सम्पत्ति शुद्धीकरणको महानिर्देशकमा दाहाल

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ अनुभव, दक्षता र कार्यक्षमता भएका सहसचिव सुमन दाहाललाई मन्त्रिपरिषद्को बैठकले सम्पत्ति शुद्धीकरण विभागको जिम्मेवारी सुम्पेको छ ।
यसअघि महानिर्देशक कमल प्रसाद भट्टराईलाई राष्ट्रिय सूचना आयोगमा सरुवा भएपछि मन्त्रिपरिषद् कार्यालयका सहसचिव दाहाल विभागको महानिर्देशक बनेका हुन् । दाहालले गत भाद्र ९ गते पदभार ग्रहण गरेका छन् । सुधारवादी प्रशासकको रुपमा चिनिने दाहाल यसअघि संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गत श्रावण ३१ गते मन्त्रिपरिषद्को निर्णय अनुसार ५९ जना सहसचिवहरुको सरुवा हुँदा प्रधानमन्त्री कार्यालयमा सरुवा भएका थिए ।
भद्र र शालीन स्वभावका दाहाल भन्सार विभागको महानिर्देशक भै काम गरिसकेका अनुभवी सहसचिव हुन् । सरकार परिवर्तनपछि माओवादी नेतृत्वको सरकारको अर्थमन्त्रालयले दाहाललाई भन्सार विभागबाट सरुवा गरी चक्रबहादुर बुढालाई महानिर्देशक बनाएको थियो । अर्थ मन्त्रालयका क्याडर दाहालले त्यसअघि आन्तरिक राजश्व कार्यालय क्षेत्र नं.३ को प्रमुख भै काम गरेका थिए । प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको सम्पत्ति शुद्धीकरण विभाग निकै संवेदनशील विभागहरुमध्ये पर्दछ ।
कालो धनलाई सेतो बनाउनबाट रोक्ने उद्देश्यले गठन गरिएको सम्पत्ति शुद्धीकरण विभागको जिम्मेवारी पाएका महानिर्देशक दाहाललाई राजश्व अनुसन्धान विभागको महानिर्देशक बनाउने भनी चर्चा चलेको थियो । अहिले मन्त्रिपरिषद् कार्यालयले राजश्व अनुसन्धान विभागमा चण्डीप्रसाद घिमिरेलाई महानिर्देशक बनाएर पठाएको छ । घिमिरेभन्दा अगाडिका महानिर्देशक बुढालाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको समाचार श्रोतले बताएको छ ।
झापा निवासी सम्पत्ति शुद्धीकरणका महानिर्देशक दाहालको प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीसँग राम्रो सम्बन्ध रहेको बताइन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *