काठमाडौं/ अन्तर्राष्ट्रिय चेन होटल ’हिलटन’ का नामबाट हालै सञ्चालनमा ल्याइएको होटलबाट स्थानीयवासी पिडित बनेका छन् ।
निर्माणकै क्रममा नक्सालबासीलाई हैरानी दिएर विवादमा तानिएको शंकर ग्रुपद्वारा निर्माण सम्पन्न भएको उक्त होटल सञ्चालनमा प्रयोगमा आउने उपकरणहरुका कारण स्थानीबासीले थप पिडा भोग्नु परेको बताइएको छ । अव्यवस्थितरुपमा प्रयोगमा ल्याइएका उपकरण तथा शक्तिशाली जेनेरेटरबाट निस्कने चर्काे आवाज र प्रदूषित धुवाँले स्थानीयबासीलाई सताएको बताइएको छ ।
होटल वरपरका २६ घरवासीले आफू र आफ्नो परिवारको शान्ति र स्वस्थ जीवन होटलले खोसेको भन्दै दुखेसो गरे पनि कुनै सुनुवाइ नभएको बताएका छन् । उनीहरुले काठमाडौं महानगरपालिकाको वडा नम्बर १ को कार्यालयलाई लिखित उजुरी गरे पनि वडा कार्यालयले समेत कुनै चासो नदिएको बताए ।
गत असार २३ गते उजुरी दर्ता भएको हो । दर्ता नम्बर १२० रहेको उक्त उजुरीको बोधार्थ जिल्ला प्रशासन कार्यालय काठमाडौं, पर्यटन विभाग र काठमाडौं महानगरपालिकालाई पनि दिइएको बताइएको छ ।
वडामा उजुरी गरिएपछि वडा अध्यक्ष, सचिव, महानगरीय प्रहरी लगायत कर्मचारीले स्थलगत निरीक्षण गरे पनि होटलबाट भएको लापरबाहीमा कुनै कमी नआएको पिडितहरु बताएका छन् ।
आफूहरुलाई ठूलो ध्वनी र दुषित वायुका कारणले गम्भीर असर पारेको भन्दै आफ्ना बालबच्चाको पढाइमा समेत असर पुगेको उजुरीमा उल्लेख छ ।
हिलटन होटलबाट नक्सालबासी पिडित
Facebook Comments Box