काठमाडौं/ गत माघ २७ गतेको मन्त्रिपरिषद् बैठकले देशको ढुकुटी सम्हाल्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्यायलाई अर्थ सचिवमा भित्र्याएको छ ।
विवादित अर्थसचिव डा. रामप्रसाद घिमिरेलाई सरुवा गरी राष्ट्रपति कार्यालयमा पठाई दबाब र विभिन्न झण्झटबाट अर्थ मन्त्रालयलाई मुक्त गराइएको बताइएको छ । अर्थ र राजश्वका हाकिमहरु परिवर्तन गरेर राजश्व उठ्छ भन्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलको मान्यता पूरा हुन्छ कि हुँदैन त्यो भविष्यले बताउने छ ।
यसअघि पनि अर्थमन्त्री पौडेलकै चाहनामा अर्थसचिव, भन्सार विभागको महानिर्देशक र आन्तरिक राजश्व विभागको महानिर्देशक हालै सरुवा गरिएका थिए । मन्त्री पौडेलले अर्थसचिवमा घिमिरे, भन्सार विभाग र आन्तरिक राजश्व विभागको महानिर्देशकमा रोजेर सहसचिवहरु लगेका थिए । अर्थतन्त्रमा कुनै सुधार हुन नसकेपछि उनीहरुको सरुवा भएको समाचार श्रोतले बताएको छ ।
अर्थमन्त्री पौडेलको मन्त्रिस्तरीय निर्णयले भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीको ठाउँमा महेश भट्टराई र आन्तरिक राजश्व विभागका महानिर्देशक रामप्रसाद आचार्यको ठाउँमा मदन दाहाललाई जिम्मेवारी दिइएको छ ।
यसैगरी मन्त्रालयको प्रशासन महाशाखामा थान प्रसाद पंगेनी र सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको तालिम प्रमुख शोभाकान्त पौडेललाई आर्थिक नीति विश्लेषण महाशाखामा सरुवा गरिएको छ । देशको अर्थतन्त्रले क्रमशः सुधारको गति लिई लयमा फर्कन थालेको बताइए पनि अर्थमन्त्री पौडेलले राजश्व नउठेपछि गत वर्ष आफैंले ल्याएको बजेट घटाउन बाध्य भएका छन् । राजश्व संकलन गर्न र देशको ढुकुटी भर्न ल्याएका अर्थसचिव उपाध्याय, भन्सार विभागका महानिर्देशक भट्टराई र आन्तरिक राजश्व विभागका महानिर्देशक दाहाललाई असफल हुने छुट नभएको बताइन्छ ।
यो नयाँ समूहले उद्योगी र व्यापारीहरुलाई खुशी बनाई राजश्व असुल उपर गर्नुपर्ने, भन्सार नाकाहरुबाट हुने चोरी तस्करीप्रति निर्मम बनी कार्य एवं जिम्मेवारी पूरा गर्ने आशा तथा विश्वास गरिएको छ । यो समूहले हाल बैंकमा थुप्रिएको पैसालाई बजारमा ल्याई चलाएमान गराउन सके अर्थतन्त्र सुधार हुने तथा अर्थमन्त्रीको भरोसा पूरा हुने जानकारहरुले बताएका छन् । यसो नभएमा जुनै जोगी आए पनि कानै चिरेको भन्ने उखान चरितार्थ नहोला भन्न सकिन्न । अर्थतन्त्र सही मार्गमा ल्याउन यो समूहले कडा मेहनत गर्नुपर्ने चर्चा छ ।
देशको ढुकुटी सम्हालेका तीन हस्तीहरु
Facebook Comments Box
