इनरुवा (सुनसरी)/ सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा लामो समयदेखि बसोबास गरी राजनीति र समाजसेवामा सक्रिया खेमराज पोखरेलको सोमबार निधन भएको छ । पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा सुनसरी जिल्लामा सक्रिय पोखरेलको ९० वर्षको उमेरमा निधन भएको हो ।
आठ महिनाअघिमात्र पत्नी गुमाउनु भएका पोखरेल इनरुवा नगरपालिका वडा नं.५ (साबिक वडा नं.९) बलाहामा बसोबास गर्दै आउनु भएको थियो । पञ्चायतकालमा प्रधानपञ्च भै राजनीतिको माध्यमबाट समाजसेवामा समेत तल्लीन पोखरेल खोटाङको खार्पाबाट इनरुवा आएपछि पनि राजनीतिमा सक्रिय रहने गर्नुभएको बताइएको छ ।
स्थानीयबासीले ‘काइँला बा’ भनी सम्बोधन गर्ने पोखरेल धार्मिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा उमेरले पाको भएको अवस्थामा पनि क्रियाशील रहँदा समाजमा उहाँ उदाहरणीय पनि रहनु भएको बताइन्छ । खरो र हक्की स्वभावका पोखरेल २०२९ सालदेखि इनरुवामा बसाइँ सरी आई आफ्नो अन्तिम साससम्म नै सोही क्षेत्रलाई आफ्नो कर्मभूमि बनाउन लाग्नु भएको बताइन्छ ।
पोखरेलका चार छोरा र चार छोरीहरु रहेका छन् । पोखरेलका जेठा छोरा गोविन्द पोखरेल कर्मचारी संगठनमा सक्रिय जीवन बिताई हाल अवकाशप्राप्त रहनु भएको छ । यसैगरी माइलो छोरा रुकमिणी पोखरेलले निजामती सेवामा सक्रिय रही सेवानिवृत्त रहनु भएको छ । साइँलो छोरा खगेन्द्र पोखरेल विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ भने कान्छा छोरा नीलमणि पोखरेल बैंकिंङ क्षेत्रमा कार्य गरी हाल निजी व्यवसाय गर्दै रहनु भएको बताइएको छ ।
यसैगरी स्वर्गिय पोखरेलका गोमा, गीता, मेनुका र रेणुका नामका छोरीहरु रहनु भएको बताइएको छ । स्व.पोखरेलको निधन भएकै दिन स्थानीय सुनसरी खोलामा दाहसंस्कार गरिएको बताइएको छ ।
समाजसेवी पोखरेलको निधन
Facebook Comments Box