खेलकुद प्रतियोगितामा अन्यौल किन ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि पनि समयमै नहुने अवस्था आएको छ । चैत २३ गतेदेखि हुने भनी पूर्व निर्धारित प्रतियोगिताका लागि अर्थ मन्त्रालयबाट आवश्यक बजेट नटुक्रिँदा यस्तो अवस्था आएको हो । यो प्रतियोगिता कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुने भनिएको छ । प्रतियोगिताका लागि संघीय सरकारले विनियोजन गरेको ६० करोड रुपियाँ बजेट अर्थ मन्त्रालयले हालसम्म शीर्षकगतरूपमा नछुट्याएका कारण प्रतियोगिता तोकिएको समयमा हुनेमा शंकाको अवस्था आएको हो । यसअघि निर्धारित तालिकाअनुसार प्रतियोगिता गत मंसिर २ देखि ९ गतेसम्म हुनुपर्ने थियो । उक्त समयमा हुन नसक्दा आगामी चैत २३ देखि हुने भनी नयाँ मिति घोषणा भए पनि त्यो मितिमा पनि नहुने अवस्था देखिएको हो । युवा तथा खेलकुद मन्त्रालयले मंसिर २१ गते नै शीर्षकगत रूपमा बजेट छुट्याउन अर्थ मन्त्रालयमा पत्र पठाएको पनि बजेट नटुक्रिँदा तोकिएको समयमै खेलकुद प्रतियोगिता नहुने देखिएको भनी खेलप्रेमीहरुको दुखेसो आइरहेको छ ।
मन्त्रालयले बजेटबारे स्पष्ट नगर्दा खेलकुदका आवश्यक सामग्रीहरु खरिद गर्न समस्या भएको छ । त्यसो त खरिद प्रक्रिया पूरा गर्न कम्तिमा ८० दिन लाग्ने कानूनी व्यवस्था रहेका कारण पनि तोकिएको उक्त मितिमा प्रतियोगिता गर्न सम्भव नरहेको अवस्था आएको हो । संघीय सरकारले प्रतियोगिता आयोजना गर्न चालु आर्थिक वर्ष २०८१÷०८२ मा ६० करोड रूपियाँ एकमुष्ट बजेट विनियोजन गरेको भने छ । उक्त बजेट हालसम्म पनि शीर्षकगत रूपमा विनियोजन नभएका कारण समस्या आएको हो । परिषदको मंसिर २१ गते बसेको ११८औं बैठकले बजेटलाई शीर्षकगत रूपमा टुक्रा गरी पठाइदिन युवा तथा खेलकुद मन्त्रालयलाई पठाउने निर्णय गरेको थियो । राखेपले शीर्षकगत बजेट आएको खण्डमा ऐनअनुसार अघि बढ्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा खरिद प्रक्रियाका कारण समयमै प्रतियोगिता गराउन असंभव हुने देखिएको छ ।
सुर्खेतमा रंगशाला निर्माण भइसकेको छ । प्रतियोगिताका लागि सदस्य सचिव नै चाहिन्छ भन्ने छैन । खेलकुद विधेयकसमेत संशोधन गरी समयमै प्रतियोगिता गराउने तयारीमा सरकार लागेको भने दाबी गर्ने गरिएको छ । अर्थ मन्त्रालयले फाइल अड्काएका कारण प्रतियोगिता अन्योलमा परेको भनी खेलकुदमन्त्री तेजुलाल चौधरीले सार्वजनिक रुपमै भनिसकेका छन् । यस्तो अवस्थामा सरकार छोटो प्रक्रियाबाट भए पनि काम गर्न पाइने व्यवस्था मिलाई तोकिएको समयमै खेलकुद प्रतियोगिता गराउनु उचित हुन्छ । तोकिएका समयमा कामहरु भएका खण्डमा मात्र देश सही दिशामा जान सक्ने हुन्छ । यसैगरी खेलाडीहरुमा पनि तोकिएको समयमा प्रतियोगिताहरु भएका खण्डमा तयारी पूरा गर्न सहज हुने हुन्छ । कतिपय खेलाडीहरु विदेशका क्लबहरुमा पनि सामेल हुने गरेका छन् । यस्तो अवस्थामा उनीहरुले विदेशमा हुने प्रतियोगितामा समेत सहभागिता जनाउन असहज अवस्था आउने गर्दछ । त्यसैले सरकारले यस्ता कार्यहरुलाई आफ्नो दायित्वको रुपमा लिएर तोकिएका समयमै सबै कार्यहरु गर्ने कार्यमा आफूलाई लगाउन सकेका खण्डमा मात्र सही कार्य हुने देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *