काठमाडौं/ अध्यादेशको कारण नेपालको राजनीतिक समीकरणले कोल्टो फेर्ने देखिएको छ । सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) ले हालको अध्यादेशलाई पारित गराउने सन्दर्भलाई लिएर लचिलो बन्नुपर्ने अवस्थाका कारण राजनीतिक समीकरणले कोल्टो फेर्ने अवस्था आएको हो । अध्यादेश पारित गराउनका लागि राष्ट्रियसभामा सत्तारुढ दलहरुको संख्या पर्याप्त नहुनु तथा जनता समाजवादी पार्टी नेपाल निर्णायक अवस्थामा रहनुले राजनीतिक समीकरणमा फेरबदलको अवस्था सिर्जना हुन पुगेको हो । उपेन्द्र यादवको नेतृत्वमा रहेको जसपा नेपालले अध्यादेशको बारेमा निर्णय लिनुपूर्व कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीसँग भेटी विभिन्न सर्तहरु राखेको कुरा स्रोतले बताएको छ ।
यादवले सरकारले ल्याएको अध्यादेशलाई राष्ट्रियसभाबाट पारित गर्नका लागि मधेश प्रदेशको सरकारको नेतृत्व पाउनुपर्नेसम्मको माग गरेको स्रोतले बताएको छ । यादवको दललाई सत्तापक्षमा पुग्नबाट रोक्न सकिएको खण्डमा अध्यादेशलाई रोक्न सकिने सपना बुनिरहेको नेकपा (माओवादी केन्द्र) ले पनि जसपा नेपाललाई आफ्नो पक्षमा राख्न विभिन्न चलखेल गर्दै आएको थियो । यस्तो अवस्थामा राजनीतिका चतूर खेलाडी यादवले आफ्नो पल्ला भारी हुने गरी सर्तहरु राखेको बताइएको छ ।
यादवले राखेका सर्तहरुका कारण हिजो विहीबार संसदमा अध्यादेशको विषयले प्रवेश नै पाउन सकेन । यस्तो हुनुमा हिजोको वार्तामा यादवले आफूहरुले अध्यादेशको पूर्ण र राम्रोसँग अध्ययन नगरेको बताएका थिए । यसैगरी मतदान गर्नुपर्ने अवस्था आएमा हालको अवस्थामा अध्यादेशको पक्षमा आफ्नो दलले मतदान नगर्ने स्पष्ट पारेका थिए ।
यसरी यादवसँगको वार्ता सकारात्मक हुन नसकेका कारण हिजोको संसदमा अध्यादेशको विषयले प्रवेश पाउन सकेन । यो विषयमा कांग्रेस र एमालेले आफ्ना सांसदहरुलाई अनिवार्य रुपमा उपस्थित हुन तथा पक्षमा मतदान गर्न ह्विप समेत जारी गरिसकेका थिए । यस्तो अवस्थामा जसपाका अध्यक्ष यादव भने घरि कांग्रेसका सभापति शेरबहादुर देउवासँग वार्तामा थिए भने घरि एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीसँग ।
राष्ट्रियसभामा हालको सत्तारुढ दल पूर्ण रुपमा बहुमतमा नरहेको अवस्था छ । यो अवस्थामा राष्ट्रियसभाबाट पनि अध्यादेश पारित भएको अवस्थामा मात्र त्यो कानूनको रुपमा स्थापित हुने अवस्था रहन्छ । त्यसैले केही दिन अध्यादेशलाई संसदमा प्रवेश नगराउने सोचमा सरकार पुग्यो । सरकारले पनि यादवका मागहरुलाई सम्बोधन गरेर अध्यादेशलाई पारित गराउने सोच लिएको छ ।
यसरी परिस्थितिले जसपा नेपालको ‘बाग्र्रेनिङ पावर’ पनि बढाई दिएको छ । जसपा नेपालले यो समयमा मुख्य मागको रुपमा मधेश प्रदेशमा नयाँ सरकार त्यो पनि आफ्नो दलको नेतृत्वमा गठन गरिनुपर्ने माग गरेका कारण यो विषयमा दलहरुले निर्णय दिन नसकेको अवस्था छ ।
अध्यादेशको विषयले फेरि केही दिन तताउने अवस्था आएको छ । यही विषयलाई लिएर हालको सत्ता समीकरणमा फेर बदल हुन सक्ने भनी राजनीतिक वृत्तमा चर्चा चल्न थालेको छ । जसपालाई मधेश प्रदेशमा भित्र्याउने अवस्थामा जनमत पार्टीलाई सरकारबाट बाहिर पु¥याउनुपर्ने पनि हुन सक्ने अवस्था आइलाग्न सक्छ । यसैगरी अशोककुमार राईको नेतृत्वमा रहेको जसपा जो अहिले सरकारमा छ उसलाई समेत यादवका कारण सरकारबाट बाहिर निकाल्नुपर्ने अवस्था आउन सक्ने कुराको चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ ।
उता, हिजो चलेको संसदमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल निक्कै नै आक्रामक रुपमा प्रस्तुत भए । उनले प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष ओलीको धज्जी उठाउने कार्य गरेका थिए । यसरी धज्जी उडाए पनि उनले कांग्रेसका सभापति शेरबहादुर देउवालाई भने ढाढस दिने कार्य गरेका थिए । दाहाल भोलिका दिनमा कांग्रेससँग सहकार्य गर्न सकिने अवस्थालाई ख्याल गरी संयमित रहेको चर्चा पनि छ ।