काठमाडौं/ राजस्व अनुसनधान विभागमा रहेको एक फाइल एकदमै शक्तिशाली देखिएको छ । सोही फाइलका कारण हालसम्म छजना महानिर्देशकहरूलाई टिक्न नदिएको चर्चा भैरहेको छ ।
‘बर्दिया डिस्टिलरीको फाइल’ ले सबै महानिर्देशकहरुलाई त्रसित बनाउने गरेको समाचार स्रोतको दाबी छ । राजस्व छली गरेको आशंकामा २०७८ सालमा विभागले छापा हानेर अनुसन्धान प्रक्रिया अगाडि बढाएकोे थियो । सोही फाइलका कारण महानिर्देशकहरु टिक्न नसक्ने अवस्था आएको बताइएको छ ।
२०७८ सालमा प्रकाश पौडेल महानिर्देशक हुँदा बर्दिया डिस्टिलरीमा विभागले छापा हानेको थियो । ओम वैभव लक्ष्मी प्रा.लि., चित्रालेखी सप्लायर्स, मेगाश्री सप्लायर्स, ओम शिव शिखर स्टोर्स, त्रिवेणी ट्रेड लिंक प्रा.लि., तानिया पश्मिना एन्ड इन्डस्ट्रिज लगायतका कम्पनीहरूमाथि राजस्व छलीको आशंकामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको थियो ।
पौडेलपछि विभागमा २०७९ असार १ देखि झलकराम अधिकारी आए । अधिकारीको पालामा पनि उक्त फाइल अनुसन्धान प्रक्रियामै राखिएको थियो । त्यसपछि २०७९ कार्तिक १६ देखि महानिर्देशकमा मदन दाहाल आए पनि उनले समेत कुनै निर्णय नगरी फाइल थन्क्याएका बताइएको छ । २०७९ माघ २३ गते महानिर्देशकमा नारायण सापकोटाले उक्त फाइल अनुसन्धान गर्न पहल गरे पनि कुनै निर्णयमा पुग्न सकेनन् ।
त्यसपछि २०८० असार १३ मा नवराज ढुंगाना आएपछि भने फाइल निक्कै नै अघि बढेको बताइन्छ । छलीको विस्तृत अनुसन्धान मात्र गरिएन कि ढुंगानाकै पालामा अनुसन्धान प्रक्रिया सकेर मुद्दा अभियोजन गर्ने प्रतिवेदन स्वीकृत भयो । त्यसपछि मुद्दा हाल्ने तयारी स्वरुप रायका लागि सरकारी वकीलको कार्यालयमा पठाइयो । त्यस्तो अवस्थामा सो कार्यालयले छलीसम्बन्धी फाइलमा थप स्पष्ट पार्नुपर्ने भन्दै विभागलाई निर्देशन दियो ।
वकील कार्यालयबाट त्यस्तो जबाफ आएपछि ढुंगानाले थप स्पष्ट पार्ने प्रयास गर्दागर्दै उनकै सरुवा हुन पुग्यो । त्यसपछि २०८१ बैशाख २६ गते महानिर्देशकको जिम्मेवारीमा चक्रबहादुर बुढा आए । बुढा आएपछि फाइल पुनः मुद्दाका लागि अगाडि बढ्ने प्रक्रिया अनुसन्धान गरिरहेको शाखाले अगाडि बढाए पनि कुनै निर्णयमा पुग्न नसकेको भनी स्रोतले जानकारी दिएको छ ।
अहिलेका महानिर्देशक चण्डीप्रसाद घिमिरेले यो फाइललाई उच्च प्राथमिकतामा राखेर हेर्ने अपेक्षा जनस्तरबाट गरिएको बताइएको छ ।
राजस्व अनुसन्धानमा शक्तिशाली फाइल
Facebook Comments Box