कृष्ण लम्साल
काठमाडौं/ नेपाली काँग्रेसमा वचनका पक्का, क्षमतावान्, व्यवस्थापकीय र दूरदर्शी नेतामा पर्छन् सभापति शेरबहादुर देउवा । कसैप्रति दम्भ, घमण्ड र इख नराख्ने सभापति देउवा अब काँग्रेसको विधान अनुसार तेस्रो पटक सभापति बन्न पाउने छैनन् ।
काँग्रेसको विधान अनुसार १५ औ महाधिवेशन आउन अब लगभग १० महिना मात्र बाँकी छ । २०८२ मंसिरमा काँग्रेसको १५ औं महाधिवेशन हुनुपर्दछ भन्ने मान्यताका साथ नेताहरुले दौडधुप शुरु गरिसकेका छन् । त्यसको लागि आगामी २०८१ चैत्र मसान्त भित्र कृयाशील सदस्यता वितरण गरिसक्नु हुन्छ तर त्यो हुन नसकी रहेको अवस्था छ ।
काँग्रेसका महामन्त्री गगन कुमार थापाले १५ औं महाधिवेशन ३–४ महिना ढिलो भए पनि २०८२ सालमै हुने बताइसकेका छन् । कांग्रेस प्रवक्ताले एक वर्ष ढिलो हुने बताएपछि १५ औं महाधिवेशन विशेष परिस्थिति देखाएर २०८३ मा हुने चर्चा चलेको छ । हाल काँग्रेस सभापति बन्नका लागि महामन्त्री थापा, वरिष्ठ नेता शेखर कोइराला र उपसभापति पूर्णबहादुर खड्काले तयारी शुरु गरिसकेका छन् । नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि र डा. शशांक कोइरालाले पनि भित्रीरुपमा तयारी गरेको काँग्रेसका जानकारहरुले बताएका छन् ।
काँग्रेसको विधान अनुसार दुई पटकभन्दा बढी सभापति बन्न नपाइने भएपछि देउवाले पार्टीको बागडोर सम्हाल्ने कुशल एवं क्षमतावान् उत्तराधिकारीको खोजी गरिरहेको काँग्रेस श्रोतले बताएको छ । त्यसका लागि देउवा निकट ठानिएका निधि, खड्का र डा. शशाङ्क कोइरालाले आफूहरुलाई देउवाले उत्तराधिकारी बनाउने आशा एवं विश्वास गरे पनि हालसम्म सभापति देउवाले मुख खोली सकेका छैनन् । उत्तराधिकारीमा कसलाई छान्लान् भन्नेमा सबैको चासो छ ।
यता, हिजो एउटै कित्तामा रहेका वरिष्ठ नेता शेखर कोइराला र महामन्त्री थापा पनि सभापति देउवाको आशीर्वाद र बक्सिस लिनका लागि तँछाड–मछाड गरिरहेको काँग्रेसीहरुले जानकारी दिएका छन् । हाल काँग्रेसमा सभापति देउवाकै पक्षमा पल्लाभारी रहेको अवस्थामा देउवाले जसलाई तथास्तु भन्यो त्यही सभापति बन्न सक्ने अवस्था छ । काँग्रेसको १५ औ महाधिवेशनमा छनौट भएर आउने महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुले नेतृत्वको विकल्प छान्दा युवापुस्ता रोजे थापा र अन्यथा कोइराला बीच नै प्रतिस्पर्धा हुने अनुमान गरेका छन् ।
वरिष्ठ नेता कोइराला र थापाको तुलनामा उपसभापति खड्का लोकप्रीय नरहेको चर्चा छ । यिनै तीनजनामध्येबाट काँग्रेसको सभापति चयन हुने र सभापति देउवाले पनि यिनैमध्ये एक जनालाई आशीर्वाद दिनसक्ने बहस र चर्चा चलेको छ ।