ताप्लेजुङका जनताबाट सिक्ने कि !

Nayabimarsha (Weekly Newspaper from Nepal)

अनुसा थापा

ताप्लेजुङको पवित्र र पर्यटकीय स्थल पाथीभरा ‘मुक्कुमलुङ’ का स्थानीय ‘नो केबलकार’ भन्दै आन्दोलनमा छन् । उनीहरु त्यहाँ केबलकार निर्माण गर्न रोक्न मरिमेटेर लागिपरेका छन् । पाथीभरा केबलकारका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल जबरजस्ती त्यहाँ केबलकार निर्माण गर्न खोजिरहेका छन् ।
उनको यस कार्यमा राजनीतिक दलका नेताहरुले साथ दिएका छन् । जनताले चाँहिदैन भन्दाभन्दै पनि केबलकार बनाउन जबरजस्ती किन ? जनताभन्दा ठूलो एउटा चन्द्र ढकाल त होइन होलान् नि ? केबलकार निर्माणविरुद्ध रहेका ताप्लेजुङका स्थानीय बारम्बार आन्दोलनमा उत्रिसके ।
आन्दोलन फायरसम्म पुगिसकेको छ । गोली लागेर कति जना घाइते भइसकेका छन् तैपनि सरकारले उनीहरुको माग सुनुवाई गरेको छैन । हाल त्यहाँका जनताले ढकालको ग्लोबल आईमएई बैंकको एटीएम कार्ड फोड्न थालेका छन् । उनीहरुले बैंक बन्द गर्ने कार्यक्रम पनि घोषणा गरिसकेका छन् ।
त्यहाँ भएको घटनाले हाल देशभर नै तरंग सिर्जना गरिदिएको छ । उनीहरु राजधानी केन्द्रित आन्दोलनको तयारीमा छन् । ढकाल आफ्नो निर्णयबाट पछि नहटेसम्म आन्दोलन जारी राख्ने अडान लिएका उनीहरुले गुडिरहेको गाडीसमेत तोडफोड गरिसकेका छन् । सरकारले अझै पनि यस घटनालाई हलुका रुपमा लिने हो भने ठूलो क्षति हुनसक्छ ।
ढकाल एउटा व्यापारी हुन् । व्यापारीले सिर्फ आफ्नो फाइदा हेर्ने हो । अरु ‘मरुन् कि बाँचुन्’ व्यापारीलाई सरोकार नभएको विषय हो । त्यहाँ केबलकार बनाउँदा ढकाललाई त फाइदा होला तर त्यहाँका स्थानीयको उठीबास लाग्छ । स–साना व्यवसाय सञ्चालन गरेर बसेकाहरु विस्थापित हुन्छन् ।
राज्य र राजनीतिक दलले ढकाललाई देख्ने, सर्वसाधारणलाई नदेख्ने किन ? यत्रो लफडा भइसक्दा पनि राज्य हात बाँधेर बस्नु र केही राजनीतिक दलले त्यहाँ केबलकार बनाउन जोडबल गर्नुले ठूलै चलखेल भएको पुष्टि गर्दछ । ढकालले मुलुकमा धेरै व्यवसाय सञ्चालन गरेका छन् ।
केबलकारदेखि लिएर बैंक, इन्स्योरेन्स, मनि ट्रान्सफर, होटल व्यवसायमा उनको राज छ । उनले सेवाको नाममा ठग्दै आएका छन् भन्ने सर्वसाधारणको भनाइ छ । त्योसँगै उनले सरकारी, सार्वजनिक, गुठी, मठमन्दिरलगायतका जग्गा पनि दर्ता गरेको आरोप छ । राजनीतिक दल पालेर र सञ्चारमाध्यमलाई विज्ञापन दिएर उनले आफूविरुद्ध उठ्ने आवाज रोकेका भन्ने गरिन्छ ।
बागलुङमा जन्मिएर देशैभरका जनता ठगेको आरोप उनीमाथि लाग्ने गरेको छ । त्यसको विरोध ताप्लेजुङबाट शुरु भयो । यो विरोधको लप्काले कहाँकहाँ छुने हो ? हेर्न बाँकी छ किनकि अहिले भएको विरोध यत्तिकैमा सेलाउने देखिँदैन । सबैलाई हातमा लिएर जनतालाई दबाउने दाउ यस पटक भने पूरा हुने देखिँदैन ।
भनिन्छ नि,‘अतिले खति गर्छ ।’ ताप्लेजुङका स्थानीयले केबलकार चाहिँदैन भन्दाभन्दै पनि प्रहरी प्रशासनसम्मलाई हातमा लिएर त्यहाँ बलजफ्ती गरियो । पहुँचकै आडमा केही आन्दोलनकारीलाई थुनियो पनि । केही अस्पतालको बेडमा छन् । सानो आन्दोलनलाई भड्काउने ढकाल र राज्य हुन् । अब कुनै पनि हालतमा त्यहाँका जनता पछि हट्ने संकेत देखिएको छैन । शान्त वातावरणलाई खल्बलाउने काम ढकालद्वारा भएको छ । यो आन्दोलनले ढकालको धेरै पोल खुल्ने देखिएको छ किनकि त्यहाँका जनताले उनीविरुद्ध आवाज उठाउन थालिसकेका छन् ।
ढकालले राजश्व छलेका तथा उनी भूमाफिया भन्नेसम्मको आरोप जनस्तरबाट लाग्न थालेको छ । सबै उनकै पक्षमा भएकाले कोही चुइँक्क बोलेका थिएनन् । ताप्लेजुङका जनताले अब मुख खोल्न थालेका छन् । उनले गरेका गलत कामहरुको भण्डाफोर भइरहेको छ । चन्द्रागिरीमा केबलकार बनाउने ढकाल नै हुन् । त्यहाँको सरकारी जग्गा कौडीको भाउमा लिएर उनले केबलकार सञ्चालन गरे ।
उनले त्यहाँबाट वर्षेनी करोडौं रुपियाँ आम्दानी गर्छन् तर राज्यलाई न्यून रकम तिर्छन् । चन्द्रागिरीको केबलकार पहुँचकै खेल हो भन्ने घामजस्तै छर्लङ्ग छ । केबलकार बनाउने नाममा त्यहाँको जंगल खरानी बनाइएको छ । चन्द्रागिरीका स्थानीयले त्यतिबेला पनि विरोध गरेका थिए ।
कसले सुन्ने ? स्थानीयको आवाजलाई प्रहरी प्रशासनको बलले दबाएर केबलकार निर्माण गरियो । ताप्लेजुङमा पनि त्यही गर्छु भन्ने सोचे ढकालले यद्यपि सकेनन् । ताप्लेजुङका जनता ज्यानसँग खेल्न तयार छन् तर आफ्नो पवित्रस्थलमा केबलकार बनाउन दिँदैनन् । सयौं जनताको गाँस, बाँस, कपास ठूलो कि चन्द्र ढकालको केबलकार ? यसको जवाफ ती राजनीतिक दलले दिऊन् ।
पाथीभरा दर्शन गर्न जानेको सामान बोकेर आफ्नो पेट पाल्नेहरु छन् । स–साना पसल खोलेर घरखर्च टारिरहेका छन् । उनीहरुको पेटमा लात हान्न सरकार र राजनीतिक दलहरुलाई लाज लाग्दैन ? ताप्लेजुङका जनताले जसलाई मतदान गरेर पठाए, तिनै व्यक्तिले ढकालको समर्थन गरिरहेका छन् ।
ढकालले मत दिएको कि ताप्लेजुङका जनताले ? ताप्लेजुङपछि चन्द्रागिरीका स्थानीय पनि विरोधमा बोल्न थालिसकेका छन् । केबलकार बन्द गर्नुपर्ने भन्दै उनीहरुले आवाज उठाइरहेका छन् । सरकार व्यवसायीको अगाडि जहिले निरीह भएर बस्छ भन्ने उदाहरण चन्दागिरी हो ।
चन्द्रागिरीमा वन फडानी हुँदा वन तथा वातावरण मन्त्रालयले केही गरेन । त्यहाँको जग्गा कौडीको भाउमा ढकालले लिँदा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय हात बाँधेर बस्यो । भनिन्छ नि, सयौंंको भीडमा एक जनाले मात्र आवाज उठाए काफी छ । त्यसपछि अन्यले पनि आवाज उठाउँछन् ।
सँधै पैसा र पहुँचले मात्र काम गर्दैन भन्ने उदाहरण ताप्लेजुङका जनताले दिएका छन् । त्यहाँको आन्दोलनले धेरैलाई सचेत बनाइदिएको छ । ताप्लेजुङबाट चुनाव जितेर आएका योगेश भट्टराईको काठमाडौंमा आधा दर्जन घर भएको बताइन्छ । उनले ढकालको समर्थन गरेका छन् । सोही कारण ताप्लेजुङमा उनलाई ब्यान्ड गरिएको छ । अब पालो काठमाडौंमा । यहाँका जनताले पनि ‘नो योगेश भट्टराई’ भनेर नारा लगाउन बेर छैन ।
नेकपा (एकीकृत समाजवादी) का तात्कालीन नेता तथा पूर्वपर्यटनमन्त्री प्रेमबहादुर आलेले पहिल्यै योगेश भट्टराईको पोल खोलिसकेका थिए । त्यसमाथि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले पनि उनी माओवादीको सशस्त्र द्वन्द्वकालमा माओवादी बनी आफूसँग आएको भनी सार्वजनिक रुपमा भन्ने गरेका छन् । त्यो बेलामा भट्टराई पैसाको खेलोमा लागेको आरोप न्यौपानेले लगाउने गरेका छन् ।
उनी दलाल र भ्रष्टाचारी हुन् भनेर आलेले बोलेका थिए । जुन अहिले आएर प्रमाणित हुँदैछ भन्ने गरिन्छ । भ्रष्टाचारीको विरोधमा अब जनता जिल्लाजिल्लाबाट उठ्नुपर्छ । जनतामाथि शासन चलाउने अधिकार कसैलाई छैन । देशमा लोकतन्त्र छ । जनताको आवाज सरकारले सुन्नुपर्छ तर सरकारले व्यवसायको लागि लोकतन्त्रलाई दबाउने काम गरेको छ ।
यो कदापी पनि स्वीकार्य छैन । जनताको सेवा गर्छु भनेर पदमा पुगेर भ्रष्टाचारीको पक्षमा काम गर्नेहरुलाई जनताले अब सबक सिकाउनुपर्छ । घरघरबाट त्यस्ताको विरोधमा आवाज निस्कन जरुरी छ । भ्रष्टाचारको खरो विरोध गरौं । नत्र जुन घटना अहिले ताप्लेजुङमा भइरहेको छ, त्यो अन्य जिल्लामा पनि हुन सक्छ ।
एक ठाउँमा जनता दबाएपछि भ्रष्टाचारी, दलालीहरुको मनोबल बढ्छ । जे गरे पनि जनताले केही गर्न सक्दैनन् भन्ने उनीहरुमा पर्छ । देश झन्झन् भ्रष्टाचारको दलदलमा फस्दै जान्छ । जनता चुप लाग्दा आज देशको यो अवस्था बनेको होइन ? बेलैमा प्रतिकार गर्न सकेको भए, नेताहरुले कुनै निर्णय गर्नुअघि १० पटक सोच्थे होलान् ।
भ्रष्टाचारीहरुलाई बहिष्कार गरौं । उनीहरुलाई जिल्ला प्रवेशमा रोक लगाऔं । तिनीहरु पुगेको कार्यक्रममा जनता नजाऔं । किन कसलाई भ्रममा पार्दो रहेछन् ? हेरौंला । ताप्लेजुङका जनताले देखाएको आँट अरु जिल्लाका जनताले पनि देखाऊन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *