प्रेस युनियनलाई महामन्त्रीको आग्रह

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘लोकप्रीय भन्ने शक्तिहरु’ ले सिर्जना गरेका भ्रम तोड्न संचार जगत (प्रेस) को ठूलो महत्व रहेको बताएका छन् ।
कांग्रेस निकट पत्रकारहरुको संस्था, नेपाल प्रेस युनियन युरोप शाखाको जुममार्फत आयोजित प्रथम अधिवेशनलाई आइतबार सम्बोधन गर्दै महामन्त्री थापाले ‘पपुलिज्म’ को राजनीतिले राज्यका संस्थाहरुलाई कमजोर बनाउने बताए । उनले नेपाल प्रेस युनियनलाई स्पष्ट विमर्श चलाउन र ’प्रो–एक्टिभ’ भूमिका निर्वाह गर्न आग्रह गरे ।
नेपालमा कांग्रेस तथा एमाले मिलेर नयाँ सरकार गठन गरेकोतर्फ इंगित गर्दै महामन्त्री थापाले भने, “डेलिभरी गर्नुपर्ने छ, नागरिकको निराशा चिर्नुपर्ने छ । सँंगसँंगै एउटा पनि प्रश्न गर्न नपर्ने स्थिति बनाउनुपर्ने छ । अगाडिको बाटो जोखिमपूर्ण छ, कसरी सुरक्षित अवतरण गर्छौं, त्यसमा हाम्रो सफलता निर्भर हुन्छ ।’’
बेलायतमा हालै लेबर पार्टीले लोकप्रिय मत पाएपछि सरकार पनि बनाएको प्रसङ्ग उल्लेख गर्दै महामन्त्री थापाले २०८४ सालमा एकल बहुमत पाउने गरी कांग्रेसको पार्टी संगठनलाई मजबुत बनाउनुपर्ने बताए । गत चुनावमा नेपालमा रहेका मतदाता नेपाल बाहिर रहेका मतदाताबाट बढी प्रभावित भएको पाइएको बताउँदै उनले नेपाल बाहिर रहेका मतदातालाई सत्य तथ्य बुझाउन प्रेसको भूमिका महत्वपूर्ण हुने धारणा पनि राखे ।
कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिस्चित गर्न युनियनको भूमिका महत्वपूर्ण रहेको बताए । उनले एउटा दल विशेषले आम जनसमुदायलाई ’मिसइन्फर्म’ र ’डिसइन्फर्म’ गरिरहेको बताउँंदै मिडियालाई त्यसतर्फ सुसूचित गर्न आग्रह गरे ।
गैर आवासीय नेपाली संघका पूर्व सल्लाहकार कुल आचार्यले एनआरएनहरुलाई गैर आवासीय नेपाली नागरिकता प्रदान गरिएता पनि उक्त नागरिकताबाट केहि पनि काम गर्न नमिल्ने अवस्था रहेको गुनासो गरे । उनले गएको नौ महिनासम्म केही पनि काम नभएको बताउंँदै संविधानले व्यवस्था गरेको कुनै पनि अधिकारलाई संकुचित नगरी यो नागरिकतालाई प्रयोग गर्न पाइने व्यवस्था मिलाउन माग गरे ।

जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसनका केन्द्रीय अध्यक्ष डा. यादव पण्डितले प्रेसले निरन्तर रुपमा खबरदारी गरिरहनुपर्ने धारणा राखे । जनतालाई जागरुक गर्ने काममा प्रवासमा निर्माण भएको संस्थासंँग फाउन्डेसनले सहकार्य गर्ने पनि उनले बताए ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, एनआरएन बेल्जियमकी अध्यक्ष सीता सापकोटा, नेपाली जनसम्पर्क समिति युकेका सभापति महेश दाहाल, नेपाली जनसम्पर्क समिति द नेदरल्यांड्सका सभापति सालिक गौतम, रोयल बरो अफ ग्रिनिचका मेयर काउन्सिलर जीत रानाभाटले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । यस्तै नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई, नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्मा, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दीपक भण्डारी लगायतले शुभकामना दिएका थिए ।
निर्वाचन समितिका संयोजक राजकुमार त्रिपाठीले प्रेस युनियन युरोपको अध्यक्षमा संजय कंडेल लगायत सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित भएको घोषणा गरे । कार्यक्रममा नव निर्वाचित उपाध्यक्ष सविना श्रेष्ठले सबैलाई स्वागत गरेकी थिइन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *