काठमाडौं/ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको राष्ट्रिय प्रतिस्पर्धा विधाबाट ‘सानो संसार’ पनि छनोटमा परेको छ ।
यसअघि ‘भुठान’ छानिएता पनि निर्माताले सबैलाई जानकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि सो फिल्मलाई महोत्सवबाट हटाइएको छ । निफले विज्ञप्ति जारी गर्दै हरिवंश आचार्य अभिनित ‘भुठान’ फिल्मलाई हटाइएपछि निर्माताले रिक्त ठाउँमा नयाँ फिल्मको लागि आवेदन मागेका थिए ।
फेस्टिभलको लाइनअपअनुसार वल्र्ड पानोरमा विधा ‘अन्तर्राष्ट्रिय प्रतिस्पर्धा’ मा नेपालको ‘शाम्बाला,’ भारतको ‘रुक्मिणी,’ चीनको ‘स्ट्रेन्जर्स ह्वेन वी मिट’ सहित १२ फिल्म मनोनयनमा छन् । अन्तर्राष्ट्रिय डकुमेन्ट्री विधाको प्रतिस्पर्धामा नेपालको ‘हिमालयन ड्रिम्स’ सहित अमेरिका, भारत, बंगलादेश, बेल्जियम, चिली, न्यूजिल्याण्डका ९ फिल्म छनोट परेका जनाइएको छ ।
छोटो फिल्मको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा ३२ फिल्म छन् । यो विधामा मलेसियाको ‘चाइना बिस्ट,’ अस्ट्रेलियाको ‘ड्रिम लिंक,’ चीनको ‘अ इयर अपार्ट’ लगायत रहेका बताइएको छ ।
निफले आर्टिफिसियल इन्टिलिजेन्सको मद्दतमा बनाइएका फिल्मको प्रतिस्पर्धात्मक विधासमेत यस पटक समावेश गरेको छ । ‘एआई फिल्म्स’ नाम दिइएको यो विधामा चीनको ‘एभ्री हेजिसटेसन अफ योर्स क्यान डिस्ट्रोय द वल्र्ड,’ अर्जेन्टिनाको ‘द एबिस,’ फ्रान्सको ‘गोल्ड कास्टिङ,’ पेरुको ‘द ड्रिम, द फग एन्ड द रेन’ र अमेरिकाको ‘मब पार्ट १’ छन् ।
चैत ७ गतेदेखि ११ सम्म काठमाडौंमा आयोजना हुने महोत्सवमा ४० देशका ८७ फिल्म देखाउने तयारी रहेको आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ ।
यसैबीच उक्त महोत्वसमा सर्ट मुभीको श्रेणीमा ‘किबोर्ड’ पनि समावेश रहेको निर्देशक गोपाल आचार्यले जानकारी दिएका छन् । क्रियटिभ सेन्टर नेपाल प्रा.लि.को प्रस्तुतिको रुपमा रहेको उक्त ‘किबोर्ड’ यही महोत्सवमा प्रतिस्पर्धीको रुपमा आएको छ । कथाकार विजयराज आचार्यको कथामा आधारित उक्त सर्ट मुभीमा कलाकारहरु कृष्णभक्त महर्जन, आलोक चौरेली, रश्मी भट्टलगायतको अभिनय रहेको छ । उक्त सर्ट मुभीको निर्मातामा सन्देश आचार्य र सह–निर्मातामा कौशल कुमार भट्टराई रहेका छन् ।

निफमा ‘सानो संसार’ र ‘किबोर्ड’
Facebook Comments Box