ललितपुर/ इण्ड्ष्ट्री र एकाडेमिया सम्बन्धलाई मजबुत बनाउन पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलिया र नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्र पाण्डेले दुई पक्ष बीचमा भएको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
नलेज, स्किल्स र रिसोर्सेसको आदानप्रदान गर्ने, बजारको माग अनुसार हालको तथा भविष्यको आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्ने, नयाँ नयाँ प्रविधिको अध्ययन अनुसन्धान गर्ने, ज्ञान हस्तान्तरण तथा तालिमको लागि सहकार्य गर्ने जस्ता कुरा सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
उद्योग परिसंघले भौतिक पूर्वाधारको लागि सहयोग गर्ने र विद्यार्थीको इण्टर्नसिप तथा अभ्यासगत तालिमको लागि व्यवस्थापन गरिदिने मूल उद्देश्यका साथ बुधबार दुवै पक्षका बीचमा सम्झौता भएको हो । यो सम्झौता तत्कालदेखि नै कार्यान्वयन हुने र कार्यान्वयन सहजीकरणका लागि पूर्वान्चल विश्वविद्यालय र नेपाल उद्योग परिसंघ आ–आफूले गर्नुपर्ने कामहरु छुट्याई टाइम फ्रेम समेत राखिएको जनाइएको छ ।
पूर्वान्चल विश्वविद्यालयले पाठ्यक्रम निर्माण गर्दा औद्योगिक क्षेत्रलाई चाहिने जनशक्तिहरु उत्पादन गर्न सकियोस् भन्ने हेतुले निर्माण सम्बन्धि, हाइड्रोपावर सम्बन्धि, मेनेजमेण्ट सम्बन्धि विभिन्न विज्ञहरु र निजी क्षेत्रको समेत सहभागिता गराई पाठ्यक्रम तयार गरिएको पनि जनाइएको छ । यसका लागि इन्जिनियरिङतर्फ आठौं सेमेष्टरमा गरिनुपर्ने तीन महिनाको इण्टर्नसिप, त्यसैगरी इन्जिनियरिङ बाहेकका अन्य कार्यक्रमहरुमा गर्नैपर्ने इण्टर्नसिपको लागि केन्द्रस्तरमा करिब ३५० ठूला उद्योगहरु सदस्य रहेको नेपाल उद्योग परिसंघसंँगको सम्झौताले पूर्वान्चल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहज हुने परिसंघका उपाध्यक्ष वीरेन्द्र पाण्डेले धारणा राखेका छन् ।
‘सैद्धान्तिक ज्ञानको लागि कलेजहरुमा पर्याप्त पठनपाठन हुने, प्रयोगशाला अभ्यास पनि हुने, फिल्ड भिजिट पनि हुने तर एउटा कुशल मेनेजर बन्नको लागि फिल्डमै गएर काम गर्दा मात्रै बन्न सक्ने भएकोले पाठ्यक्रममा रहेको इन्टर्नसिपको व्यवस्था कार्यान्वयनको लागि हामीले सम्झौता गरेका हौं’ पूर्वान्चल विश्वविद्यालयका उपकुलपति विजुकुमार थपलियाले स्पष्ट पारे । ‘विश्वविद्यालयले जनशक्ति उत्पादन गरिरहेको छ, निजी क्षेत्रले आफूले चाहेजस्तो जनशक्ति नपाएको कारण त्यस्ता जनशक्ति पाउनको लागि करोडौं रुपियाँ विदेश पठाउनु परिरहेको छ, यो दूरी परिपूर्तिको लागि यो सम्झौता कोशेढुंगा साबित हुने देखिन्छ । । इण्टर्नसिप गर्दागर्दै कतिपय विद्यार्थीलाई जागिर समेत मिल्न सक्ने देखिन्छ । यसबाट काम संगै पढाइको अवधारणामा पनि मद्दत हुने देखिन्छ ।’ सम्झौताको दौरानमा विष्टले भने ।
यो समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा पू.वि.का रजिष्ट्रार नीलमणि पोख्रेल, अनुगमन विभाग प्रमुख प्रा.उत्तम रेग्मी, पियुक्यानका अध्यक्ष सुधीर गुरागाई, महासचिव सुरेश के.सी., हिलसाइड कलेज अफ इन्जिनियरिङका प्रबन्ध संचालक गोपीकृष्ण न्यौपाने लगायतको उपस्थिति थियो ।
पूर्वाञ्चल विश्वविद्यालय र सिएनआइबीच समझदारी
Facebook Comments Box