विभिन्न उपाय तथा प्रविधिको प्रयोग गरी खोजी कार्यलाई प्राथमिकतामा राखे पनि खासै उपलब्धी हासिल गर्न नसकेको भनी आलोचना पनि भैरहेको पाइन्छ । प्राकृतिक प्रकोपको कारण उक्त घटना भएको भए पनि यस्तो घटनाको बारेमा सरकार बढी नै संवेदनशील हुनुपर्ने हुन्छ । सरकारले पीडित परिवारजनको पीडामा मल्हम लगाउने गरी के ग¥यो भनी यस्तो कुरामा चासोका साथ हेरिनु स्वाभाविक हो । असार ३१ गते नयाँ सरकार गठन भएसँगै वर्तमान सरकारका गृहमन्त्री रमेश लेखकले उक्त घटनाको छानविन गर्नका लागि छानविन समिति बनाउने निर्णय गरेका छन् ।
उक्त घटनाको अवस्थालाई ख्याल गरेर हेर्ने हो भने घटना रातिको समयमा भएको छ । वर्षातको यो समयमा रात्रिकालिन यात्रा अलि जोखिमयुक्त नै हुने गर्दछ । यसैगरी बस आफ्नो गतिमा गुडिरहेको अवस्थामा एक्कासी लेदोसहितको पहिरो आउँदा सो स्थानमा गुडिरहेका दुइटा बसहरु परेको बताइन्छ । यसैगरी त्यसरी पहिरो आउनुमा माथि बनेका बाटाहरुको निर्माण भन्न थालिएको छ । कुनै तयारी बिना नै मनपरी ढंगबाट बाटोहरु बनाइने कार्य हुँदा त्यसले प्राकृतिक रुपमा नकारात्मक असर पार्ने गरेको कुरा पनि आइरहेको छ । यस्तो अवस्थामा प्राकृृतिक विपत्तिबाट हुनसक्ने क्षतिको बारेमा पूर्व तयारी गरिनु आवश्यक देखिन्छ । बाटो बनाउँदा होस् वा मौसमको ख्याल गरी सरकारले कतिपय अवस्थामा यात्रा गर्न रोक लगाउन सक्नु उचित देखिन्छ । यसैगरी कुनै घटना भैहालेमा त्यस्तो अवस्थामा के गर्ने भन्ने कुराको पूर्व तयारी हुनु आवश्यक हुन्छ । उक्त घटना भएपछिको उद्धारको लागि अपनाइएका शुरुका अवस्था खासै प्रभावकारी नभएको भन्ने आयो । सामान्य डुंगामा बसेर खासै प्रविधिहरुको प्रयोग समेत नगरी खोजी कार्य भएको भन्ने आयो । त्यस्तो हुनु ठीक होइन । सरकारले पूर्व तयारी गरी घटना भएमा तत्कालै केही गर्न सक्दा मानवीय क्षति कम हुने अवस्था हुने थियो । यसैगरी सामान्य प्राविधिक कुरा अर्थात बसमा को को सवार थिए भन्ने कुराको अभिलेख समेत नहुँदा हराएका मानिसहरुको विवरण पनि राम्रोसँग आउन सकेको छैन । यस्तो अवस्थामा पूर्व तयारी महत्वपूर्ण कुरा हो । यसको लागि सरकार तथा सम्बन्धित निकायहरुले समयमै ध्यान दिन सक्नुपर्ने हुन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *