अनुसा थापा
बुढापाकाले अहिले पनि अर्तिबुद्धि दिन्छन्, ‘ऋण नलागे जमानी बस्नु, घरमा शान्ति भए दुइटी श्रीमती बिहे गर्नु ।’ यसको अर्थ जमानी बसे तनाव बढ्नु र दुइटी श्रीमती भए घरको शान्ति भंग गर्नु हो । उनीहरु अहिले पनि भन्छन्, राति सुत्दा बुढी औंला मुठ्ठीभित्र लुकाएर सुत्नुपर्छ ।
राति सुत्या बेला तमसुकमा थिचाउन सक्ने भएकाले त्यो भनिएको छ । पहिलेका मान्छेहरु अक्षर नचिनेको भए पनि धेरै टाठाबाठा थिए । के गर्नुहुन्छ ? गर्नुहुँदैन ? के गरेमा कानूनको बर्खिलाप हुन्छ ? उनीहरु जानकार थिए । सेतो कागजमा कालो मसीले लेखेर ल्याप्चे लाइदिनु भनेमा उनीहरु मान्दैन्थे ।
आफू फस्ने भएकाले उनीहरु सतर्क रहन्थे । पछिल्लो समय साक्षरताको दर बढेको छ । धेरैले पढेलेखेका छन् । विडम्बना, पढेलेखेकामा नपढेको जति पनि बुद्धि छैन । बैंक तथा वित्तीय संस्था वा व्यक्तिले ऋण दिनु अगाडि दुई जना साक्षी राख्छ । साक्षी नराखिकन ऋण दिँदैनन् ।
पढलेख गरेकाहरु सोचविचार नै नगरिकन गएर साक्षी बसिदिन्छन् । जसले लेनदेनको कागजमा साक्षी बस्छ, ऊ भोलि प्रहरी चौकीदेखि अदालतसम्म बयान दिन पुग्नुपर्छ । ऋणीले ऋण तिरेन भने साक्षीको सम्पत्ति रोक्का हुन्छ । उसको तीनपुस्ते पत्रिकामा निक्लिन्छ ।
ऊ पनि कालोसूचीमा पर्छ जबकि पैसा त उसले लिएको हुँदैन । धेरै साक्षीलाई अहिले बैंक तथा वित्तीय संस्थाको तनाव खेपिनसक्नु भएको छ । साक्षीले पैसा लिएको हुँदैन न चलाएको नै हुन्छ । सम्पत्ति चाँहि तिनको रोक्का हुन्छ । कालोसूचीमा पनि नाम निस्किन्छ । आफ्नो साथी वा आफन्तको अनुहार हेर्दा निर्दोषहरु फसिरहेका छन् ।
बेकाममा आफ्नो परिवारलाई फसाइरहेका छन् । पछिल्लो समय धेरैले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न सकेका छैनन् । यस्तोमा फस्ने साक्षी बनेका छन् । उसले बैंक तथा वित्तीय संस्थाबाट ऋण ल्याएर के ग¥यो ? साक्षीलाई के थाहा ? उसले त लिएको हुँदैन । आफ्नो परिवारलाई बेकारमा दुःख दिइरहेका छन् ।
अधिवक्ताले पनि साक्षी नराखिकन तमसुकमा हस्ताक्षर गर्दैनन् । मुलुकमा आर्थिक मन्दी छ । व्यापार व्यवसाय सुकेको छ । यस्तोमा धेरै ऋणीले ऋण तिर्न सकेनन् । चाहे त्यो बैंकको होस् या व्यक्तिको । ऋणीले ऋण नतिर्दा दुःख साक्षीले पाइरहेका छन् । एकातिर पारिवारिक तनाव, अर्कोतिर आफ्नो सम्पत्ति गुमाउनुपर्ने डर । दुनियाँले देख्नेगरी पत्रिकामा तीनपुस्ते निस्किरहेको छ । प्रहरी र अदालत धाउँदाको पीडा । बयानका लागि अदालत जाऊ, तारिख बोक कम्ता सास्ती त छैन ।
किताबको ज्ञान लिएकासँग व्यावहारिक ज्ञान नहुँदा आफ्नो खुट्टामा बञ्चरो हानिरहेका छन् । एउटा ल्याप्चे त हो, हस्ताक्षर त हो भन्दा कति दुःख पाउनुप¥यो । अहिलेको पढाइको स्तर पनि यहाँबाट छर्लङ्ग भयो । घोकन्ते पढाइमा व्यावहारिक ज्ञान केही छैन । के गर्दा कानून आकर्षित हुन्छ ? भन्नलाई डिग्री लिएका छन्, सामान्य ज्ञान छैन ।
ऋण लिने एउटा, दुःख पाउने अर्को । अहिले धेरैले ‘नखाएको विष लागेको’ भन्दै दुःखेसो पोखिरहेका छन् । बैंक तथा वित्तीय संस्थाले साक्षीहरुको नाममा धमाधम चिठी काटिरहेको छ । यसले गर्दा साक्षीको पूरा परिवार तनावमा आएको छ । बैंक तथा वित्तीय संस्था तथा व्यक्तिले मिटरब्याजमा पैसा लगानी गर्छन् ।
धितो राख्छन्, घुस खान्छन् । अझै पनि तिनकै दादागिरी छ । साक्षी बसेकै भरमा कसैको सम्पत्ति रोक्का गर्न मिल्छ ? कालोसूचीमा राख्न मिल्छ ? कालोसूचीमा राख्नेबित्तिकै न तिनका छोराछोरी विदेश जान मिल्छ न बैंक, फाइनान्समा खाता खोल्न मिल्छ । अभिभावकले पैसा ल्याएर चलाएका पनि हुँदैनन् ।
अर्काको साक्षी बसिदिँदा यति कठोर बनिदिन त भएन । बैंक तथा वित्तीय संस्थाले साक्षी बस्नेको घरबार उजाडिदिएका छन् । नेपाल राष्ट्र बैंकका गभनृर महाप्रसाद अधिकारी भने टुलुटुलु रमिता हेरेर बसेका छन् । बैंकले साक्षीहरुको घरमा रुवाबासी बनाएको छ । अदालत जाऊ खर्च हुन्छ, बयान देऊ ।
अर्कालाई सहयोग गर्दा आफ्नो सम्पत्ति गुमाइरहेका छन् । साक्षी बस्नेको घरमा बैंकले चिठी टाँसिरहेको छ । चिठी टाँस्ने, समाजमा बद्नाम गराउने काम बैंकले गरिरहेको छ । साक्षी बसेकै भरमा मानसिक तनाव दिन पाइन्छ ? बालबच्चालाई मानसिक यातना दिन मिल्छ ? यसको जवाफ राष्ट्र बैंकको गभर्नर अधिकारीले दिनुपर्छ ।
कि त पहिल्यै ‘ब्रिफिङ’ गर्नुपथ्र्यो । साक्षी बस्दा भोलिको दिनमा यस्तो–यस्तो समस्या आउन सक्छ ? भनेर बुझाउनु पर्दैन ? ऋणीले ऋण तिर्न सकेन भने तपाईंको सम्पत्ति रोक्का हुन्छ । पत्रिकामा निस्किन्छ, कालोसूचीमा पर्न सक्नुहुन्छ भनेर शुरुमै जानकारी गराउनुपर्छ कि पर्दैन ?
यति हस्ताक्षर गरिदिनु भन्ने अनि ऋणीले ऋण तिर्न नसकेपछि साक्षीलाई रातदिन तनाव दिने ? यस्तो पनि गर्न मिल्छ ? कतिपय मान्छेले पढेका छैनन् । पढेकालाई पनि कानूनको विषयमा जानकारी नहुन सक्छ । उनीहरु आफ्नो आफन्त रिसाउँछन् भनेर पो साक्षी बस्न आएका हुन्छन् ।
साक्षी बस्दा के हुन्छ ? त्यो त बैंक तथा वित्तीय संस्थाले उनीहरुलाई राम्ररी बुझाइदिनुपर्ने हो । अरुलाई फसाएर आफू कमाउन बसेको संस्थाले के भन्थ्यो ? बैंक तथा वित्तीय संस्थाको दाउ नै कमाउने मात्र हो । ठगेर हुन्छ कि सोझासाझीलाई फसाएर कमाउनै छ । फेरि उनीहरुको चंगुलमा परिसकेपछि उम्किन धेरै गाह्रो छ ।
राष्ट्र बैंक अहिले बैंकमा ऋण लिन जाने कोही भएन भन्छ । जमानी बस्दा त आफ्नो सारा सम्पत्ति स्वाहा हुने भएपछि को जमानी बस्छ ? जमानी नबसिकन त बैंकले ऋण दिँदैन । फेरि एक करोडको धितो राख्यो २० लाखका लागि । त्यो पनि घुस र सेवाशुल्क गर्दा १५ लाख हातमा पर्छ ।
तीन किस्ता तिर्न सकेन भने पचाई दिई हाल्छ । पहिले १२ प्रतिशत ब्याज भन्छ । जोड्दै जाँदा १५ प्रतिशत पुग्छ । अनि को आफ्नो सम्पत्ति गुमाउन बैंकमा जान्छ ? बैंक तथा वित्तीय संस्था जनताको आँखामा नाङ्गिसकेको छ । बैंकले सुकुम्बासी बनाउँछ अनि के गर्ने ? बैंकबाट ऋण लिनु भनेको भुइँको टिप्न जाँदा आफ्नो खल्तीको गुमाउनु हो ।
अभिभावकले आफ्नो सन्तानलाई दुनियाँथरी सिकाए तर कानून सिकाएनन् । शिक्षकले पनि विद्यालयमा यो विषयमा सिकाएनन् । यसका कारण व्यावहारिक ज्ञान उनीहरुसँग भएन । कानूनको कठघरामा पुगिसकेपछि कानूनबारे थाहा पाएर के गर्ने ? सरकारले अब पाठ्यक्रममा पनि यस्ता विषय राख्नुपर्छ । सरकारले जनतालाई सचेत गराउनुप¥यो ।