स्वास्थ्य सचिवमा तीन जनाको प्रतिस्पर्धा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाल सरकारका सचिवहरुको अनिवार्य अवकाश हुने क्रममा पर्सी आइतबार (फागुन ११) गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल पाँच वर्षे कार्यकाल पूरा गरी अवकाश हुँदैछन् । यसअघि गत माघ २९ गते उपराष्ट्रपति कार्यालयमा कार्यरत दिनेश भट्टराई पनि पाँच वर्षे कार्यकाल पूरा गरी सेवा निवृत्त भएका थिए ।
स्वास्थ्य सचिव डा. पोख्रेलको अवकाश भएको भोलिपल्ट अर्थात फागुन १२ गते नक्कली भूटानी शरणार्थी काण्डमा दोषी ठहर भै हाल थुनामा रहेका सचिव टेक नारायण पाण्डेको पनि अवकाश हुने सूचीमा नाम रहेको छ । स्वास्थ्यसचिवसँगै स्वास्थ्य मन्त्रालयमा कार्यरत १२औं तहका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहको पनि अवकाश हुने बताइएको छ ।
यसैबीच स्वास्थ्य सचिव पोखरेलको अवकाश हुने भएपछि स्वास्थ्य सचिव बन्न तीनजना डाक्टरहरुको शक्तिकेन्द्रमा दौडधूप शुरु भएको समाचार श्रोतले जानकारी दिएको छ । सचिवका दावेदारहरुमा एकै पटक १२औं तहमा बढुवा भएका स्वास्थ्यसेवा विभागका महानिर्देशक डा. विकास देवकोटा, उनीभन्दा अगाडि स्वास्थ्यसेवा विभागमा महानिर्देशक रहेकी डा. संगीता मिश्र र डा. टंक बराकोटी रहेका रहेका छन् ।
यसमध्ये डा. मिश्रलाई स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा औषधि र उपकरण लगायत विभिन्न खरिदमा आर्थिक चलखेल र अनियमितता गरेको आरोपमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरुवा गरी मन्त्रालयमा तानेर डा. देवकोटालाई विभागको जिम्मेवारी सुम्पिएका थिए । नेतृत्व र प्रशासनिक क्षमतामा डा. मिश्र र डा. बाराकोटी कमजोर रहेकोले उनीहरुको सचिव बन्ने सम्भावना कम रहेको समाचार श्रोतले बताएको छ ।
डा. मिश्र काँग्रेस नेतृ एवं परराष्ट्रमन्त्री डा. आरजु राणा र डा. बाराकोटी झापा घर भएका कारण प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली निकटका नेताहरुकोमा धाउन शुरु गरेको श्रोतहरुले बताएको छ । यता, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाएपछि विभिन्न सुधारका कामहरु गरेका डा. देवकोटा सचिव बन्ने दौडमा अगाडि रहेको जानकारहरुले बताएका छन् ।
डा. देवकोटा विभागको महानिर्देशक बनेपछि विभागमा हुने गरेका आर्थिक चलखेल र भद्रगोल व्यवस्थापनले काँचुली फेरेको बताइएएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति शाखा भ्रष्टाचार र आर्थिक चलखेलका हिसाबमा अग्र पंक्तिमा रहेको श्रोतले बताएको छ । हाल उक्त शाखामा नेतृत्व फेरिएको श्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *