मुख्य समाचार
भक्तपुर/ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले अरुमाथि प्रश्न उठाउँदा त्यसको जबाफ उनैमाथि प्रश्नैप्रश्नले पाउने गरेका छन् । आफूले जे ग¥यो त्यही मात्र सही भन्ने सोचबाट ग्रस्त अध्यक्ष ओलीले गर्ने गरेका हरेक कार्यमाथि उल्टै प्रश्नहरु उठ्ने गरेका छन् । पछिल्लो समय एमालेका नेता भीमबहादुर रावलमाथि दलको आज्ञापालन किन नगरेको भनी प्रश्न उठाएका ओलीमाथि रावलले प्रश्नैप्रश्नले बुधबार जबाफ दिएका छन् । आफ्नो दलमा आफ्नोविरुद्धमा प्रतिस्पर्धामा कोही नआओस्, आपूmले गर्ने निर्णयमा कसैले प्रश्न नउठाओस् भन्ने ‘तानाशाही’ सोचमा रहेका ओलीले ठीक उल्टो हुने गरी जबाफ पाइरहेको चर्चा छ ।
एमालेको उपाध्यक्षमा निर्वाचित भएर पुगिसकेका रावललाई यही पुस ६ गते पार्टीबाट हटाउने निर्णय एमालेले गरेको थियो । पार्टीको नीतिविपरित कार्य गरेको आरोप लगाउँदै रावललाई दलको साधारण सदस्यबाट समेत हटाउने निर्णय गरिएको छ । त्यस्तो निर्णय नगर्न भनी सातजना केन्द्रीय स्तरका नेताहरुले बैठकमा ओलीलाई सुझाव दिए पनि ओलीले आफ्ना प्रतिस्पर्धी देखेका रावललाई हटाउने निर्णय नै गरेका थिए ।
एकल निर्णयमा रमाउने स्वभावका ओलीले आफ्नो दलमा आफ्नो कार्यमाथि औंला उठाउने वातावरण नै बन्न नदिने सोचका साथ कार्य गरिरहेका छन् । ओलीको शैली मन नपराउनेहरु अरु दलमा पुगेको अवस्थामा ओलीको मुख्य चाहना भनेको एमालेलाई दलगत रुपमा भन्दा पनि आफ्नो निजी कम्पनीको रुपमा रुपान्तर गरेर चलाउनु रहेको आम बुझाइ हुन थालेको छ ।
यस्तो अवस्थामा ओलीले आफ्नै दलमा रहेर आफ्नो हरेक कुरालाई सही र गलत भनी विश्लेषण गर्ने क्षमता देखाउँदै आएका रावललाई किनारा लगाउने कार्य गरेका थिए । उनले रावल वाक्कदिक्क भएर आफैं जाउन् भन्ने सोचका साथ रावललाई पेल्दै गएका थिए । रावल पनि दलमै बसेर ओलीका हरेक कार्यमाथि प्रश्न उठाई नै रहेका थिए । यस्तो अवस्था रहँदा ओलीले रावललाई निकाला नै गर्नु उचित ठानी साधारण सदस्य समेत नरहने गरी हटाउने कार्य गरेका छन् ।
त्यसरी हटाइएपछि रावल सरक्क अन्य कुनै दलमा गै हाल्लान् वा पुनर्विचारको लागि अनुनय विनय गर्ने ओलीको अपेक्षा विपरित रावल प्रस्तुत भएका छन् । रावलले ओलीको कार्यशैलीमा बुधबार भण्डाफोर नै गरेका छन् । आफूलाई निस्कासन गर्ने प्रक्रियाको विरोध मात्र होइन कि ओलीका कार्य र शैलीको फेहरिस्त नै लिखित रुपमा खोल्ने कार्य गरिदिएका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी रावलले ३१ पृष्ठको लिखित जबाफ राख्दै ओलीको धज्जी उडाउने कार्य गरेका छन् । उनले ओलीका कार्यशैलीमाथि ७२ वटा बुँदामा कुरा उठाएका छन् ।
रावलले मुख्य रुपमा २०७४ मा वाम गठबन्धनसँग झण्डै दुई तिहाइ बहुमत हुँदाहुँदै उपेन्द्र यादवलाई सरकारमा किन सहभागी गराइयो ? भनी प्रश्न उठाएका छन् । ओलीले नेपालमा वाम सरकारको छवि बाहिरसम्म नजाओस् भन्ने भित्री चाहना राखी गैर वाम उपेन्द्रको दललाई सरकारमा सामेल गराई वाम गठबन्धनको धज्जी उडाउने कार्य गरेको आरोप लगाएका छन् ।
यसैगरी पार्टीका तर्फबाट वामदेव गौतम नेतृत्वको कार्यदलले दिएको सुझाव किन रद्दीको टोकरीमा फालियो ? भनी ओलीमाथि नै प्रश्न उठाएका छन् । स्थायी कमिटीलाई जानकारी नदिई प्रचण्डसँग पालैपालो प्रधानमन्त्रीको सहमति किन गरियो ? भनी ओलीको व्यक्तिगत स्वार्थको खेतीमाथि पनि प्रश्न उठाएका छन् । यसैगरी प्रधानमन्त्री हुने भएपछि जबजलाई तिलाञ्जलि दिएको होइन ? भनी ओलीमाथि सैद्धान्तिक बेइमानीको कुरालाई पनि उठाउने कार्य रावलले गरेका छन् । प्रचण्डसँग आधाआधा प्रधानमन्त्री हुने गोप्य पाँच बुँदे सहमति गरेर पार्टीभित्र कलहको विजारोपण किन गरियो ? भनी प्रश्न उठाउँदै त्यसलाई ओलीको व्यक्तिगत स्वार्थका रुपमा बुझिदिनुपर्ने पनि व्याख्या गरेका छन् ।
यसैगरी २०७५ सालमा सुरक्षा परिषद्सम्बन्धी विधेयकमा प्रधानमन्त्रीले सेना परिचालन गर्न सक्ने प्रावधान राखेर तानाशाह बन्ने कूआकांक्षा राखेको होइन ? भनी ओलीलाई तानाशाहको संज्ञा पनि रावलले दिएका छन् । ‘एशियाको नयाँ देश स्वतन्त्र मधेश’ भन्ने सी.के. राउतसँग प्रधानमन्त्रीले सम्झौता गर्नु उचित थियो ? भनी ओलीमाथि प्रश्न उठाएका छन् । भारतीय दूतावासको धम्कीपूर्ण पत्र आउँदा नेपालमा आयात हुने फलफूल, तरकारी, माछामासु लगायतको विषादी परीक्षण नगर्ने निर्णय कुन स्वार्थमा गरियो ?, एक अर्ब खर्चेर नेपालमा भारतीय चलचित्रकर्मीहरूलाई दिइने आइफा पुरस्कार वितरण काठमाडौंमा गर्ने निर्णय किन भयो ? भनी ओलीको राष्ट्रवाद खोक्रो रहेको भन्ने कुरालाई रावलले पुष्टी गर्न चाहेका थिए ।
उनले गुठी विधेयक किन ल्याउनु भयो ? प्रश्न पनि रावलले उठाएका छन् । नेवार समुदायमा लोकप्रीय गुठी प्रथाको विषयलाई उठाएर रावलले नेवार समुदायप्रति आफू लचिलो रहेको सन्देश दिन खोजेका पनि पाइएको छ । उनले ओलीमाथि प्रश्न गर्दै ‘ होक्जा मुनको घोर कम्युनिष्ट विरोधी मन्तव्य स्वादका साथ सुन्ने र सम्मान प्राप्त गर्दा देशको प्रधानमन्त्रीको गरिमा रह्यो ?’ भनी ओलीले गरेका कर्ममाथि प्रश्न उठाएका छन् ।
असमान र अपमानजनक गोर्खा भर्ती बन्द गर्नुका साटो नेपाली युवतीहरूलाई भर्ती जान दिने किन ? भनी रावलले प्रश्न उठाएका छन् । सवारी साधनमा अंग्रेजी भाषामा नम्बर प्लेट राख्ने निर्णय कसको स्वार्थमा गरियो ? भनी प्रश्न उठाउँदै व्यवसायमा विदेशी लगानी आउन नहुने पार्टी नीतिविरुद्ध तपाई किन ? भनी प्रतिप्रश्न गर्ने कार्य पनि रावलले गरेका छन् । यसैगरी एमसीसी अध्ययन गर्न पार्टीले बनाएको कार्यदलको प्रतिवेदन किन कार्यान्वयन भएन ? एमसीसी पारित भइरहँदा संसदमा कथित् नाराबाजीको नाटक किन ? भनी प्रश्न गरी ओलीलाई गतिलो जबाफ दिने कार्य रावलले गरेका छन् ।
उनले ओलीले हावादारी कुरा गर्ने गरेको भन्दै, ‘घरघरमा खाना पकाउने ग्याँस, रेल, पानी जहाज जस्ता कार्यक्रमहरू कहाँ पुग्यो ?, चोलेन्द्र शमशेर जबराका नातेदार गजेन्द्र हमाल मन्त्री नियुक्त हुँदा किन बोलिएन ? सर्वोच्च अदालतबाट नेकपाको एकता भंग गराउने फैसला तपाईकै डिजाइनमा भएको होइन ? बालुवाटारमा भारतीय रअका प्रमुख सामन्त गोयलसँग प्रतिनिधि सभा भंग गर्नेबारे कुराकानी गरिएको होइन ? भनी प्रश्नैप्रश्न गरी ओलीका कर्तुतहरुलाई सार्वजनिक गर्ने कार्य रावलले गरेका छन् ।
यसैगरी लुम्बिनीका सांसद विमला वलीलाई अपहरण गर्ने शंकर पोखरलको सत्ता जोगाउन सेना परिचालन किन गरियो ?, ९०० मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना सुटुक्क सम्पने तपाई होइन ?, १७ ठाउँमा जसपालाई सिट छोड्ने अनि कमल थापालाई सूर्य चिन्ह किन दिइयो ? एकनाथ ढकाल एमालेको सांसद कसरी बने ? जस्ता सांसद बन्ने र बनाउने खेलका बारेमा पनि रावलले प्रश्नहरु ओलीमाथि उठाएका छन् ।
रावल २०४६को परिवर्तनपछि सधैंजसो मुख वाएको वायै अवस्थामा रहेका भनी यसअघि ओलीले रावलमाथि व्यङ्ग गरेको कुरालाई पनि रावलले त्यसैगरी जबाफ दिएका छन् । उनले ७३ वर्षको बुढो अवस्थामा पनि अध्यक्ष र प्रधानमन्त्रीमा किन मुख वाएको वायै ? भनी ओलीमाथि नै प्रश्न उठाएका छन् । ओलीको हालको मन्त्रिमण्डलमा शरत्सिंह भण्डारी मन्त्री रहेको प्रसंगलाई उठाउँदै रावले पञ्चायतकालहुँदै १९ पटक मन्त्री भएकाले २० औं पटक मन्त्री किन ?, संविधान दिवसलाई ‘कालो दिवस’ भन्ने राजपालाई संसदीय समितिको सभापति बनाउनुको रहस्य के हो ? भनी ओलीमाथि प्रश्न तेर्साएका छन् । यसैगरी बागमतीको किनारमा बस्नेहरूका लागि बनाइएको भवन प्रधानमन्त्री भएको बेला आफ्नी पत्नी संरक्षक रहेको मानव सेवा आश्रम नामक गैससलाई निःशुल्क किन दिइयो ? भनी नैतिक प्रश्न पनि ओलीमाथि उठाउने कार्य रावलले गरेका छन् ।
यसैगरी एक व्यवसायीको घरमा सातबुँदे गरी सत्ता फेर्नु अवसरवादी चरित्र होइन ?, तपाई प्रधानमन्त्री भएकै बेला नेपालीलाई नक्कली शरणार्थी बनाइएको होइन ?, तपाईकै गृहमन्त्रीका छोरा र सुरक्षा सल्लाहकार समेतले ठूलो रकम असुलेको होइन ? २०८० बैशाख २० गते प्रधानमन्त्री प्रचण्डलाई भेटेर एमाले (टोपबहादुर रायमाझी) लाई गिरफ्तार नगर्न आग्रह गरेको होइन ? भनी ओलीको अवसरवादलाई बाहिर ल्याउने कार्य पनि रावलले गरेका छन् ।
२०७७ बैशाखमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर पार्टीमा विग्रह ल्याएको होइन ?, मदन भण्डारी फाउन्डेसनबाट देशभर समानान्तर पार्टी कमिटी चलाएको होइन ?, ५ पुस २०७७ मा प्रतिनिधि सभाको असंवैधानिक निर्णय गरी देश, जनता र पार्टीलाई अनिश्चयतिर धकेलेको होइन ?, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर संविधानमाथि प्रहार गरेको होइन ? भनी ओलीतिर नै प्रश्नको ठेली पठाउने कार्य रावलले गरेका छन् । यस्तै पार्टी बैठकको माग गर्दा १० पृष्ठको पत्र लेखेर तत्कालीन नेकपामा संकट निम्त्याएको होइन ?, तपाईं पाँचै वर्ष प्रधानमन्त्री र प्रचण्ड कार्यकारी अध्यक्ष हुने सहमति कसको स्वार्थमा अवज्ञा गर्नुभयो ?, प्रचण्डलाई कार्यकारी अध्यक्ष दिएपछि फागुन २८ गते आफ्ना गुटका केही केन्द्रीय सदस्यको बैठक राखेर पार्टीलाई विभाजनतर्फ धकेलेको होइन ? भनी स्वार्थगत कार्य ओलीबाट कसरी हुने गरेका थिए भन्ने कुरा पनि रावलले राखेका छन् ।
उता, बालुवाटार जग्गा प्रकरणमा महासचिव विष्णुप्रसाद पौडेल (जग्गा पौडेलका छोराको नाममा लिइएको) र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले अनियमित ढंगले पाएको जग्गा फिर्ता गर्ने योजना तपाईकै होइन ? भनी गम्भीर प्रश्न पनि ओलीमाथि उठाउने कार्य रावलले गरेका छन् । राष्ट्रको ढुकुटीबाट चारवटा हेलिकोप्टर प्रयोग गरी बर्ड थे मनाउने तपाई होइन ?, राजाको प्रत्यक्ष शासनका बेला समेत अवसर छोप्ने युवराज खतिवडालाई राष्ट्रिय सभाको पदावधि सकिएपछि पनि अर्थमन्त्री बनाउने तपाईं होइन ? सार्कको अध्यक्ष राष्ट्रको हैसियतले कुनै कुरा नगर्नुमा कसको स्वार्थ र दबाब हो ?, एमसीसी पारित नहुँदै बजेटमा किन राखियो ? भनी राष्ट्रवादीको भन्ने ओलीले लगाउने गरेको मुखुण्डो पनि रावलले उतारी दिएका छन् ।
जनतासँग प्रत्यक्ष जोडिएको कोरोना संक्रमणका बेला जनताको निःशुल्क उपचार नगर्ने निर्णय भएको होइन ?, एमालेको एकता जोगाउने प्रयासमा संकट ल्याउने गरी २०७८ बैशाख २८ मा प्रधानमन्त्री पदमा विश्वासको मत लिन्छु भन्ने निर्णय किन ?, एमालेको एकता कायम राख्ने गरिएको १० बुँदे सहमति कार्यान्वयनमा एकरुपता किन गरिएन ? भनी ओलीमाथि रावलले प्रश्न राखेका छन् ।
यसैगरी आफू एमाले र नेकपा हुँदा सुदूरपश्चिम प्रदेशको इन्चार्ज भएको प्रसंग उठाउँदै, १० बुँदेपछि किन दिइएन ?, १० बुँदे कार्यान्वयन नभएकाले उक्त कार्यान्वयन गर्ने समितिबाट राजीनामा दिने मेरो निर्णयलाई गम्भीरताका साथ किन हेरिएन ? भनी व्यक्तिगत प्रश्न पनि रावलले उठाएका छन् । यसैगरी राष्ट्रहितविपरीत नागरिक विधेयक ल्याएर अधिकारको दुरुपयोग गरेको होइन ?, दीपक मनाङेलाई निर्विरोध निर्वाचित गराउने र मन्त्री बनाउने तपाईं होइन ?, वामपन्थी एकता नगर्ने शर्तमा प्रधानमन्त्री बन्ने तपाईं होइन ? भनी ओलीमाथि प्रश्नहरुको झटारो हान्ने कार्य रावलले गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले उठाउने गरेको गिरीबन्धु टी–इस्टेट काण्डको प्रसंग पनि रावलले उठाएका छन् । वर्तमान सरकारको गठबन्धन बन्नुमा सोही काण्डबाट जोगिन रातारात गठबन्धन फेरेको होइन ? भनी रावलले प्रश्न उठाएका छन् । यसैगरी कुन सिद्धान्तका आधारमा मीनबहदुर गुरूङबाट भवन लिने निर्णय भयो ?, चीन भ्रमणमा जाँदा नेपालको लिपुलेक भञ्ज्याङ प्रयोगबारे मौन रहनुको अर्थ के हो ? भनी प्रश्न पनि गरिएको छ ।
यसरी रावलले ओलीविरुद्ध आगो ओकल्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि ओलीलाई दनक दिने कार्यलाई निरन्तरता दिने गरेका छन् । पछिल्ला भाषणहरुमा दाहालले ओलीको गिरिबन्धु काण्डलाई उठाएर कारबाहीको दायरामा ल्याएरै छाड्ने प्रतिज्ञा गर्ने गरेका छन् । ओलीको गृहजिल्ला निर्वाचन उठ्ने गरेको झापामा पुगेर दाहालले ओलीमाथि तल्लोस्तरको गाली गलौज गर्ने कार्य गरेका थिए ।
यता, अरु दलको विवादको विषयलाई लिएर खासै प्रतिक्रिया नदिने गरेका नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले समेत ओलीको यो शैलीको विरोध गर्न थालेका छन् । उनीहरुको बुझाइमा ओलीको यो शैलीले लोकतन्त्र खतरामा पर्ने अवस्था आउने भनी उनीहरु चिन्तित बनेका हुन् । ओलीले विरोधीलाई तह लगाउने नाममा वाक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि हमला गर्न थालेको भनी लोकतन्त्रवादीहरु समेत यसबाट झस्किन थालेको अवस्था छ ।